अस्ट्रेलियाले पाकिस्तानलाई सेमिफाइनलमा पाँच विकेटले हराउँदा मार्कुस स्टोनिस र म्याथ्यु वाडेबीच छैटौँ विकेटका लागि भएको नटआउट ८१ रनको विस्फोटक साझेदारी नै निर्णायक बन्यो
आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ । अस्ट्रेलियाले बिहीबार दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्डसँगको उपाधि भिडन्त भेट पक्का गरेको हो । न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई पनि पाँचै विकेटले पाखा लगाएको थियो । यसपटकको फाइनलले नयाँ टी–२० विश्वकप च्याम्पियन दिनेछ ।
अस्ट्रेलिया र न्युजिल्यान्डले अहिलेसम्म टी–२० विश्वकप ट्रफी जितेका छैनन् । न्युजिल्यान्ड पहिलोपटक अन्तिम दुईमा पुगेको टोली हो । पहिलो ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले १९ ओभरमै पाँच विकेटको क्षतिमा एक सय ७७ रन जोड्यो । अस्ट्रेलियाको जितमा मार्कुस स्टोनिस र म्याथ्यु वाडेबीचको छैटौँ विकेटको नटआउट ८१ रनको विस्फोटक साझेदारी नै निर्णायक भयो ।
यी दुवै ब्याट्सम्यानले केवल ६.४ ओभरमा १२.१४ को रेटरेटमा ब्याटिङ गर्दा पाकिस्तानको तेस्रोपटक फाइनल पुग्ने आशा समाप्त भयो । पाकिस्तानका लागि इनिङ्सको १८औँ ओभरमा मुख्य बलर साहिद साह अफ्रिदीले बलिङ गरेका थिए । उनले यो ओभरमा २२ रन खर्चेपछि पाकिस्तान पराजित भयो । चालू विश्वकपमा पाकिस्तान पहिलोपटक पराजित भएको हो । वाडेले १८.४, १८.५ र १८.९ ओभरमा छक्का प्रहार गर्दै अस्ट्रेलियाको फाइनल स्थान पक्का पारे ।
वाडेले १७ बलमा चार छक्का र दुई चौका प्रहार गरी ४१ रन जोडे । स्टोनिसले ३१ बलमा समान दुई छक्का र चौका प्रहार गरी ४० रन बनाए । पाकिस्तानका लागि सहदाव खानले चार ओभरमा २६ रन खर्चेर सर्वाधिक चार विकेट लिएका थिए । लक्ष्य पछ्याएको अस्ट्रेलियाको इनिङ्स खराब रह्यो । अफ्रिदीले आफ्नो पहिलो ओभरमा अस्ट्रेलियन कप्तान आरोन फिन्चलाई एलबिडब्लू आउट पारे । फिन्च सामना गरेको पहिलो बलमै गोल्डेन डक आउट भए । डेभिड वार्नर र मिचेल मार्सले आक्रामक ब्याटिङ गरे । इमाद वासिम र ह्यारिस राउफविरुद्ध दुवै ब्याट्सम्यानले आकर्षक स्ट्रोक लगाउँदै पाकिस्तानमाथि पावर प्लेमा दबाबमा राखे ।
वार्नर र मार्सबीच दोस्रो विकेटका लागि ५१ रनको साझदोरी भयो । उनीहरूले ०.३ देखि ६.२ ओभरसम्म ब्याटिङ गरे । अस्ट्रेलियाविरुद्ध घातक बलिङ गरेका सहदावले आफ्नो पहिलो विकेट विकेट मार्सका रूपमा लिए । मार्सले २२ बलमा तीन चौका र एक छक्का प्रहार गरी २८ रन जोडे । सहदावले आफ्नो चार ओभरको स्पेलमा चारै विकेट लिए।
