संविधान संशोधनको अपरिहार्यता

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

सम्पूर्ण नेपाली जनताले अपनत्व महसुस गर्ने गरी संविधानका केही व्यवस्था परिवर्तन गरेर सबै वर्ग, लिंग, जातजाति तथा भूगोल समेटिने व्यवस्था गरिनुपर्छ


००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको पहलमा राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएयताको ७० वर्ष लामो अवधिमा देशले अनेक आरोह–अवरोह झेल्यो । पञ्चायती व्यवस्थादेखि प्रजातान्त्रिक व्यवस्था र संघीय गणतन्त्रसम्म आइपुग्दा पनि देशले विकास र प्रगतिको भने मुहार देख्न सकेको छैन । जनताले जीवनमा परिवर्तनको महसुस गर्न पाएका छैनन् । असमानता बढेको छ, गरिब र धनीबीचको दूरी थपिएको छ ।

समाजमा अनुशासन र इमान हराउँदै गएको छ । भ्रष्टाचार संस्थागत भएको छ । राजनीतिक दलका नेता, तिनका आसेपासे, दलाल, भ्रष्ट व्यापारी र कर्मचारीको जीवनशैलीमा ठूलो प्रगति छ । दिन–प्रतिदिन कालोधन चुलिँदो छ र यसलाई व्यवस्थापन गर्न पुँजीको व्यवस्थापन भन्दै राज्य व्यवस्थाले नै वकालत गर्न थालेको छ । दण्डहीनताले प्रश्रय पाएको छ । गुणस्तरीय शिक्षा र स्वास्थ्य निमुखा जनताको पहुँचबाहिर हुँदै गएको छ । भ्रष्टाचारले समाजका हरेक तप्कालाई गिजोलेको छ । शिक्षित र बौद्धिक वर्ग तमासे बनेका छन् । 

आमनेपालीले चाहेको गणतन्त्र वा परिवर्तन यही हो त ? संविधानसभाबाट लेखिएको संविधान सर्वस्वीकार्य हुन सकिरहेको छैन । राज्य सञ्चालनको जिम्मा राजनीतिक पार्टी र तिनका नेताको मात्रै होइन । देश बनाउन सम्पूर्ण नेपालीको योगदान र हिस्सेदारी आवश्यक हुन्छ । तर, यो संविधानले सबैलाई बराबर मौका दिएको छैन । अझै संविधान विभेदी छ । ७० वर्षको समयावधि सानो होइन । विश्वका थुप्रै मुलुकले पछिल्लो १५–२० वर्षको अवधिमा राम्रै आर्थिक प्रगति गरेका छन् । भियतनाम, बंगलादेश, अजरबैजान, आर्मेनिया, तुर्कमेनिस्तान, नाइजेरिया, इथोपिया, रुवान्डालगायत देशले विकासको बाटो समातेका छन् ।

ती देशका राजनीतिक पार्टी र तिनका नेताको राष्ट्रप्रतिको लगनशीलता र इमानदारीले त्यहाँको सुशासन र सुव्यवस्था सम्भव भएको हो । तर, हाम्रा नेताको अदूरदर्शी नीति र व्यक्तिगत राजनीतिक स्वार्थले जनताको चाहनामा तुसारापात हुन गएको छ । बदलिँदो विश्वको आर्थिक र सामरिक संरचनामा नेपालको वैदेशिक नीति र छिमेकी सम्बन्धमा हाम्रो राष्ट्रिय हित सर्वाेपरि राखी नीति र नियमहरू पुनरावलोकन र परिभाषित गर्नुपर्छ । अखण्डता र स्वाभिमानलाई केन्द्रमा राखेर बदलिँदो विश्वको चाहनालाई मध्यनजर गर्दै देशका समृद्धिका बाटाहरू खोज्नुपर्छ । विश्वमा नयाँ सोच र नयाँ प्रणालीबारे बहस हुन थालिसकेको छ । 

संविधानका केही व्यवस्था परिवर्तन गरी सबै वर्ग र क्षेत्र अटाउने व्यवस्था गरिनुपर्छ । देशको भविष्य सम्पूर्ण नेपालीको प्रयासले मात्र सुनिश्चित हुन सक्छ । थुप्रै वर्ग, तह र तप्कालाई आजसम्म राज्य–संरचनाले बाहिरै राखेको छ । अबको आवश्यकता भनेकै संविधान संशोधनको हो । सबै वर्गलाई राज्य–सञ्चालनको स्थानसम्म पुर्याउने व्यवस्था संविधानले सुनिश्चित गर्नुपर्छ । सबै वर्गले राष्ट्रको हितमा काम गर्ने गरी राज्य सञ्चालनमा मौका पाउनुपर्छ । यसका लागि बौद्धिक र शिक्षित वर्गको संघीय प्रतिनिधिसभा र राष्ट्रिय सभामा उल्लेख्य प्रतिनिधित्व हुनुपर्छ । राजनीतिक पार्टी र तिनका नेता प्रत्यक्ष चुनावबाट चुनिएर आउने र समानुपातिकबाट विशेषज्ञहरू चयन हुन सके देशले विज्ञको सेवा पाउन सक्छ । 

राजनीतिक, गैरराजनीतिक एवं बौद्धिक वर्ग सबैले हातेमालो गरेर अगाडि बढनुपर्ने अवस्था छ । देशको सम्पूर्ण जिम्मेवारी राजनीतिक दल र तिनका नेतालाई मात्र सुम्पिने अवस्था छैन । कार्यपालिकामा सबैको सहकार्य, समझदारी र प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ । यसले ‘चेक एन्ड ब्यालेन्स’का साथै देशका निम्ति आवश्यक नीति–नियम बनाउन सहयोग पुग्छ । संघीय व्यवस्थापिकाका दुई सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा समान प्रतिनिधित्व हुने गरी संविधानको भाग–८ संशोधन गरिनुपर्छ ।

नेपालको संविधानको भाग–८ को धारा ८४ प्रतिनिधिसभाको गठनबारे १ को (क) यथावत् राखी (ख) मा संशोधन गरेर सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको प्रतिनिधित्व हुने गरी १६५ जना सदस्यको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्छ । सोहीबमोजिम भाग–८ का अरू बुँदालाई ८४ को (ख) बमोजिम हुन गरी संशोधन गर्नुपर्छ । राष्ट्रिय सभामा पनि कुल संख्याको ५० प्रतिशत प्रतिनिधिसभाको समानुपातिककै व्यवस्थाअनुसार सदस्यको चयन हुनुपर्छ । यसैले पनि संविधान संशोधन गर्न ढिलो भइसकेको छ । 

सुझावित समाचार