हिन्दूहरू दोस्रो ठूलो पर्व दीपावली (तिहार) पर्वको पाँचौँ दिन आज तराई–मधेससहितका जिल्लामा गोधन कुटिएको छ। समाजका व्यक्तिहरू एक ठाउँमा जम्मा भएर मंगल गीत गाउँदै यो पर्व मनाउने परम्परा रहेको छ। पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले पूजा गर्ने गरिन्छ।
बिघ्ननाशक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूजा विधिमा प्रकृतिको आराधना भएको हिन्दू संस्कृतिविद्हरू बताउँछन्। यमपञ्चकको पाँचौँ दिन मनाइने यस पर्वमा तराई–मधेसका कतिपय जाति–समुदायमा महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन्। यो मिश्रण गाई, गोरुसहितका पशुधनलाई रंगाउन प्रयोग गरिन्छ।
गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रणले रंगाउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधि) नलाग्ने मैथिल जनविश्वास छ। पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाइदिने, पिना (तोरी पेलिएको चोकर) खुवाउने र नयाँ दाम्ला लगाइदिने (दाम्ला फेर्ने) परम्परा रहेको छ। पर्वको मुख्य पक्षचाहिँ प्रकृति (वन, पहाड, पानीका मुहान, चरन क्षेत्र) संरक्षणको सन्देश रहेको छ।


