मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले कास्कीको महिला उद्यमी संघसँग सम्झौता गरेको छ । सम्झौतामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र संघकी अध्यक्ष पार्वतीकुमारी पौडेल रेग्मीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकले संघसँग आबद्ध उद्यमी महिलालाई आफ्नो व्यवसाय विस्तार गर्नका लागि साना तथा मझौला कर्जा प्रदान गर्ने जनाइएको छ । उक्त कर्जा नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही प्रदान गर्ने बैंकले जनाएको छ ।
बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीलाई सहुलियतपूर्ण छिटो–छरितो ढंगले कर्जा प्रदान गरिने बताइन् । महिला उद्यमीहरूलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारीसाधन तथा घर निर्माण कर्जामा पनि प्राथमिकता दिइने उनको भनाइ थियो । संघकी अध्यक्ष रेग्मीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकाले बैंकसँग सहकार्य गरेको बताइन् । बैंकले कर्जाका साथसाथै महिला उद्यमीहरूलाई वित्तीय साक्षरता पनि प्रदान गर्दै आइरहेको जनाएको छ ।