फोनको न्युजफिड एकफेर नियालेर हेर्नुहोस् । सम्भवतः तपाईंले अन्तरिक्ष पर्यटनका प्रतिद्वन्द्वीहरूको चर्काे प्रतिस्पर्धासम्बन्धी विचार÷लेखहरू पाउन सक्नुहुन्छ । शीतयुद्धताकाको भूराजनीतिक संघर्षलाई चटक्कै बिर्सिदिनुस् । अहिले टेस्लाका प्रमुख कार्यकारी एलन मस्क र अमेजनका संस्थापक जेफ बेजोसबीच अन्तरिक्ष पर्यटनको अग्रणी को बन्ने भनेर कडा प्रतिस्पर्धा चलिरहेको छ । विश्वका यी सर्वाधिक दुई धनाढ्य निजी क्षेत्रको अन्तरिक्ष पर्यटनमा आफ्ना कम्पनीहरू क्रमशः स्पेसएक्स र ब्लु ओरिजिनले प्रभुत्व जमाउने दाबी गरिरहेका छन् । उसो त यो सूचीमा रिचर्ड ब्रेन्सनको भर्जिन ग्यालेक्टिक पनि छ, तर ब्रेन्सन बेजोस र मस्कका तुलनामा गरिब छन् । त्यसैले केही सातायता उनको चर्चा घट्दो छ ।
मस्क र बेजोसको प्रतिद्वन्द्विताले मिडियालाई राम्रै खुराक दिएका छन् । कहिलेकाहीँ दुवै पक्ष ट्विटरमा आफ्नो पक्षमा माहोल खडा गर्न उद्यत् पनि हुन्छन् । तर, यी दुईबीचको प्रतिद्वन्द्विता सम्भवतः देखावटी वा असत्य हो । प्रविधि उद्योगसँग सम्बन्धित ९५ चर्चित पुस्तकको विश्लेषण गरिएको शोध पुस्तक द न्यु प्याट्रिआक्र्स अफ डिजिटल प्याट्रिआर्की : सेलेब्रिटी टेक फाउन्डर्स एन्ड नेटवक्र्स अफ पावरमा धनाढ्यहरूका बीचमा प्रतिद्वन्द्विता देखिँदैन भन्ने उल्लेख छ । आधारभूत तहबाट हेर्दा मस्क र बेजोसको अन्तरिक्षमा प्रभुत्व जमाउने योजना प्रतिस्पर्धात्मक नभई परिपूरक देखिन्छ ।
मस्कको मंगल ग्रहमा उपनिवेश बनाउने योजनालाई बेजोस बेतुके भन्छन् भने बेजोसले प्रस्ताव गरेको विशाल अन्तरिक्ष केन्द्रहरूका लागि आवश्यक पूर्वाधार निर्माण गर्न निकै लामो समय लाग्ने टिप्पणी गर्छन्, मस्कचाहिँ । यी आलोचनालाई गम्भीर भएर नियाल्नुभयो भने यी दुवैले अन्तरिक्ष उद्योगलाई दुई भिन्नाभिन्नै एकाधिकारमा बाँडिरहेको सहजै बुझ्नुहुनेछ । यी दुईले आफ्ना रकेटले अन्तरिक्षको साँध ‘कारमन रेखा’ पार गर्नुअघिदेखि नै एकाधिकारको रेखा कोरिसकेका हुन् ।
यथार्थमा अल्फाबेटका ल्यारी पेज र सर्गे ब्रिन, फेसबुकका मार्क जुकरबर्ग वा प्यालेन्टिरका पिटर थिलजस्ता अर्बपति धनाढ्यहरूको स्वार्थ मिलेझैँ बेजोस र मस्कका स्वार्थ पनि बाझिन्नन् । अन्तरिक्ष पर्यटनमा देखिएको प्रतिस्पर्धा पनि आंशिक रूपमा सेलेब्रिटीहरूको प्रचार–रमिता मात्रै हो, जसले अतिशयोक्तिपूर्ण समाचार निर्माण गरेर नयाँ व्यापारिक सम्भावनाका बारेमा चेतना वृद्धि एवं समर्थन जुटाउने काम गर्छ । यदि हामी प्रतिद्वन्द्वितामा केन्द्रित रहेर कसले जितिरहेको छ भनेर चासो राख्छौँ भने सम्भवतः व्यापारिक अन्तरिक्ष उपनिवेशका बारेमा हामीले प्रश्न नै गर्नेछैनौँ ।
लाभांश होइन कि मस्कको सेलेब्रिटी छविका कारण लगानीकर्ताहरूमा आकर्षणले टेस्ला अहिलेको सबैभन्दा महँगो कार कम्पनी भएको छ । अमेजन अर्काे एउटा निर्दयी एकाधिकारवादी कम्पनी हो, जसले बजार विस्तार करछली र कर्मचारीहरूको शोषणबाट गरेको छ ।
वास्तवमा प्रविधि मालिकहरूलाई एकअर्काविरुद्ध काम गर्न खासै रुचि भएको देखिँदैन । थेलले सन् २०१४ मा प्रकाशित पुस्तक जिरो टु वानमा एकाधिकारवादी ठालुहरू प्रतिस्पर्धात्मक बजार पुँजीवादको आधारशीला भएको भाष्य स्थापित गर्दै आफ्नो एकाधिकार जोगाइराख्न प्रतिस्पर्धाको झुट बोल्छन् भनी लेखेका छन् । अर्थात्, यी धनाढ्य
