सातामा तीन दिन मात्र लिग हुने

फुटबल संंस्कृतिको विकासका लागि एन्फाले सहिद स्मारक ए डिभिजन लिग सातामा तीन दिन सञ्चालन गर्ने

शनिबार, २७ कार्तिक, २०७८
डिजिटल संस्करण

सहिद स्मारक ए डिभजिन लिग फुटबल प्रतियोगिता सातामा तीन दिन मात्र हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शुक्रबार, शनिबार र आइतबार मात्र लिगका खेल हुने जानकारी दिएको हो । यसअघि एन्फाले दोस्रो चरणसम्म सार्वजनिक गरेको खेलतालिकाअनुसार दैनिकजसो खेल राखिएको थियो । विदेशी खेल संस्कृति अनुसरण गर्दै एन्फाले विकेन्डमा लिग गराउन लागेको हो ।

‘हामीले लिगका खेल विकेन्डमा राखेर फुटबल संस्कृति विकास गर्न खोजेका छौँ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘दर्शकको उपस्थितिअनुसार खेल फ्लड लाइटमा पनि खेल हुनेछ ।’ ३ मंसिरमा सातदोबाटो र फ्रेन्ड्स क्लबबीच उद्घाटन खेल फर्ड लाइटमै हुने सार्वजनिक भइसकेको छ । यो खेल दिउँसो ४ बजे हुनेछ । लिग फागुन दोस्रो सातासम्म चल्नेछ । पत्रकार सम्मेलनमा एन्फाले साधारण र भिआइपीतर्फ दर्शक टिकट सार्वजनिक गरेको छ ।

एन्फाका अनुसार सर्वसाधारणतर्फ एक सय र भिआइपीमा ५ सय रुपैयाँ तोकिएको छ । ‘रंगशालामा खेल कोभिड प्रोटोकलका साथ पूर्ण दर्शक क्षमतामा हुनेछ,’ तुलाधरले भने, ‘सबै खेलमैदानमा टिकट दर एकै हुनेछ ।’ गत संस्करणमा एन्फाले सर्वसाधारण र भिआइपीतिरका टिकट दर चर्को मूल्य बनाएको थियो । त्यसवेला यसको आलोचनासमेत भयो । एन्फाले काठमाडौं उपत्यकाबाहेक मोसफल पोखरामा समेत लिग गर्ने तयारीमा छ । पोखराको रंगशालामा लिगका केही खेल हुने एन्फाका महासचिव तुलाधरले बताए । ‘पोखरामा समेत लिगका केही खेल गराउने तयारी भइरहेको छ,’ उनले भने ।

पोखरा रंगशालालाई ए डिभिजन लिगकै सर्वाधिक विजेता मनाङ मस्र्याङ्दीले घरेलु मैदानका रुपमा प्रयोग गर्न प्रस्ताव राखेको छ । मनाङले ६ खेल पोखरा लैजान प्रस्ताव एन्फासमक्ष राखेको छ । यसैबीच लिग निर्देशक सञ्जिव मिश्रले नवौँ चरणपछि एक महिना लिग रोकिने जानकारी दिएका छन् । जाडो महिना लागेपछि मोसफलमा विभिन्न गोल्डकप फुटबल प्रतियोगिता सुरु हुनेछ ।

लिग एकल राउन्डअनुसार चल्नेछ । लिगमा १३ चरणमा ९१ खेल हुनेछन् । यसपटक पुछारका दुई क्लब रेलिगेसनमा पर्नेछन् । लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख तथा २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । एन्फाले लिगका लागि कतार एयरवेजले मुख्य प्रायोजनबापत एक करोड ५० लाख प्राप्त गर्नेछ ।

संकटालाई युक्यानको साथ
तीनपटकको ए डिभिजन लिग विजेता संकटा क्लबले युक्यानको किट प्रयोग गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच संकटा र युक्यानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा युक्यानका सिइओ राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार युक्यानले संकटालाई १० लाख रुपैयाँबराबरको किट प्रदान गर्नेछ ।

युक्यानका सिइओ राजेन्द्रले फुटबलको लगाबकै कारण आफू संकटासँग जोडिएको बताए । ‘क्लबले राम्रो गर्दै गएमा अगामी दिनमा थप मजबुतका साथ सहयोग रहनेछ,’ उनले भने ।
हिमालयन बैंक लिमिटेड संकटाको सह–प्रायोजकको रूपमा जोडिएको छ । योपटक बैंकले संकटालाई १० लाख रुपैयाँ उपलब्ध गराउने क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी गराए । यसैबीच संकटाले लिगमा सहभागी हुने २२ सदस्यीय टोली सार्वजनिक गरेको छ । क्लबका कप्तान रवि सिलवाल रहेका छन् । संकटाले पछिल्लो समय साँगामा रहेको आफ्नै मैदानमा प्रशिक्षण गरिहरहेको छ । 

सुझावित समाचार