शरणार्थीहरूको युगमा शिक्षा

सोमबार, २५ असोज, २०७८
डिजिटल संस्करण

शरणार्थीलाई समेट्ने छात्रवृत्ति कार्यक्रमले फुलब्राइट स्कलरसिप वा मार्सल कार्यक्रमले भन्दा धेरै उपलब्धि दिन सक्छ


अहिले ठूलो संख्यामा अफगानी नागरिक देश छाडेर शरणार्थी भइरहेका छन् । विभिन्न तथ्यांकअनुसार हालसम्म झन्डै २६ लाखले अफगानिस्तान छाडिसकेका छन् । विकराल शरणार्थी समस्या भोग्ने अफगानिस्तान एक्लो मुलुक होइन । विश्वभर शरणार्थी र बलपूर्वक विस्थापित मानिसको संख्या जोड्ने हो भने त्यो झन्डै आठ करोड २४ लाख पुगिसकेको छ । यदि सबै विस्थापित मानिसलाई एउटा राज्यमा समेटिन्थ्यो भने त्यो विश्वको २०औँ धेरै जनसंख्या भएको मुलुक हुने थियो । 

राजनीतिक द्वन्द्वका कारण शरणार्थी हुने अहिलेको ट्रेन्ड अझै कायम रहनेछ र जलवायु परिवर्तनले स्थितिलाई थप विकराल बनाउनेछ । यो शताब्दीको मध्यसम्ममा शरणार्थी र विस्थापित मानिसको संख्या दोब्बर भएर ब्राजिलको वा जर्मनी, इटाली, बेलायत र फ्रान्सको जनसंख्या जोडेर आउने योगबराबर हुनेछ । विस्थापितहरूको आजको संख्या मानव इतिहासको सबैभन्दा उच्च हो । समुद्रको सतह बढिरहँदा समुद्री तटमा रहेका धेरै मानिस विस्थापित हुने सम्भावना पनि बढ्दै गएको छ । केही विश्लेषकले जलवायु परिवर्तनको कारणले समेत संसारमा विस्थापितको संख्या एक अर्बमाथि जान सक्ने बताएका छन् । 

कोरोना भाइरसले महामारी फैलाउनुअघि नै धेरै मानिस द्वन्द्व र जातीय तथा धार्मिक घृणाका कारणले विस्थापित हुन्थे । आममानिसले तिनको पीडालाई बेवास्ता गर्नुले पनि यो स्थिति आउन सघाएको छ । शरणार्थीका लागि बनाइने ‘क्याम्प’ स्थायी बस्तीका रूपमा विकास हुन थालेका छन् । अधिकांश शरणार्थीले तिनको क्याम्पमा औसतमा २० वर्षभन्दा बढी समय बिताउँछन् र कैयौँको भविष्य तब पनि स्पष्ट भइसकेको हुँदैन । दुःखको कुरा, यो विकराल अवस्थाबाट पीडित युवापुस्ताको शिक्षा र रोजगारीमाथि न्यून पहुँच रहेको छ । यसबाट कति धेरै प्रतिभा गुम्ला र कति क्षमता उपयोगमै नआउला भन्ने कल्पना गर्दा पनि अत्यास लाग्छ । 

आजका विस्थापित युवाहरूबाट कोही भविष्यका अल्बर्ट आइन्सटाइन, जेस्य नोर्मन, जेके रोलिङ र टिम बर्नर–ली हुन सक्छन् । तिनको क्षमताको उचित प्रयोग भयो भने विश्व अहिलेभन्दा थप समृद्ध र सुरक्षित स्थान बन्नेछ । तर, सिरिया वा अफगानिस्तानको द्वन्द्वग्रस्त सहरमा फसेका युवालाई तिनको प्रतिभा देखाउन अवसर मिल्ला त ? अथवा, यमन, चाड, सेन्ट्रल अफ्रिकन रिपब्लिक, क्यामरुन वा लिबियाका द्वन्द्वमा फसेका बालबालिकाले त्यो अवसर कसरी पाउलान् ? वा, युगान्डाको सिमानामा रहेका दक्षिण सुडानी शरणार्थीकहाँ त्यस्तो अवसर नै कहाँबाट पुग्ला ? 

