भूउपयोग ऐनले तर्जुमा गरेको उद्देश्य पूरा गर्न छलफल अगाडि बढाएका छौँ : मन्त्री श्रेष्ठ

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूउपयोग ऐनले तर्जुमा गरेको उद्देश्य पूरा गर्नका लागि नियमावली परिमार्जन गर्ने गरी छलफल अगाडि बढाएको बताएकी छिन् । 

शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले भूउपयोग नीति र भूउपयोग ऐनले राखेको उद्देश्य हासिल गर्न र ऐनलाई व्यवहारमा कार्यान्वयन गर्न केही व्यावहारिक कठिनाइहरू रहेको बताइन् । उनले ती कठिनाइहरूलाई हटाउन नियमावलीमा परिमार्जन गर्न छलफल भइरहेको उल्लेख गरिन् । उनले भनिन्, ‘जुनसुकै ऐन बन्दाखेरी पनि ऐनअन्तर्गतको नियमावलीहरू, कार्यविधिहरू, निर्देशिकाहरू, दिग्दर्शनहरू चाहे जेसुकै नाममा होस्, यो बनेको वेलामा कार्यान्वयनका लागि हो भन्ने कुरा हामीले बिर्सनुहुँदैन । त्यसले परिणाम ल्याउने किसिमले, जनताले यो मेरो लागि बनेको हो भन्ने परिवर्तनको अनुभूति गर्ने हिसाबले हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले केहीचाहिँ कार्यान्वयनयोग्य बनाउन केही विषयहरू थप्नुपर्छ कि भन्ने हिसाबबाट छलफल गरिएको छ । परामर्श गरिएको छ । छिट्टै आउँछ । प्रक्रियाअनुसार मन्त्रिपरिषदमा हामी लगिनै हाल्छौँ । कुनै विलम्ब नगरीकन गरिरहेका छौँ । छिटो सम्पन्न गर्छौँ ।’

मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गतको जुन कुनै आयोगहरूले विगतमा राष्ट्रहित र जनहितको पक्षमा काम गरेको छ भने त्यसको स्वामित्व आफूले लिने बताइन् ।  राम्रा कुराहरूलाई कार्यान्वयन गरेर लैजाने र त्यसैको आधारमा अगाडि बढ्ने उनले बताइन् । ‘विगतमा विभिन्न नाममा गठन भएका आयोगहरूले जनताको पक्षमा, राष्ट्रहित र जनहितको पक्षमा गरेको छ भनेदेखि त्यो कुराले निरन्तरता पाउँछन् । त्यसको स्वामित्व म लिन्छु । जो–कसैले गरेको भए पनि जनताको पक्षमा भएको, देशको पक्षमा भएको कुराको स्वामित्व ग्रहण गरिन्छ । राम्रा कुराहरूलाई कार्यान्वयन गरेर त्यसको जगलाई आधार मानेर त्यसैबाट अगाडि बढ्ने कुरा गरिन्छ ।’

सुझावित समाचार