सर्वोच्च अदालतमा बिहीबार १४ मुद्दाको मात्र सुनुवाइ भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि सबै प्रकृतिका एक सय ७७ मुद्दाको पेसी तोकेका थिए। बिहीबार प्रधानन्यायाधीश जबराले आफ्नोसहित तीन एकल, एक पूर्ण र पाँच संयुक्त इजलास तोकेका थिए।
आज सुनुवाइ भएकामध्ये विभिन्न ६ मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासबाट भएको र अन्य न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ गरेका सर्वोच्च प्रशासनले जनाएको छ। न्यायाधीशहरूले आज पनि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेरेका कारण एक सय ६३ मुद्दाको सुनुवाइ हुन सकेन।
नेपाल बार एसोसिएसनले जबरालाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ। तर, प्रधानन्यायाधीश जबराले भने आफ्ना लागि बेन्च र सबैखाले मुद्दामा पेसी तोक्दै आएका छन्। असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने निर्णय गरेका छन्।