गाम के अधिकारी हमर बरका भइया हो
सामचको सामचको अइहा हो अइहा हो ।
यस्ता गीत गाउँदै मध्यतराईका विभिन्न जिल्लामा आजदेखि समा चकेवा पर्व सुरु भएको छ । पर्वका अवसरमा दिदीबहिनीले १० दिनसम्म भाइ–बहिनीबीचको प्रेमलाई गीत गाउँदै दर्शाउँछन् । सामा चकेवा मनाउन मंगलबार दिउँसोदेखि नै ग्रामीण भेगका बजारमा सामान किन्नेको भिड लागेको छ । तर, ठूला सहरमा भने यो पर्वको कुनै रौनक देखिएको छैन । छठको खरनाको दिन कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने सामाचकेवा रात्रिकालीन समयमा गाउँका छोरी र बुहारी एक ठाउँमा भेला भई माटोको विभिन्न प्रतिमासहित सामा चकेवाको गीत गाउँछन् ।
१० दिनसम्म चल्ने यो पर्व ११औँ दिन पूर्णिमामा विसर्जन गरिन्छ । ११औँ दिन माटोको प्रतीकहरूलाई भाइको हातबाट फुटाई खेत वा वनमा विसर्जन गरिन्छ । भाइको उमेर लामो होस् र उसलाई कुनै रोगव्याधि नलागोस् कामनाका साथ सामा मनाइन्छ । बहिनीहरूले सामा, चकेवा, चुगला आदिको माटोको प्रतिमा बनाई बाँसको डालोमा राखी साँझको वेला गीत गाउने गर्छन् । सामा चकेवा पर्वको विशेष पात्र चुगलाको मुखमा १० दिनसम्म कालो पोत्ने गरिन्छ । चुगला अर्थात् कुरा लगाउने पात्र हो ।सामा चकेवा महोत्तरी, धनुषा, सर्लाही, सिराहा, सप्तरीसहित भारतको विहारका मैथिली, भोजपुरी र थारू समुदायले भव्य रूपमा मनाउने गर्छन् ।
यस्तो छ किंवदन्ती
यो पर्वबारे विभिन्न धार्मिक ग्रन्थहरूमा चर्चा गरिएको छ । सामा चकेवा पर्वको सुरुवात द्वापर युगमा श्रीकृष्णको पालामा भएको विश्वास गरिन्छ । भगवान् श्रीकृष्णको छोरी साम्बा र छोरा साम्बबीचको प्रेमलाई आधार मानेर सामा चकेवा पर्व मनाइने गरेको उल्लेख छ । कृष्णकी छोरी साम्बालाई चुडक भन्ने व्यक्तिले मनपराएका थिए । तर, साम्बाको विवाह चारुवाकसँग भइसकेको थियो । आफूले मन पराएको व्यक्तिको अर्कैसँग विवाह भएकोमा प्रतिशोध लिन चुडकले कृष्णको सामु उसको छोरीको चरित्र ठीक नभएको भन्दै कुरा लगाए । कृष्णले पनि सत्यतथ्य नबुझी रिसको झोँकमा छोरीलाई पक्षी बन्ने श्राप दिए ।
पछि ज्वाइँ चारुवाकले कृष्णलाई भेटेर आफ्नी पत्नी निर्दोेष र स्वच्छ छवीकी भएकी बताए । र उनीविना बाँच्न नसक्ने बताए । उनले आफूलाई पनि पक्षी नै बनाई दिन आग्रह गर्दा कृष्णले उनलाई पनि पक्षी नै बनाइदिएको किंवदन्ती छ । कुरा लगाउने चुडक (चुगला)लाई भने देशनिकाला गरेका थिए ।आफ्नी बहिनी साम्बा र ज्वाइँ चारुवाकको श्रापलाई निष्क्रिय गर्न साम्बले कार्तिक शुक्ल पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म ११ दिन गोपेश्वर महादेवको मन्दिरमा प्रत्येक साँझ नृत्य र पूजा गरी भगवान् भोलेनाथलाई खुसी पारेको र भगवान् खुसी भई साम्बा दम्पतीलाई पुनःमानव जीवन दान दिएको मान्यताका साथ यो पर्व मनाइँदै आइएको छ ।