सरकारले कात्तिक २८ गतेदेखि सर्वसाधारणका लागि फाइजर खोपको पहिलो डोज लगाउने भएको छ। देशभरका सरकारी अस्पतालहरूबाट सरकारले हालसम्म खोप नलगाएकाहरूका लागि खोप लगाउने तयारी गरेको हो। अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६ सय २० डोज खोप सरकारले लगाउने तयारी गरेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, धुलिखेल, पाटन, सिभिल अस्पतालबाट खोप लगाइनेछ। उपत्यकाबाहिर १५ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ। अमेरिकाबाट आएको उक्त खोप सोमबार नै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ। उक्त खोप देशभर पठाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ।
यसअघि नेपालमा भेरोसेल, कोभिसिल्ड, एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सन खोप लगाइएको छ। अन्य खोपभन्दा यो खोप फरक प्रकृतिको भएकोले भण्डारण तथा व्यवस्थापन गर्न ध्यान दिनुपर्ने बताइएको छ। यो खोप दुईदेखि आठ डिग्रीसम्मको तापक्रममा खोप केन्द्रबाट अन्त लैजान मिल्छ। अन्य खोपभन्दा फरक प्रकारको खोप लगाउन मन्त्रालयले जनशक्तिलाई तालिम दिने भएको छ। यसअघि खोप लगाउन छुटेका १२ वर्षमाथिका र दीर्घरोगीहरूलाई फाइजर खोप लगाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार अर्कोपटक खोप आउने निश्चित नभएकोले यसबाटै बचाएर अर्को डोज लगाउन राखिनेछ।