बोलेरो दुर्घटनामा एकै गाउँका चारको मृत्यु, रूपसे गाउँ शोकमग्न

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

ओखलढुंगामा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सोमबार चम्पादेवी ककनी दर्शन गर्न यात्रु बोकेको प्रदेश नम्बर ३, ०१०२२ च९६९४ नम्बरको बोलेरो सुनकोसी गाउँपालिका–९ को सिकारीडाँडामा दुर्घटना हुँदा तीनको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको हो । 

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१० बेतिनी रूपसेका छन् । ३५ वर्षीया मिठुमाया मगर, अन्दाजी १७ वर्षीया तुलसा मगर र खगेन्द्र मगरको घटनास्थलमै र अस्पताल लैजाँदै गर्दा शान्ता मगरको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए । साँघुरो कच्ची सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

१८ जना सवार बोलेरो सडकबाट करिब ६ सय मिटर तल झरेको थियो । दुर्घटनामा अन्य १४ जना घाइते भएको र घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । दुर्घटनाका गम्भीर घाइते चारजनालाई उपचारका लागि हलिकोप्टरमार्फत काठमाडौं पठाइएको सुनकोसी–९ का वडाध्यक्ष झनककुमार कार्कीले बताए । उनीहरूको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । एउटै गाउँका चारको मृत्यु र १३ जना घाइते भएपछि रूपसे गाउँ शोकमग्न भएको छ । घाइते १ जना सुनकोसी गाउँपालिकाका र बाँकी सबै रूपसेकै हुन् । दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 

सुनकोसी गाउँपालिका–९ र चम्पादेवी गाउँपालिका–९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भिड लाग्ने गरेको छ । एकादशीको अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुंगा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बुलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।

सुझावित समाचार