प्रधानन्यायाधीशको आदेशमा हतियारसहितका सुरक्षाकर्मी लगाएर आन्दोलनलाई दमन गर्न खोजियो : नेपाल बार

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीशको ठाडो आदेशमा हतियारसहितका सुरक्षाकर्मीहरू अदालतभित्र प्रवेश गराएर बारको शान्तिपूर्ण कार्यक्रमलाई दमन गर्न खोजिएको आरोप लगाएको छ। बारले विज्ञप्ति निकालेर आज सर्वोच्च अदालत परिसरमा धर्नाका क्रममा भएको  झडपको विषयलाई लिएर यस्तो प्रतिक्रिया दिएको हो।

नेपाल बारले कात्तिक १४ बाट  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै निरन्तर विरोध कार्यक्रम गर्दे आएको छ। ‘आजको शान्तिपूर्ण विरोध सभामा प्रधानन्यायाधीशको ठाडो आदेशमा हतियारसहितका सुरक्षाकर्मीहरू अदालतभित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानुन व्यवसायीमाथि अत्यधिक बल प्रयोग र हातपात गर्दा हाम्रा कानुन व्यवसायीहरू घाइते हुनुभएको छ। प्रधानन्यायाधीशको यस्तो हर्कतको नेपाल बार एसाेसिएसनले घोर निन्दा र भर्त्सना गर्दछ। यस्तो हर्कत भविष्यमा नदोहोर्याउन चेतावनीसमेत दिन चाहन्छौँ,’ महासचिव  लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

झडपमा परी बारका पूर्वउपाध्यक्ष वरिष्ठ अधिवक्ता  डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष अधिवक्ता रक्षा बस्याल, महासचिव अधिवक्ता लीलामणि पौडेल, पूर्वकेन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भटृराईलगायतका कानुन व्यवसायीहरू घाइते भएको बारले जनाएको छ।

त्यस्तै बारले नागरिकबाटै बहिष्कृत प्रधानन्यायाधीशको विरोधमा नेपाल बार र आबद्ध सम्पूर्ण  इकाइहरूले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ।  बारले शुक्रबार सर्वोच्च अदालतका  सम्पूर्ण बेन्चमा कुनै पनि  मुद्दामा बहस पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र न्यायाधीशहरूलाई समेत प्रधानन्यायाधीशले तोकेका इजलासमा नबस्न आग्रह गरेको छ।

सुझावित समाचार