विप्लवका कार्यकर्ता रिहाइका लागि गृहकार्य भइरहेको छ : गृहमन्त्री खाण

शनिबार, १३ कार्तिक, २०७८
डिजिटल संस्करण

कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूको रिहाइका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्। 

मन्त्री खाणले मुद्दा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रूपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारेका छन्। कार्यबाहक प्रधानमन्त्री खाणले सो पार्टीका एउटै बन्दीलाई ६÷७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उनीहरूलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरूसँग छलफल भइरहेको जानकारीसमेत दिए। उनले विप्लव नेतृत्वको नेकपाका मुद्दा लागेका, बन्दी जीवन बिताइरहेकाहरूको संख्या यकिन गर्ने काम सरकारले गरिरहेको बताए। 

सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिबद्ध रहेको खाणको भनाइ थियो। उनले भने, ‘मुद्दा लागेकाहरूलाई चाहिँ कानुनी प्रक्रियाबाटै त्यो मुद्दा टुंगियोस्, फिर्ता लिन सकियोस्। र, बन्दीहरू पनि प्रक्रियागत रूपमै मुक्त होउन् भन्ने हाम्रो चाहना छ। त्यसका लागि अहिले गृहकार्य भएको छ। र, एटाेर्नी जनरलको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा उहाँहरू कतिजना बन्दी हुनुहुन्छ? उहाँहरूको कानुनी अवस्था कस्तो छ? उहाँहरूलाई पनि हामीले भनेका छौँ– कानुनी अवस्था कस्तो छ, कतिजना हुनुहुन्छ? कहाँकहाँ हुनुहुन्छ? त्यसको बारेमा अब स्पेसिफिक रूपमा छलफल गरौँ। बन्दीभन्दा पनि मुद्दा धेरै रहेछ। एउटै व्यक्तिलाई ६ वटा, ७ वटा मुद्दा पनि छ। कुनै ठाउँमा घटना हुन्छ, त्यसैको नाममा अनेकौँको नाम जोडिएको हुन्छ। यसले गर्दाखेरी बन्दीभन्दा मुद्दा धेरै रहेछ। त्यसलाई हामीले अब कसरी संवोधन गर्ने भन्नेमै छलफलमा छौँ हामी। सरकार सबै राजनीतिक पार्टीहरूसँग संवाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएरै शान्ति स्थापना गर्न प्रतिबद्ध छ ।’

कार्यबाहक प्रधानमन्त्री खाणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा सरकारले राजनीतिक दलहरूसँगको छलफललाई प्राथमिकता दिइरहेको पनि बताए। 

सुझावित समाचार