धर्म र संस्कृतिभित्रका महिलाका खुसी

शृंगार र रङरोगनमा महिलालाई आकर्षित गराएर समाजमा आर्थिकभन्दा धार्मिक तथा सांस्कृतिक गतिविधिमा उनीहरूलाई अल्झाइएको छ

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

आदिकवि भानुभक्तको समयभन्दा पहिलेदेखि, अझ भनौँ वेद, पुराण, मनुस्मृतिजस्ता धार्मिक तथा नियम कानुन प्रतिबिम्बित गर्ने शास्त्रहरूबाट नियममा बाँधिएका महिलाहरू के खुसी थिए होलान् त ? भानुभक्त आचार्यको नाम उल्लेख गर्नुको कारण उनको ‘वधूशिक्षा’ हो । यस रचनामा उनले महिलाले उन्मुक्त हाँसो हाँस्न नहुनेलगायत केही ‘नीति’ प्रस्तुत गरेका छन् । हाँस्नु भनेको मान्छेभित्रको खुसी व्यक्त गर्नु हो भनेर पनि बुझिन्छ । तर, त्यतिवेलाको सामाजिक परिवेश र सोच अनि धार्मिक मान्यताबाट चलेको हिन्दू समाजले नारीको जीवनलाई कस्तो खालको बन्धक बनाएको थियो त भन्ने आकलन गर्न सकिन्छ । योगमायाजस्ता सचेत महिलाको आन्दोलनका कथा पढ्दै गर्दा थाहा हुन्छ, विगतदेखि नै महिलाका खुसीमा विभिन्न तगारा र बारबन्देज थिए, जो धार्मिक तथा सांस्कृतिक लेपले छोपिएका हुन्थे । समाजमा परिवर्तन ल्याउनुपर्छ भन्ने चेत बोकेका महिलाले आन्दोलन छेडेका कथा पढ्दा आफूमाथि धार्मिक विभेद भइरहेको बोध हुनेहरूले उतिखेरै आवाज त उठाउन खोजेकै रहेछन् भन्ने थाहा हुन्छ । 

हाम्रो सामाजिक, आर्थिक संरचनाहरूमा पुरुषको बाहुल्य छ । यो त विश्वव्यापी पनि छ । विशेषगरी, हाम्रा हिन्दू सभ्यतामा महिला नै बढी धर्मकर्ममा तल्लीन हुनुपर्ने र यसका विविध नियम पनि धर्मग्रन्थहरूले बनाइदिएका छन् । जसलाई आजपर्यन्त हामीले पछ्याउँदै आएकै छौँ । संस्कृति, धर्म भन्दै जोडिएर आएका फेसन र बजारका माध्यमलाई पनि हामीले यो आध्यात्मिक कार्य नै हो भनेर जोड्दै लगेका छौँ । जसको उदाहरणका रूपमा साउन महिनामा हरिया वस्त्र र शृंगारका पहिरनले सजिने परम्परा । अहिले त साना बालिकाहरूलाई विद्यालयमा समेत साउनमा हरिया चुरा र मेहदी लगाउनुपर्ने कुराको अप्रत्यक्ष जानकारी गराउने गरेको पाइन्छ ।

