सर्वोच्च अदालतमा बारको आन्दोलन

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनले आजदेखि सर्वोच्च अदालतमा आन्दोलन सुरु गरेको छ । बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक एक घन्टा सर्वोच्चमा धर्ना दिने बारको कार्यक्रम छ । धर्नाका बीच मंगलबार विरोधसभा पनि गर्ने बारको निर्णय छ ।

‘मिति ०७८ कात्तिक १४, १५, १६ गतेका दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने,’ बारले पदाधिकारी बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

त्यस अवधिमा पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सशक्त आन्दोलनका कार्यक्रम ल्याउने बारको योजना छ । इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने गरी बारले छलफल गरिरहेको छ । 

‘अहिले हामीले घोषणा गरेका कार्यक्रमहरू सर्वोच्चकेन्द्रित मात्र छन् । अन्य अदालतका सेवाग्राहीलाई मर्का नपरोस् भनेर तिहारसम्म धर्नाको कार्यक्रम सार्वजनिक गरेका हौँ,’ बारका महासचिव लीलामणि पौडेलले भने, ‘१८ कात्तिकबाट तिहार बिदा सुरु भएपछि २२ गते मात्र सर्वोच्च खुल्छ । त्यतिवेलासम्म पनि प्रधानन्यायाधीशको राजीनामा नआए हामी बैठक बसेर कडा आन्दोलनका कार्यक्रम तय गर्छौँ ।’

सुझावित समाचार