नेपाल एकीकरणमा हिलिहाङ राजाको योगदान

सन्दर्भ : २९५औँ हिलिहाङजयन्ती

बिहिबार, १८ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल एकीकरणका अभियन्ता बडामहाराज पृथ्वीनारायण शाहका समकालीन लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङबीच १७ पटकसम्म युद्ध भयो, तर कसैको हारजित नभएपछि अन्त्यमा दुवै राजाबीच वि.सं. १८३१ मा एक दूरदर्शी सम्झौता गरियो । र, वर्तमान विशाल नेपालको नक्सा कोरिन सक्यो । जुन सम्झौता हाङ (राजा) हिलिहाङले उदारताका साथ बढी सहजीकरण गरी स्थानीय स्वायत्त अधिकारसहित गोर्खाली राजालाई केन्द्रीय सरकार मान्ने र गोर्खाली दाजु र लिम्बुवान भाइ भई छिमेकी मुलुक तिब्बत तथा सिक्किमबाट सम्भावित आक्रमणलाई रोक्न संयुक्त सैन्य दस्ता खडा गरी लड्ने ऐतिहासिक सम्झौता थियो । यो सम्झौतापश्चात् नै विशाल अधिराज्य नेपालले साकार रूप लिन सकेको हो । यसरी इतिहासका कालखण्डमा राष्ट्र निर्माणमा उल्लेखनीय योगदान गरेका राष्ट्रनिर्माता योद्धाहरूको स्मरण गर्दै जानु सबै नेपालीको कर्तव्य र दायित्व हुन आउँछ । 

नेपाल रहे मात्र गर्वका साथ हामी नेपाली भएर बाँच्न र नाच्न सक्छौँ भन्ने सत्यबोध प्रत्येक जनताले गर्नुपर्छ । राष्ट्रनिर्माता बडामहाराज पृथ्वीनारायण शाहको देन र योगदानलाई शिरोधार गर्दैगर्दा यो विशाल नेपाल राष्ट्र निर्माणमा त्याग र बलिदानी गरेका हिलिहाङजस्ता हस्तीहरूको पनि उत्तिकै सम्मान गरिनुपर्छ । ऐतिहासिक घटनाक्रमको जोड–घटाउको योगफल नै यो मुलुक हो भन्ने यथार्थलाई मनन नगरी हुँदैन । विशाल नेपाल बन्ने क्रममा विभिन्न कालखण्डमा विभिन्न उल्लेखनीय परिघटनाहरू भए । कोतपर्वजस्ता रक्तरञ्जित खेलहरू पनि भए । तर, कुन–कुन परिघटना इतिहासमा महत्वपूर्ण र सम्झनलायक छन्, राज्यले हेक्का राख्दै सबै जाति–वर्ग र तिनका पुर्खा विरचित इतिहास–सभ्यता, संस्कार–संस्कृतिहरूप्रति सम्मानको दृष्टिकोण राख्न सक्नुपर्छ, भाइमारा दृष्टिले हेरिनुहुँदैन । यो मुलुकभित्रका सबै जाति, वर्ग र समुदायको नेपाल निर्माणमा योगदान छ भन्ने राज्यले बुझ्नु अनिवार्य हुन्छ । अन्यथा, देश विकास पनि हुँदैन, शान्ति पनि हुँदैन । 

नेपालजस्तो भौगोलिक विविधता भएको मुलुक विश्वमा सायदै होला । सानै भएर पनि सर्वाेच्च हिमशिखरदेखि पहाड र सम्म तराईका फाँटहरूले निर्मित छ, यो देश । जलस्रोतका लागि मात्र नभएर जातीय, धार्मिक, भाषिक, सांस्कृतिक हिसाबले पनि एकतामा अनेकता भएको देश हो, नेपाल । अलिकता प्रयास गरे मुलुक संसारको नमुना बन्नेछ । विविधताले भरिपूर्ण यो भूखण्डलाई अनेकतामा एकताको परिकल्पना गर्दै पृथ्वीनारायण शाह र हिलिहाङ दुवैले दूरदर्शी सम्झौता गरी नासोको रूपमा हामीलाई छोडी गएका छन् । यसलाई समयसापेक्ष सभ्य र भव्य विकासका काम र दीर्घकालीन योजनाहरूमार्फत समृद्ध नेपाल बनाउने जिम्मेवारी हाम्रो काँधमा छ ।

 नेपाल एकीकरण गर्ने सन्दर्भमा पृथ्वीनारायण शाहले स–साना टुक्रे राज्यहरूलाई राजनीतिक रणनीतिक र कूटनीतिक हिसाबले परास्त वा सम्झौताहरू गर्दै र गाभ्दै विशाल नेपालको निर्माणको महाअभियान चलाए । एकीकरणको अभियानमा सफल भएकैले उनलाई हामी राष्ट्रनिर्माता भनेर स–श्रद्धा सम्झन्छौँ । उनले मुलुकलाई लगाएको गुनका गाथाहरू सबै नेपालीले शिरोधार गर्नुपर्छ । उनले विशाल नेपालको परिकल्पना नगरेको भए हामी अझै स–साना थुम्के राजाको मानसिकताबाट बाहिर निस्कने थिएनौँ, आजपर्यन्त बिलखबन्दमा रहन्थ्यौँ, सायद ।