उनले इनिङ्सको ८.३ ओभरमा स्मिथ, १०.१ ओभरमा वार्नर तथा १२.२ ओभरमा ग्लेन म्याक्सवेलको विकेट लिँदै खेल पाकिस्तानतर्फ ल्याएका थिए । स्मिथ (५) र म्याक्सवेल (७) रनमा आउट भए । अस्ट्रेलियाले लगातार विकेट गुमाइरहँदा क्रिजमा वार्नरले विस्फोटक ब्याटिङ गरिरहेका थिए । वार्नर अर्धशतक बनाउन एक रनले चुके । विकेट पछाडिबाट मोहमद रिजवानले वार्नरको क्याच लिए । वार्नरले ३० बलमा समान तीन चौका र छक्का प्रहार गरी ४९ रन बनाए ।
यसअघि ब्याटिङ गरेको पाकिस्तानका शीर्ष तीन ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । ओपनर मोहमद रिजवान र कप्तान बाबर आजमले पुनः एकपटक पाकिस्तानलाई दमदार सुरुवात दिलाउन सफल भए । दुवैबीच पहिलो विकेटका लागि ९.६ ओभरमा ७१ रनको साझेदारी भएको थियो । बाबर र रिजवानले प्रतिओभर ७.१ ओभर रनरेटमा ब्याटिङ गरेका थिए ।
क्रिजमा सेट भइसकेका बाबरले आफ्नो विकेट एडम जाम्पालाई दिए । बाबर छक्का प्रहार गर्ने चक्करमा वाइड लङअनमा स्टिभ स्मिथद्वारा क्याच समातिए । बाबरले ३४ बलाम पाँच चौकाको सहयोगमा ३९ रनको योगदान दिए । चालू विश्वकपमा बाबर व्यक्तिगत रन बनाउने सूचीको शीर्ष स्थानमा छन् । उनले ६ खेलमा तीन सय तीन रन बनाएका छन् । चालू विश्वकपमा बाबरले चार अर्धशतकीय इनिङ खेलेका छन् ।
बाबर आउट भएपछि रिजवानले फखर जमान पाकिस्तानको ब्याटिङ इनिङ्सलाई मजबुत बनाए । रिजावन र जमानबीच दोस्रो विकेट निमित्त ७२ रनको साझेदारी भएको थियो । यी दुवैले ९.६ देखि १७.२ ओभरसम्म साझेदारी गरेका थिए । आक्रामक देखिएका रिजवानलाई मिचेल स्टाकले क्रिजबाट हटाए । मिड अनमा सट खेलेका रिजवान अस्ट्रेलियाका पूर्वकप्तान स्मिथबाट क्याचआउट भए ।
रिजवानले ५२ बलमा चार छक्का र तीन चौकाको सहयोगमा सर्वाधिक ६७ रन जोडे । उनले सुपर १२ को समूह बीमा नामिबिया र भारतविरुद्ध पनि समान ७९ रन बनाएका थिए । चालू विश्वकपमा ६ खेलमा दुई सय ८१ रन बनाएका छन् । उनले विश्वकपमा तीन अर्धशतकीय इनिङ्स खेलेका छन् । रिजवान आउट हुँदा पाकिस्तान १७.२ ओभरमा १४३–२ को बलियो अवस्थामा थियो ।
पाकिस्तानका हिटर असिफ अली सामना गरेको पहिलो बलमै प्याट क्युमिन्सले आउट पारे । लङअनमा छक्का हिर्काउने प्रयासमा असिफले आफ्ना विकेट स्मिथबाटै क्याच आउटका रूपमा दिए । अलराउन्डर सोएब मलिक पनि सस्तै रनमा आउट भए । स्टाकको अन्तिम ओभरमा उनी बोल्ड भए । फखर जमानले अन्तिम ओभरमा दुई छक्का प्रहार गर्दै पाकिस्तानलाई २० ओभरमा एक सय ७६ रनको योगफलमा पुर्याए ।
नटआउट रहेका जमानले ३२ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ५५ रन जोडे । अस्ट्रेलियाको बलिङमा स्टाक सर्वाधिक सफल रहे । उनले चार ओभरमा ३८ रन खर्चेर दुई विकेट हात पारे । यसैगरी क्युमिन्सले ३० बलमा एक विकेट लिए । जाम्पाले २२ रन दिँदै एक विकेट लिए ।