शास्त्रहरूमा उल्लेख नभएको र हरियो, पहेँलोको सुरुआत भएको पनि धेरै भएको छैन भन्छन्, जान्नेबुझ्नेहरू । तर, अब यस विषयमा बोल्यो भने एकथरी सचेतभित्रकै मानिसहरू पनि के भो त, गाउँठाउँमा वर्षदिनभरि आफ्नो रुचिको कपडा लाउन नपाएका गरिब महिलाले रंगीविरंगी कपडा लगाउँछन्, पूजापाठ गर्छन्, रमाउँछन् भने के भयो त भन्न थाल्छन् । थपिएका यस्ता बजार संस्कृतिबाट के हाम्रा दिदीबहिनीहरू अझै खुसी नै भएका हुन् त ? यस्ता पुरानैमा अझ महिलाकेन्द्रित भएर थपिएका संस्कृतिले के महिलाको खुसी बढ्ने नै हो त ? हामीले खुसी हुँदै मनाउँदै आएका चलन, धर्म संस्कृतिका मूल्य मान्यता के थिए, शास्त्रभित्र के लेखिएका छन्, नवीनतम कुरा के थियो, ती सब मनाउनुका पछाडि भन्ने पक्षलाई खासै महत्व दिए जस्तो लाग्दैन । यसकारण पनि हामी गम्भीर नभईकन उही खाने र लाउने कुरालाई नै खुसी मानेर रमाएका पनि हुन सक्छौँ । 

महिलाले आफ्नो खुसीलाई कतिपय अवस्थामा भाग्यका नाममा तिलाञ्जली दिँदै आएका छन् । जीवनमा आइपर्ने कष्टपूर्ण घटनाहरूलाई बिर्सन पनि नसक्ने र अगाडि बढ्न पनि नसक्ने अवस्थामा ‘भाग्यले खुसी खोसेर लग्यो बदला लिएर’ भन्ने भावका गीत सुनेर र गुनगुनाएर बस्ने गर्छौं, हामी । मन बुझाउन भाग्यको भरोसामा छौँ, हामी । शृंगार र रङरोगनमा महिलालाई आकर्षित गराएर समाजमा आर्थिकभन्दा बढी धार्मिक तथा सांस्कृतिक गतिविधिमा उनीहरूलाई अल्झाइएको छ । हुन त, कतिपय अवस्थामा प्रकृतिसँगको सान्निध्य र आफू फुर्सदिलो हुँदाका क्षणमा आफैँलाई रंगाई हेरेको या खुसी हुने उपाय खोजेको पनि हुन सक्छ ।

आफ्नो कामको दौरानमा मैले यस्ता थुप्रै महिलालाई भेटेकी छु, जो जीविकोपार्जनका लागि बाहिर होटेल, रेस्टुरेन्टको स्टाफ भए पनि भित्रभित्रै भने आफ्नो शरीर बेच्ने गर्थे । र, रातभरिका दुःख, कष्ट, ग्राहकसँगै खाएका मादक पदार्थको प्रभाव दिउँसो नदेखियोस् भनेर अनेक रङ अनुहारभरि पोतेर झिलिमिली देखिन्थे । यस्तो अवस्थामा के शृंगार खुसीका वस्तु थिए होलान् त ? अहिले मनमा प्रश्न खेलिरहन्छ । अनि कतिपय अध्यात्ममा खुसी खोज्नेहरूमा पनि विशेष गरी महिलाहरू नै बढी छन् । जीवनमा आइपरेका अनेक दुःख–कष्टलाई कुन बार केकोे व्रत लिँदा कम गर्न सकिन्छ भन्दै सातामा झन्डै चार दिनजति व्रतका नाममा भोको पेट लिएर कालान्तरमा ग्यास्ट्रिकको समस्याले सताइएका महिलाहरू त कति छन् कति ! धर्ममा लीन भएको या लीन हुँदाहुँदै देवी चढ्यो भन्दै मन्दिर परिसर या गाउँघरमै पनि काम्ने, दैवी शक्ति भन्दै बरबराउने र त्यस्तै परे माता भन्दै अरू सर्वसाधारणको दुःख नै हरिदिने देवी बनेका उदाहरण पनि हाम्रै गाउँठाउँमा प्रशस्तै छन् । कोही–कोही महिला त साक्षात देवीसँग भेट भएको र देवीले यसो भनेको भन्दै दुनियाँ भुलाउन पनि बेर लाउँदैनन् । 