पृथ्वीनारायण शाह मात्रै होइन, उनका सहयोद्धा र त्याग देखाएका समकालीन राजाहरूको पनि उत्तिकै सम्मान हुने गरी इतिहासलाई न्यायपूर्ण लेखिनुपर्छ । यसो गर्दा मात्रै सबै जात, वर्ग–समुदायमा सहिष्णुता बढ्छ । समृद्धितर्फ देश अघि बढी दिगो शान्ति कायम हुनेछ । नेपाल एकीकरण गर्दा साना थुम्के, हुकुमे राजाहरू सबैलाई गोर्खाली राजाले जितेरै गाभेका हुन्, त्यो सत्य हो । तर, तत्कालीन लिम्बुवान जितेर नभई लामो समयको युद्धपश्चात् पनि जित्न नसकी युद्धबाट दुवै पक्ष थाकेर दूरदर्शिता देखाई एक ऐतिहासिक सम्झौताद्वारा युद्धविराम गर्न पुगे । सम्झौताका लागि लिम्बुवानको तर्फबाट हाङ हिलिहाङ योङहाङले सहजीकरण गरे । त्यो सम्झौतापत्र (लालमोहर) एउटा ऐतिहासिक कालखण्डको अमेट दस्तावेज हो । उक्त लालमोहर अहिले ब्रिटिसको लाइब्रेरीमा सुरक्षित छ, फोटोकपी जताततै हेर्न, पढ्न सकिन्छ ।

पृथ्वीनारायण शाह र हिलिहाङ योङहाङबीचको सम्झौता बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक नेपाललाई एक सूत्र–मालामा बाँध्न सहयोगी बन्यो

इतिहास जिउँदो पहिचानजन्य दस्तावेज र सहअस्तित्वको प्रमाण हो । यसैले इतिहास बुझ्नु, बुझाउनुपर्छ । तथ्यपरक रूपले लेखिनु, लेखाउनुपर्छ । इतिहासविनाको देश प्राणहीन हुन्छ । इतिहास अनुशासनको कडी हो । देश सिमाना हो, राज्य भूगोलभित्रको अनेकतामा एकता । मुलुक त्यहाँभित्रका सबै जाति, वर्ग, समुदायको सम्मानित जीवन बाँच्ने र सद्भाव देखाउने माध्यम हो । राज्यले सबैको सभ्यता, रहनसहन रीतिरिवाज, साहित्य, कला र धर्मकर्मलाई काखापाखा नगरी हेर्नुपर्छ । यसो हुँदा विकास र निकास दुवै 
दिन सकिन्छ । 

पृथ्वीनारायण शाह र हिलिहाङ योङहाङबीचको सम्झौता बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक नेपाललाई एक सूत्र–मालामा बाँध्न सहयोगी बन्यो । सयौँ टुक्रे राज्यहरू एकीकृत गराउने पृथ्वीनारायण शाहको अभियानमा लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङको ठूलो भूमिका छ । ऐतिहासिक तथ्यलाई स्विकारेर त्यसलाई सम्मान गर्दा मात्रै त्यो न्यायपूर्ण हुन्छ । 

लिम्बुवानका राजा र गोर्खाली राजाबीचको त्यो दूरदर्शी सम्झौता विशाल नेपालको नक्सा कोर्नमा महत्वपूर्ण रूपले सहयोगी छ । हिलिहाङको त्यागपूर्ण सम्झौताले नै हामीलाई सगौरव एक स्वतन्त्र राज्यका नागरिक हुन दिएको छ । गोर्खाली र लिम्बुवान सम्झौता कहाँ, कसरी भएको थियो भन्ने प्रा.डा. नारायणप्रसाद संग्रौलाद्वारा लिखित ‘पल्लो किरात किपट व्यवस्था’ पुस्तकको पेज नं. ७२ र हर्कबहादुर योङहाङ लिखित ‘हिलिहाङ इन द हिस्ट्री अफ नेपाल’ नामक पुस्तकमा मिहिन व्याख्या पढ्न सकिन्छ । राजा योङहाङको दरबार पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकामा स्थित छ । उनैको स्मृतिमा गाउँपालिकाको नाम हिलिहाङ पनि राखिएको छ । नेपालभित्र रहेका अन्य सबै पुरातात्विक महत्वका दरबार, मठ–मन्दिर र सम्पदाहरूको पनि विनाभेदभाव संरक्षण, संवद्र्धन गर्नुपर्छ भन्ने सिद्धान्त हिलिहाङ फाउन्डेसन राख्छ । पछिल्लो समय गोर्खा दरबारलाई जति नभए पनि केही सम्बोधन हिलिहाङ दरबारलाई पनि नेपाल सरकारले गर्न थालेको छ । यसलाई सकारात्मक मान्नुपर्छ । हाम्रा सम्पदाहरू र इतिहास जीवित रहे मात्रै देश र जनता पनि जीवित रहनेछौँ । वीर गोर्खालीहरू विश्वभरि छरिएर पनि छाती फुलाएर संसारलाई जिउँदो चिनारी दिन सक्छौँ । जय देश, जय नेपाली जनता !
(लिम्बू हिलिहाङ फाउन्डेसनका अध्यक्ष हुन्) 

सुझावित समाचार