प्राकृतिक विपदबाट सुदूरपश्चिममा ३० जनाको मृत्यु

बिहिबार, ४ कार्तिक, २०७८
डिजिटल संस्करण

अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा आज बिहानसम्म ३० जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरो, डुबानमा परी डोटीमा १५, बैतडीमा चार, डडेल्धुरामा दुई, बझाङमा आठ र कैलालीमा एकजनाको मृत्यु भएको छ।

यस्तै, विपदमा परी घाइते हुने १६ जना पुगेका छन्। डोटीमा ११, डडेल्धुरामा दुई, बैतडीमा दुई र बझाङमा एक गरी १६ जना घाइते भएका छन् । 

डोटीमा विपदमा परी मृत्यु हुने थप व्यक्तिमा बड्डीकेदार गाउँपालिकाकी ५० वर्षीया चनरीदेवी नेपाली, जोरायल गाउँपालिकाका १५ वर्षीय पुस्कर विक, शिखर नगरपालिकाकी २६ वर्षीया मन्धरा बलायर र सायल गाउँपालिकाका ७४ वर्षीय वीरे रोकाया छन्। यस्तै, बझाङको खप्तडछान्ना गाउँपालिकाका ४९ वर्षका बिरु गिरी, ४५ वर्षीया चन्द्रदेवी गिरी, ४८ वर्षका धर्म रोकाया, ४५ वर्षीया जैसरादेवी रोकाया, ६८ वर्षीय रने आग्री, थलारा गाउँपालिकाका ६ वर्षीय आयुष पार्की र सात वर्षका विकास पार्कीको पनि मृत्यु भएको पुष्टि भएको छ। 

विपदमा परी बझाङमा २१ र बैतडी, कैलाली, डोटी जिल्लामा एक–एक गरी २४ बेपत्ता भएका छन्। बझाङको थलारामा गएको पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ। उक्त ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत ४० जनाको टोली घटनास्थलमा खटिएको छ। पहिरो गएको ठाउँबाट दुईजनाको शव निकालिएको छ।

पहिरोका कारण बझाङमा १२, डोटीमा तीन र डडेल्धुरामा दुई गरी १७ घरमा पूर्ण रूपमा क्षति पुगेको छ।  विपदमा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा पशु चौपाया पनि मरेका छन्।

यता कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानका कारण विस्थापित भएका परिवारलाई नेपाली सेना र प्रहरी टोलीद्वारा सुरक्षित स्थानमा सारिएको छ। कैलालीको जानकी गाउँपालिका– ९ को वन क्षेत्रमा कर्णालीको बाढीका कारण फसेका प्रेम चौधरी र रामदयाल चौधरीको नेपाली सेनाको हेलिकोप्टरबाट बुधबार सकुशल उद्धार गरिएको छ। रासस

See More On

सुझावित समाचार