आइएमएफकी प्रबन्ध निर्देशक जर्जिएभाविरुद्ध ‘कु’ प्रयास

मंगलबार, २६ असोज, २०७८
डिजिटल संस्करण

जर्जिएभाको नेतृत्वमा अन्तर्राष्ट्रिय मुद्रा कोषले लिइरहेको प्रगतिशील दिशाबाट असन्तुष्ट जमात ठूलो छ, जो सके कोषबाट हटाउन चाहन्छ, नसके कमजोर बनाउन खोज्दै छ 


अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालाई सके विस्थापित गर्ने, नसके कमजोर बनाउने प्रयास अहिले जोडतोडले चलिरहेको छ । सन् २०१९ देखि कोषकी प्रबन्ध निर्देशक रहेकी जर्जिएभा तिनै हुन्, जसले महामारीको समयमा विपद्विरुद्ध छिटो सहायता कोष जारी गरेकी थिइन् । साथै, उनले सफलतापूर्वक ६५० अर्ब डलरको अन्तर्राष्ट्रिय मुद्रा कोषको रकम पनि भनिने स्पेसल ड्रइङ राइट जारी गर्ने पक्षमा वकालत गरिन् । यो रकम न्यून आय तथा मध्यम आययुक्त मुलुकको आर्थिक पुनस्र्थापनाका लागि अति उपयोगी हुनेछ । साथै, उनले जलवायु परिवर्तनको संकटविरुद्ध कोषलाई अग्रणी संस्थाको रूपमा विकास गरेकी छन् । यी सम्पूर्ण कार्यका लागि जर्जिएभाको सराहना हुनुपर्छ ।

तर, सराहनीय काम गरेकी जर्जिएभालाई कोषबाट हटाउने प्रयास किन भइरहेको छ ? र, यो प्रयासको पछाडि को छ ? समस्या विश्व बैंकले बर्सेनि प्रकाशित गर्ने ‘डुइङ बिजनेस इन्डेक्स’ सम्बन्धमा उत्पन्न विवाद अनुसन्धान गर्न गठित आयोगले रिपोर्ट सार्वजनिक गरेपछि सुरु भएको हो । अनुसन्धान चर्चित कानुनी फर्म विल्मरहेलले गरेको थियो । डुइङ बिजनेस इन्डेक्सले कुनै मुलुकमा व्यावसायिक फर्म सुरु गर्न र सञ्चालन गर्न कति सहज भन्ने मापन गरेर विश्वभरका मुलुकको वरीयता निकाल्ने गर्छ । हाल सार्वजनिक अनुसन्धान रिपोर्टले सन् २०१८ र सन् २०२० को इन्डेक्समा चीन, साउदी अरब र अजरबैजानको स्थानमा छेडखानी भएको आरोप लगाएको छ । खासमा यसलाई आरोपभन्दा पनि संकेत छ भन्नु ठीक होला ।

विश्व बैंकले २०१८ को इन्डेक्स सार्वजनिक गरेदेखि नै जर्जिएभाको आलोचना सुरु भएको थियो । इन्डेक्समा चीन ७८औँ स्थानमा थियो, जुन उसको अघिल्लो वर्षको स्थान बराबर थियो । तर, चीनको स्थान त्योभन्दा खराब हुनुपर्ने तर बैंकको पुँजी वृद्धिका लागि चीनको सहायता हासिल गर्न चीनको स्थान राम्रो बनाएको आरोप लाग्यो । त्यस समय जर्जिएभा विश्व बैंककी प्रमुख कार्यकारी अधिकृत थिइन् । त्यस विवादको एउटा सकारात्मक परिणाम इन्डेक्सको खारेजीलाई मान्न सकिन्छ । २५ वर्षअघि म विश्व बैंकको प्रमुख अर्थशास्त्री हुँदा बैंकको अर्को विभाग ‘इन्टरनेसनल फाइनान्स कर्पोरेसन’ले डुइङ बिजनेस प्रकाशित गरेको थियो । त्यसवेलै मलाई इन्डेक्स खराब प्रकाशन लागेको थियो । 