योगमायाजस्ता सचेत महिलाको आन्दोलनका कथा पढ्दै गर्दा थाहा हुन्छ, विगतदेखि नै महिलाका खुसीमा विभिन्न तगारा र बारबन्देज थिए, जो धार्मिक तथा सांस्कृतिक लेपले छोपिएका हुन्थे 
 

यी सब उदाहरण यहाँ प्रस्तुत गरिरहनुको सार भनेको हामीले खुसी खोजिरहँदा कतै अदृश्य शक्तिहरूको भ्रममा परेर अझ दुःखी त भइरहेका छैनौँ भन्ने नै हो । प्र्रकृतिबाट सिक्दै आएका, सभ्यता र संस्कृति बनेका रहनसहनलाई समयसापेक्ष र प्रगतिशील तरिकाले अपनाउँदै आएको भए खुसीको कुरा गर्न जटिलता हुने थिएन होला । तर, यहाँ त विरोधाभासपूर्ण अभ्यासहरूमा अभ्यस्त भइसकेको समाज भएकाले खुसी खोज्नुपर्ने अवस्था आएको छ । खुसी शब्दले मानिसका मानसिक र भावनात्मक अवस्थालाई प्रतिबिम्बित गर्छ । सकारात्मक र आनन्दको भाव खुसी शब्दमा जोडिएको हुन्छ भन्ने मान्यता छ । जीवनमा उपलब्ध सन्तुष्टिलाई पनि खुसीमै जोड्ने गरिन्छ । संसारमै फिनल्यान्ड पहिलो खुसी मान्छेहरू बस्ने देश हो भनिन्छ । 

बौद्ध धर्ममा खुसीलाई केन्द्रीय भावका रूपमा लिइन्छ, दुःखबाट मुक्त हुनु, मोक्ष प्राप्त गर्नु, शान्तिको अनन्त अवस्थामा रहनु अनि दया र मायामा रहनु । वेदान्त दर्शनमा पनि जीवनको अन्तिम लक्ष्य खुसी हुनु हो भनिएको छ । खुसी एउटा अनुभूति हो, जुन विवेकशील भनिएका मानिसले कहिले अव्यक्त त कहिले हाउभाउका रूपमा देखाउने गर्छन् । मानिस सामाजिक जीव हुनुका नाताले सम्बन्धहरू मानव जीवनको जग हो । मानिस जहिल्यै आफ्नो कल्याणको खोजीमा हुन्छ । 

मानिस भएकैले जीवनको लक्ष्य निर्धारण गर्छ । ती लक्ष्य फेरि अल्पकालीन र दीर्घकालीन हुने गर्छन् । बनाएका लक्ष्य पूरा गर्न काम गर्न थाल्छ । जब एउटा लक्ष्य हासिल हुन्छ, खुसीको अनुभूति गर्दै फेरि अर्को खुसी खोज्न थाल्छ । कोही भने खुसीको सामान्य परिभाषा पनि दिने गर्छन् । हामीले पिउने चियाकै स्वादलाई लिएर पनि खुसी हुन सकिन्छ । फरक लिंग, धर्म, वर्ग जुनसुकै अवस्थाका मानिस पनि खुसी हुन चाहन्छन् । किनकि, यो प्राकृतिक र नैसर्गिक अधिकार हो । खुसी साझा आवश्यकता पनि हो । खुसी हुने क्षणको कल्पनाले नै मानिसलाई बाँधेको हुन्छ । तर, खुसी भेट्टाउन चाहिँ मानिसले उद्देश्य बनाउनुपर्ने हुन्छ । आध्यात्मिक अनुसन्धानले देखाएअनुसार औसतमा हामी ३० प्रतिशत समय मात्रै खुसी हुने गर्छौं र बाँकी ४० प्रतिशत बेखुसी, अर्को ३० प्रतिशत समय खुसी र बेखुसीबीच रहन्छौँ । अध्यात्मले आत्मालाई बढी जोड दिने हुँदा साँचो र दीर्घकालीन खुसी हामीभित्रै छ भन्ने गरिन्छ । यहाँ त एक समुदाय बेस्सरी खुसी हुँदैगर्दा अर्को समुदाय विभेदित र अमानवका रूपमा चित्रित भइरहेको हुन्छ । अनि के हामीले हाम्रो समाज साँच्चै नै खुसी र सम्पन्न छ भनेर भन्ने ? 

