इरानसँग नेपाल चार गोलले पराजित

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपालले आगामी ११ कात्तिकमा ताजिकिस्तानसँग र १४ कात्तिकमा छनोट चरणकै अन्तिम खेल लेबनानविरुद्ध खेल्नेछ

एएफसी यु–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग ४–० ले पराजित भएको छ । ताजिकिस्तानको सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपालले इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा निरीह सावित भयो । जितसँगै छनोट चरणको समूह बिमा रहेको इरानले महत्वपूर्ण तीन अंक जोडेको छ । छनोट चरणमा नेपालले हारबाट आफ्नो यात्रा सुरु गरेको छ ।

नेपालले यु–२३ एसियन कप छनोटमा इरानसँग दोस्रोपटक प्रतिस्पर्धा गरेको हो । यसअघि नेपालले सन् २०१५ मा इरानसँग खेलेको थियो । सो खेलमा इरानले नेपाललाई ५–० ले हराएको थियो । नेपालले इरानको यू–२३ टोलीविरुद्ध अहिलेसम्म जित निकाल्न सकेको छैन । नेपालले अब बिहीबार आयोजक ताजिकिस्तानसँग खेल्नेछ । आउँदो आइतबार छनोट चरणकै अन्तिम खेलमा नेपालले लेबनानविरुद्ध खेल्नेछ ।

नेपाल यसअघिको चारै संस्करणमा छनोट चरणबाटै बाहिरिएको थियो । पछिल्लो दुई संस्करणमा नेपालले विपक्षी पोस्टमा गोल नै नगरी छनोट चरणबाटै घर फर्किएको थियो । उमेर समूहको निकै अनुभवी प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली यू–२३ टोलीले ताजिकिस्तानमा गतिलो प्रदर्शन गर्ने अपेक्षा थियो । तर, पहिलो खलमै नेपाली खेलाडीले सोचेको जस्तो प्रदर्शन गर्न सकेनन् ।

पहिलो हाफमा इरानले पेनाल्टी गोल चुकाएको थियो । दोस्रो हाफमा इरानले सुधारिएको प्रदर्शन गर्‍यो । दोस्रो हाफको उत्कृष्ट प्रदर्शनको मद्दतमा इरानले नेपालमाथि सानदार जित निकालेको हो । इरानको जितमा होसेनले दुई गोल गरे । इरानले खेलको ४७औँ मिनेटमा नेपालविरुद्ध १–० को अग्रता लियो । इरानलाई मेहदीले अग्रता गोल गरेका हुन् ।

होसेनले दुई मिनेटको अन्तरमा दुई गोल गरे । उनले खेलको ७७औँ र ७९औँ मिनेटमा गोल गर्दै इरानलाई ३–० को अग्रता दिलाए । खेलको अन्तिम इन्जुरी समयमा यासिनले नेपाली डिफेन्डरको कमजोर प्रदर्शनमा इरानलाई ४–० को जित पक्का गराए । डिबक्सबाहिर यासिन अनमार्कमा थिए । उनले सहजै पहिलो बारमा गोल गरे ।

नेपालले छनोट प्रतियोगिताको तयारी निमित्त इन्डोनेसियाको यू–२३ टोलीविरुद्ध एक मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो । नेपाली टोलीमा १३औँ साफ च्याम्पियनसिपको उपविजेता टोलीका ६ खेलाडी समावेश छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ, मिडफिल्डरमा नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान तथा स्ट्राइकरमा मनीष डाँगी छन् ।

यसैगरी छनोट चरणबाटै दोस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चार टोली पनि यु–२३ एसियन कपमा छनोट हुनेछन् । एएफसी यू–२३ कपमा १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अहिले एसियाको विभिन्न क्षेत्रमा ४२ राष्ट्रहरूले छनोट खेल खेलिरहेका छन् । हरेक समूहको विजेता सीधै अन्तिम चरणमा पुग्ने छ । उज्वेकिस्तानमा सन् २०२२ को १ देखि १९ जुनसम्म यु–२३ एसिया कप हुनेछ । सन् २०१३ देखि एएफसी यू–२३ एसियन कप सुरु भएको थियो । प्रतियोगिताको पाँचौँ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले एक–एक पटक उपाधि जितेका छन् ।

See More On

सुझावित समाचार