डुइङ इन्डेक्सले न्यून कर्पोरेट कर तथा कमजोर श्रम कानुन भएका मुलुकलाई राम्रो अंक दिने व्यवस्था गरेको थियो । र, तिनको तथ्यांकमा हुने सानोतिनो परिवर्तनले पनि वरीयतामा ठूलो असर पाथ्र्यो । सामान्य निर्णयले समेत मुलुकको वरीयता खस्कँदा ती मुलुकमा निराशा छाउने गरेको देखिन्थ्यो । मैले विल्मरहेल रिपोर्ट सार्वजनिक भएसँगै त्यसलाई अद्योपान्त पढेँ र संलग्न प्रमुख व्यक्तिसँग पनि कुरा गरेँ । र, यसका सम्पूर्ण प्रक्रियाबारे जानकार रहेकाले यो अनुसन्धान कसैको मानहानि गर्ने प्रयासजस्तो लाग्यो । 

विवादमा आएको डुइङ बिजनेस इन्डेक्स तयार पार्ने अवधिभर जर्जिएभाले पूर्णतः व्यावसायिक रूपमा काम गरेको देखिन्छ । उनको स्थानमा म भएको भए पनि त्यही नै गर्थें । उनले आफू मातहतका कर्मचारीलाई तथ्यांकलाई दोहोर्‍याएर जाँच गर्न आग्रह गरेकी छन् । कर्मचारीले जर्जिएभाको आग्रहलाई स्विकार्दै तथ्यांकलाई मिहीन रूपमा दोहो¥याएर जाँचेँ र तथ्यांकमा सामान्य परिवर्तन हुन पुग्यो । जसले सामान्य संशोधन भएको छ । सन् २०१८ को इन्डेक्स प्रकाशन एकाइका प्रमुख शान्ता देवराजनले सीधै जर्जिएभालाई रिपोर्ट गर्नुपथ्र्यो । उनले आफूले काम गर्ने अवधिभर कुनै दबाब महसुस नगरेको बताएका छन् । 
विल्मरहेल रिपोर्ट आफैँमा धेरै हिसाबले रोचक छ ।

सन् २०१९ देखि आइएमएफकी प्रबन्ध निर्देशक पदमा आसीन क्रिस्टालिना जर्जिएभा महामारीको समयको आर्थिक गिरावटसँग जुध्ने सवालमा निकै साहसी बनेकी छन् । यस अवधिमा उनले कोषलाई विश्व जलवायु संकटविरुद्ध काम गर्ने अग्रणी संस्था बनाइन् । अहिले उनलाई कोषबाट हटाउने जुन प्रयास चलिरहेको छ, त्यो अन्यायपूर्ण मात्र होइन, त्यसले कोषको व्यवस्थापनलाई लामो समय असर गर्न सक्छ । 

यसले लेनदेनको संकेत गर्न खोज्दै भनेको छ– बैंकले पुँजी वृद्धि गर्ने प्रयास गरिरहेको वेलामा त्यो उद्देश्य हासिल गर्नका लागि उसले वरीयता सुधार गरिदिने प्रत्याभूति दियो । तर, त्यसवेला चीन पुँजी वृद्धिको सबैभन्दा उत्साही समर्थक थियो । जबकि, डोनाल्ड ट्रम्पको शासनमा रहेको अमेरिकाले यसमा खुट्टा अड्काउने प्रयास गरिरहेको थियो । खासमा बैंकले पुँजी वृद्धि गर्न नै चाहेको भए उसले चीनको वरीयता खस्काउँदाचाहिँ उद्देश्य हासिल हुन्थ्यो । अनुसन्धान रिपोर्टले देवराजनको पूरा बयान किन राखेन भन्ने कुरा स्पष्ट व्याख्या गरेको छैन । जबकि, तत्कालीन समयमा इन्डेक्स प्रकाशित गर्ने सवालमा उनी जर्जिएभाप्रति सीधा जवाफदेही थिए । ‘मैले घन्टौँ लगाएर आफूले जानेको कुरा विश्व बैंकका वकिललाई बताएको थिएँ, तर रिपोर्टमा मैले भनेको आधा कुरा मात्र आएको छ,’ देवराजनले बताए । बरु रिपोर्ट अनुमान तथा संकेतले भरिएको छ ।