एउटा मानिस खुसी भएको त्यसवेला मानिन्छ, जब मानिस बाँच्ने बाह्य तत्वहरू सुरक्षा, खाद्यान्नको उपलब्धता, स्वतन्त्रता, मौसम, (सुन्दरता) आफ्नो घर आदि हुन् । यसबाहेक आनन्द, यौन, प्रेम, खानाको उपलब्धता पनि मानिसका खुसीसँग दाँजिन्छन् । तर, कसैले चाहिँ तपाईंको जिज्ञासा, योजना र विश्वलाई हेर्ने दृष्टिकोणले पनि खुसीमा प्रभाव पारिरहेको हुन्छ भन्ने गर्छन् । 

मार्क्सवादी  मान्यताअनुसार खुसीबारे भन्नुपर्दा श्रम, उत्पादन र यथार्थका आधारमा खुसीको मापन गर्न सकिन्छ । यदि श्रमिकहरू बलपूर्वक श्रमकार्यमा लागे भने प्रकृतिबाट विच्छेद हुन पुग्छन् र मानवमा हुने गरेको मानवीय प्रकृति क्षीण हुन पुग्छ । सबैभन्दा बढी पुँजीवादी अर्थव्यवस्था र समाजमा मानवीय स्वभावहरू कृत्रिम बन्न पुग्छन् भन्ने माक्र्सवादी मान्यता छ । व्यक्ति बेखुस हुन्छ, किनकि उनीहरू वस्तुको उत्पादन गर्छन् र धन–सम्पति र वस्तुलाई नै बढी जोड दिन्छन् । उत्पादन र बाँडफाँटका क्रियाकलाप दुवै मानवीय खुसीका लागि आवश्यक छ । तर, विश्व समाजमा यो हुन सकिरहेको छैन । श्रमको असमान मूल्य तथा वितरणले मानिस–मानिसबीच विभेद गरेको छ । अस्वस्थ प्रतिस्पर्धा छ । मानिसहरू यान्त्रिक र कृत्रिम बन्दै गइरहेका छन् । विश्व विकासले मानिसहरू खुसी हुनुपर्नेमा उनीहरूमा असन्तुष्टि र बेखुसी नै बढिरहेको छ । 

यसरी समग्र परिस्थितिलाई हेर्दा मानिसले खुसी भएर बाँच्नका लागि समाजमा मानिस–मानिसबीचको उँच–निचको दूरी कम गर्नुपर्ने, समानता, न्याय, आधारभूत आवश्यकताको परिपूर्ति, मानवता, मित्रता, प्रकृतिसँगको सामीप्य, उत्पादनको समान वितरण, सहकार्य र भेदभावरहित समाज नै प्रमुख रहेछ । यसका लागि धर्म संस्कृतिको चरणमै रमाउनुभन्दा पनि वैज्ञानिक र सबै मानवलाई मान्य हुने तरिकाले ती कुराको अनुसरण गरौँ त । हामी महिला हौँ या पुरुष, असामाजिक पनि हुनेछैनौँ र पुराना कुराहरू इतिहास बनेर पढिनेछन् र नयाँपनहरू पनि थपिँदै जानेछन् । खाना, स्वास्थ्य, शिक्षा, रोजगारी, विकास, समानता र मानवताका कुराहरूले भरिपूर्ण भए त त्यहीँ भित्रैबाट मानिसले खुसी खोज्ने गर्थे । हामीलाई यिनै कुराहरू चाहिएका छन्, खुसी हुनका लागि । 

सुझावित समाचार