नेकपा एमालेका शीर्ष नेताहरूले महाधिवेशन स्थलको अवलोकन भ्रमण गरेका छन्। बिहीबार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेकाे हाे।
पार्टीका पोखरेलसँगै नेताहरू विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदीप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराईलगायतका शीर्ष नेताहरू महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न चितवन पुगेका हुन्।
उनीहरूले एमालेको महाधिवेशन स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका छन् भने महाधिवेशनको बन्दसत्र हुने सौराहामा पनि स्थलगत अवलोकन गरेका छन्। चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताए। उनले स्थलगत निरीक्षणपछि छलफल गरिने र आवश्यक तयारीका काम अगाडि बढाउने जानकारी दिए। समसामयिक विषयमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महासचिव पोखरेलले वर्तमान सरकारले राम्रो काम गर्ने कुनै संकेत नभएको टिप्पणी गरे। सरकारबाट कुनै अपेक्षा नभएकाले पनि राम्रो काम नहुँदा अचम्म नलागेको उनको भनाइ छ।
महासचिव पोखरेलले पार्टीभित्र १०बुँदे सहमति आधारभूत रूपमा कार्यान्वयन भइसकेको र केही ठाउँमा विवाद भए स्थानीय स्तरबाटै टुंगो लगाउने बताए। उनले पार्टीको महाधिवेशनको तयारीका कामहरू धमाधम अघि बढेको पनि जानकारी दिए।