तिहारपछि खुलेको बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

सोमबार, २२ कार्तिक, २०७८
डिजिटल संस्करण

तिहारपछि पहिलो सेयर कारोबारका दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ। सोमबार नेप्से १९.२० अंकले घटेर २ हजार ८ सय २९ बिन्दुमा पुगेर थामिएको हो। त्यस्तै ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि २.७१ अंकले घटेर ५ सय २८.२७ बिन्दुमा पुगेर रोकिएको छ।

नेप्सेमा गिरावट आएसँगै सेयर खरिद बिक्री रकममा पनि कमी आएको छ। कारोबार अवधिभर तलमाथि भइरहेको बजार अन्ततः घटेर बन्द भयो। यस दिन कारोबारमा आएका २ सय ३० कम्पनीको ७२ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको छ। यो यसअघिको कारोबारको तुलनामा २ अर्ब कम हो।

सोमबार सर्वाधिक कारोबार महालक्ष्मी विकास बैंकको भएको छ। बैंकको यसदिन ५२ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको छ। यसैगरी दोस्रो कारोबार हुने कम्पनीमा नबिल बैंक लिमिटेड रहेको छ। राम्रो लाभांश घोषणापश्चात् बैंकको सेयर माग बढेसँगै कारोबार रकम पनि बढेको हो। बैंकको यसदिन ३० करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

आज कारोबारमा आएका १३ समूहको सूचकमध्ये ३ समूहबाहेक बाँकी १० समूहको सूचक नकारात्मक बन्न पुगेकाे छ। आज सर्वाधिक गुमाउनेमा वाणिज्य बैंक, विकास बैंक, जलविद्युत् समूह रहेका छन्। फाइनान्स, म्युचुअल फन्ड र लगानीगत समूहको सूचक केही अंकले सकारात्मक बनेको छ।

सुझावित समाचार