आफ्नो सेलेब्रिटी छविको प्रयोग गरेर प्रतिस्पर्धाको भ्रम फैलाउँछन् । गुगलका सहसंस्थापकको सिलिकन भ्यालीका धनाढ्यहरूलाई ‘सिकारी कुकुरजसरी अगाडि बढ र एकअर्कासँग टाँसिएर बस’ भन्ने भाषणले पनि यही पुष्टि गर्छ ।
हाम्रो अनुसन्धानअनुसार पश्चिमी मुलुकका प्रविधि उद्योगका धनाढ्यहरू एकअर्कालाई आर्थिक एवं रणनीतिक सहयोग गर्छन् । हामीले एक करोड शब्दहरूको डाटाबेसमा डिजिटल खोजी गरेका थियौँ, जुन डाटाबेसमा हामीले अनुसन्धान गरेका पुस्तकहरू पनि थिए । अल्गोरिदमबाट गरिएको खोजीले प्रविधि धनाढ्यहरूको सञ्जालबारे बुझ्न सहयोग गरेको थियो । बेजोस र मस्कले एकअर्कालाई प्रत्यक्ष आर्थिक सहयोग नगरे पनि उनीहरू उल्लेखित धनाढ्यहरूको सञ्जालका अंग हुन् । बेजोस गुगलको सुरवाती चरणका लगानीकर्ता हुन् भने गुगलका संस्थापकहरूले मस्कका परियोजनाहरूमा सन् २००६ देखि नै लगानी गरेका छन् । मस्कको जीवनीमा एस्ली भ्यान्स लेख्छन्, ‘सन् २०१३ मा टेस्लालाई समस्या पर्दा पनि ६ अर्ब डलर लगानी गरिदिनुका साथै स्पेसएक्स अप्ठ्यारोमा पर्दा पनि गुगलले ठूलो रकम लगानी गरिदिएको थियो ।’
अन्तरिक्षमा खोज गर्नुपर्ने कैयौँ जायज कारण होलान्, तर यी धनाढ्यहरूले नाफालाई प्राथमिकता दिन्छन् कि विज्ञान, त्यसमा हामी अझै स्पष्ट छैनौँ । यी खोजले बृहत् मानवतालाई सहयोग पु¥याउँछ कि मुठ्ठीभरका धनाढ्यहरूलाई पोस्छ मात्रै, यसमा पनि हामी स्पष्ट हुन सकेका छैनौँ । लक्षण हेर्दा संकेत राम्रो देखिँदैन । अर्थात्, मस्कले हजारौँ स्टारलिंक उपग्रहहरू प्रक्षेपण गरेर पृथ्वीको तल्लो कक्षलाई रद्दीको मैदान नै बनाइदिएका छन् । बेजोसको १० मिनेटको विलासी भारविहीन मनोरञ्जन सेवा पनि केवल शून्य दशमलव शून्य एक प्रतिशतका लागि मात्रै उपयोगी हुन सक्छ । स्मरणीय के भने यी परियोजनाले हाम्रो ग्रहलाई नै क्षति गरिरहेका छन् ।
सिलिकन भ्यालीका उद्यमीहरू सामाजिक समस्याहरूको प्रविधिगत समाधान साझा रूपमा प्रस्तुत गर्छन् । सामाजिक सञ्जालहरू हामीबीच विभाजन ल्याएर धेरैभन्दा धेरै प्रयोगकर्ताहरू जोडिँदै जाने गरी निर्माण गरिएका छन् र स्पेससिपहरूले चाहिँ पृथ्वी मानवका लागि अयोग्य हुँदै गयो भने यहाँबाट पलायन हुने मार्ग प्रशस्त गर्छन् । हाम्रा अगाडिका समस्याका यसखाले समाधानहरू पेस गर्ने प्रवृत्ति प्रविधि जगत्का मिथकीय पात्र स्टिभ जब्सको पालादेखि नै सुरु भएको हो । पहिले यो विचार घरेलु कम्प्युटरहरूमा लागू गरियो, पछि अनलाइनमा पुग्यो र अहिले अन्तरिक्षमा पुगेको छ ।
यी व्यवसायहरूको मूल्य लाभांशका कारणभन्दा पनि समाचार शीर्षक, ट्विट्स र ‘भिजन’का कारण शिखरतर्फ दौडिरहेको छ । लाभांश होइन कि मस्कको सेलेब्रिटी छविका कारण लगानीकर्ताहरूमा आकर्षणले टेस्ला अहिलेको सबैभन्दा महँगो कार कम्पनी भएको छ । अमेजन अर्काे एउटा निर्दयी एकाधिकारवादी कम्पनी हो, जसले बजार विस्तार करछली र कर्मचारीहरूको शोषणबाट गरेको छ । तैपनि, बेजोसलाई प्रेरक प्रमुख कार्यकारीका रूपमा प्रस्तुत गरिन्छ । अधिक काम गर्नुलाई काम गर्ने संस्कृतिको रूपमा प्रस्तुत गरिन्छ ।
यी उद्यमीहरू आफ्नो जीवन, व्यापार एवं दृष्टिकोणका बारेमा सम्मोहनकारी कथा सुनाउँछन् । हामी इतिहासका सबैभन्दा सफल प्रचार मेसिनहरूबाट कथिएका बुट्टेदार कथाहरू सत्य हुन् वा होइनन् भनेर कहिल्यै थाहा पाउनेछैनौँ । तसर्थ, यी धनाढ्यका बारेमा आएका अतिशयोक्तिपूर्ण समाचारलाई सेलेब्रिटी समाचारका रूपमा लिइनु कुनै संयोग होइन । वास्तवमा यी समाचार धन एवं शक्ति आर्जनका आधारभूत व्यापारिक रणनीति हुन् ।