दसैँपछि खुलेको सेयर बजारमा हरियाली, होटेल र निर्जीवन बिमामा आकर्षण

आइतबार, ३१ असोज, २०७८
डिजिटल संस्करण

 दसैँपछि कारोबार खुलेको पहिलो दिन सेयर बजार हरियाली बनेको छ। यसअघि करेक्सन  खेप्दै निराशाजनक बनेको बजारको अवस्था कस्तो रहला भन्ने लगानीकर्ताको चासोबीच नेप्से सकारात्मक बनेको हो। दसैँ अझै केही दिन बाँकी नै छ। गाउँबाट सहर पस्ने क्रम जारी रहेकाले भोलिका दिनहरूमा बजार अझै सुधारिँदै जाने लगानीकर्ताहरूको अपेक्षा छ। करेक्सन सकिएपछि बजारले एकपटक फेरि ‘बुलिस रन’ समात्ने उनीहरूको आकलन छ।

आइतबार नेप्से परिसूूचक १७.५९ अंकले बढेर दुई हजार ६ सय ५६.९६ बिन्दुमा पुगेर कारोबार बन्द भयो। त्यस्तै,  क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३.१७ अंकले बढेर ४ सय ९७।३९ बिन्दु कायम भएको छ।

यस दिन कारोबारमा आएका १३ समूहको सूचकमध्ये १२ समूहको सूचक  बढेको बढेको छ। होटेल तथा पर्यटन, विकास बैंक, फाइनान्स र निर्जीवन बिमा समूहको सूचक उच्च अंकले बढेको छ। चन्द्रागिरि हिल्स, हिमालयन ऊर्जा विकास कम्पनी, घलेम्दी हाइड्रो, कामना सेवा विकास, प्रुडेन्सियल इन्स्योरेन्स, कालिका पावर कम्पनी, हिमालयन जनरल इस्योरेन्स, समता घरेलु लघुुवित्त र ग्रिन लाइफ हाइड्रोपावरको सेयर मूल्य झिनो अंकले बढेको छ। त्यस्तै युनाइडेट मोदी हाइड्रोपावर र नेपाल दूरसंचार कम्पनीको सेयर मूल्य पनि बढेको छ।

यता, सिटिजन म्युचुअल फन्ड ५.६६ प्रतिशतले तथा बोटलर्स नेपाल, सिटिजन म्युचुअल फन्ड र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा ३ प्रतिशतले गिरावट आएको छ।धितोपत्र  र ऋणपत्र गरी कारोबारमा आएका २१८ कम्पनीका ४७ लाख  ६० हजार कित्ता सेयर खरिद  बिक्री हुुँदा १ अर्ब ४९ करोड रुपैयाँबराबरको कारोबार भएको छ। नेप्से परिसूचक बढे पनि नाफा बुक गर्ने हुँदा कारोबार रकम बढ्न नसकेको हो।

आइतबार सर्वाधिक कारोबार हुने कम्पनीमा नविल बैंक रहेको छ। बैंकको ८ करोड ३२ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो। दोस्रो कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ। यस दिन कम्पनीको ७ करोड ५३ लाख रुपैँयाबराबरको सेयर कारोबार भएको छ। आइसिएफसी फाइनान्स, सानिमा बैंक, कामना सेवा विकास बैंकको ६ करोडदेखि ४ करोड  रुपैयाँसम्मको कारोबार भएको छ।

See More On

सुझावित समाचार