मुख्य विवाद विल्मरहेलको रिपोर्ट आफैँमा छ । विशेषतः विश्व बैंकका अध्यक्ष डेभिड मालपास कसरी अनुसन्धानमा निर्दोष ठहराइए भन्नेमा प्रश्न उठ्छ । रिपोर्टमा सन् २०२० को डुइङ बिजनेस इन्डेक्समा साउदी अरबको स्थान माथि बनाउने प्रयासबारे उल्लेख त छ, तर त्यसमा बैंकका पदाधिकारीको कुनै दोष नभएको निष्कर्ष निकालिएको छ । साउदी अरबले जमाल खसोगीको हत्या गरेर अंगभंग गरेको अर्को वर्ष विश्व बैंकका अध्यक्ष मालपास साउदी अरब गएका थिए । त्यहाँ उनले डुइङ रिपोर्टमा आएको सुधारको प्रशंसा गरेका थिए । सौभाग्यवश, खोज पत्रकारिताले अध्यक्ष मालपासका थप खराब व्यवहार खुलासा गरेका छन् । ब्लुमबर्गमा छापिएको एक खबरअनुसार मालपासले चीनको वरीयता घटाउनका लागि डुइङ बिजनेसको वरीयता निकाल्ने विधि नै बदल्ने प्रयाससमेत गर्न खोजेका थिए । 

विल्मरहेल रिपोर्ट खासमा मानहानिको प्रयास नै हो । तर, यसपछाडिको उद्देश्य के छ त ? जर्जिएभाको नेतृत्वमा अन्तर्राष्ट्रिय मुद्रा कोषले जुन प्रगतिशील दिशा लिइरहेको छ, त्यसबाट धेरै असन्तुष्ट छन् । तिनको विचारमा कोषले जलवायु परिवर्तन सम्बन्धमा चासो लिन हुँदैन । अरु पनि छन्, जसलाई कोषको खर्च कटौती गर्ने, गरिबी तथा विकासमा जोड दिने र बजारको सीमितताबारे सचेत हुने काम मन परिरहेको छैन । वित्तीय बजारका कैयौँ खेलाडी अन्तर्राष्ट्रिय मुद्रा कोष ऋण तिराउने सवालमा पर्याप्त कठोर नभएकोमा बेखुस छन् । मेरो पुस्तक ‘ग्लोबलाइजेसन एन्ड डिसकन्टेन्ट’ पुस्तकमा मैले कोषको ऋण बलजफ्ती तिराउने प्रयासको विरोध गरेको छु । 

अर्जेन्टिनामा सन् २०२० मा सुरु भएको ऋण पुनर्संरचना कार्यक्रममा कोषले एउटा मुलुकले कति ऋण थेग्न सक्छ भन्ने स्पष्ट पार्‍यो । धेरै निजी ऋणदाता ऋण लिएका मुलुकले तिनले सक्नेभन्दा धेरै तिरोस् भन्ने चाहन्छन्, तर कोषले लिएको नयाँ बाटोले बार्गेनिङ ढाँचा नै बदलिएको छ । त्यसबाहेक पनि अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकबीच लामो संस्थागत प्रतिद्वन्द्विता छ । यो प्रतिद्वन्द्विता हालै समृद्ध अर्थतन्त्रले विपन्न मुलुकलाई जारी गरेको ‘स्पेसल ड्रइङ राइट’लाई ‘रिसाइकल गर्ने’ नयाँ प्रस्तावित कोष कसले व्यवस्थापन गर्ने भन्ने विवादले तातेको छ । 

विश्व बैंकका अध्यक्ष मालपासले लिएको अमेरिकी राजनीतिको एकलकाँटे प्रवृत्तिले थप समस्या सिर्जना गरेको छ । विगतमा डोनाल्ड ट्रम्पले नियुक्त गरेका मालपास, जो बाइडेनको प्रशासनलाई जसरी पनि अप्ठ्यारो पार्न उद्यत् देखिन्छन् । राजनीतिक चलखेल र कर्मचारीतन्त्रबीचको प्रतिद्वन्द्विता विश्वले सामना गरिरहेको महामारी र गिर्दो अर्थतन्त्रको समयमा प्रत्युत्पादक ठहर्छ । किनकि, यी विपद्का कारण धेरै मुलुक ऋणको संकट सामना गर्न थालेका छन् । त्यसैले विगतमा भन्दा धेरै विश्वलाई अन्तर्राष्ट्रिय मुद्रा कोषमा जर्जिएभा हुँदा फाइदा छ ।

अर्थशास्त्र विधाका नोवेल पुरस्कार विजेता तथा विश्व बैंकका पूर्वप्रमुख अर्थशास्त्री (सन् १९९७–२०००) जोसेफ ई. स्टिग्लिज कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन् । सन् १९९५ को आइपिसी जलवायु रिपोर्टका प्रमुख लेखक हाल अन्तर्राष्ट्रिय कर्पोरेट कर–व्यवस्था सुधारका लागि गठित स्वतन्त्र आयोगका सदस्य हुन् । 

सुझावित समाचार