शरणार्थीहरूको समस्या यति सर्वव्यापी छ कि सम्पन्न युरोपस्थित मोरिया क्याम्पका हजारौँ युवा शरणार्थीले पनि औपचारिक शिक्षा पाउन सकेका थिएनन् । सन् २०२० मा जलाइएको ग्रिकस्थित सो क्याम्प एक प्रतिनिधि उदाहरण मात्र हो । दुई वसन्तअघि मोरिया क्याम्पमा बसोवास गरिरहेका तीन किशोरकिशोरीले अत्यधिक निराशामा परेर आत्महत्या गर्ने प्रयास गरेका थिए । आत्महत्या प्रयास गर्नेहरू १२, १३ र १४ वर्षका थिए । 

यो शताब्दीको मध्यसम्म विस्थापित मानिसको संख्या दोब्बर हुँदै छ । शरणार्थी शिविरमा रहेका धेरै बालबालिका तथा युवा शिक्षाबाट छुट्दै छन् । उनीहरूलाई आशा तथा अवसर सिर्जना गर्ने कार्यक्रममार्फत समेट्न सकियो भने मानवअधिकार, समानता तथा शान्ति र स्थायित्वको संवद्र्धन हुनेछ । 

निश्चित रूपमा शरणार्थी बोकेको डुंगा पल्टिँदा अथवा भोका मानिससम्म खाना नपुग्दा वा कोभिड–१९ जस्तो संक्रमणबाट ग्रसित बिरामी हेर्न अस्पतालमा डाक्टर नहुँदा आशा निराशामा बदलिन्छ । त्यसैगरी, बालबालिका भविष्यप्रति सकारात्मक हुन नसक्ने स्थितिमा अथवा आफूले बाँचिरहेको भन्दा फरक भविष्यको कल्पना गर्न अक्षम हुँदा पनि आशा मर्ने गर्छ । सबै बालबालिका शिक्षाको पहुँचमा नहुँदासम्म यस्तो अवस्था आउँछ । किनकि, शिक्षाले आज बाँचिरहेको अवस्था र आफूले बन्न सक्ने क्षमताबीचको खाडलमा पुलको काम गर्छ । 

वर्तमान शरणार्थी संकटको कुनै एकल समाधान छैन । तर, अराजकता र अव्यवस्थाबीच आज कुनै स्थायी र सघाउपूर्ण वातावरणको अभाव सामना गरिरहेका बालबालिकाको जीवन बदल्ने शैक्षिक अवसर प्रदान गर्ने प्रयास भइरहेको छ । विद्यालय जाने उमेरका शरणार्थी बालबालिका तथा किशोरकिशोरीहरूलाई लक्षित गरेर सन् २०१६ मा ‘एजुकेसन क्यानट वेइट’ नामक संयुक्त राष्ट्रसंघीय कोष सार्वजनिक गरियो । यो अग्रसरताले विश्वको सबैभन्दा गम्भीर मानवीय संकटमा बाँचिरहेका झन्डै ४६ लाख बालबालिकालाई सहयोग दिँदै आएको छ । त्यसका अतिरिक्त कोषले थप लाखौँलाई सहयोग पु¥याउने सहायता एजेन्सीलाई प्रेरकको काम गरिरहेको छ । 

विश्वविद्यालय जाने उमेरसमूहका शरणार्थी विद्यार्थीहरूलाई इन्स्टिच्युट अफ इन्टरनेसलन एजुकेसनले सञ्चालन गर्ने अनलाइन माध्यमको ‘आपत्कालीन स्थितिमा शिक्षाको प्ल्याटफर्म’ सघाइरहेको छ । त्यसले ती विद्यार्थीलाई औपचारिक तथा अनौपचारिक उच्च शिक्षाको अवसर दिएको छ । शरणार्थी विद्यार्थीलाई सघाउने संस्थामा युनिभर्सिटी अफ द पिपुल नामक निःशुल्क अनलाइन विश्विद्यालय पनि थपिएको छ । सन् २०१४ मा स्वीकृति पाएको यो विश्वविद्यालयको १,०६,००० विद्यार्थीमध्ये ७,००० शरणार्थी छन् । यो विश्वविद्यालयले संयुक्त राष्ट्रसंघसँग सन् २०३० सम्म २५,००० शरणार्थी विद्यार्थीलाई लिने वाचा गरेको छ । हामीले यस्तै अवसर शरणार्थी र विस्थापित विद्यार्थीका लागि स्नातकोत्तर तहको अध्ययनमा पनि सिर्जना गर्नुपर्छ । आजको दिनमा व्यक्तिगत प्रतिभा खोजेर विकास गर्ने काममा संलग्न फुलब्राइट स्कलरसिप वा मार्सल कार्यक्रमबराबरको कार्यक्रम निर्माण गर्नुपर्छ । शरणार्थीलाई समेट्ने छात्रवृत्ति कार्यक्रमले उल्लेखित कार्यक्रमले भन्दा धेरै उपलब्धि दिन सक्छ । 

‘हार्कनेस फेलोसिप्स’ले स्वास्थ्य नीति अध्येता तथा अभ्यासकर्ताबीच अन्तर्राष्ट्रिय सहकार्य निर्माण गरेको छ । ‘केनेडी स्कलरसिप्स’ले आन्द्र महासागरका दुई किनारमा रहेको अमेरिकी र युरोपका भावी नेतृत्वलाई थप नजिक ल्याउने काम गर्छ । ‘स्वार्जम्यान स्कलसर्’ले चीन र बाँकी विश्वबीचको सम्बन्ध थप प्रगाढ बनाउने सञ्जाल विकास गरिरहेको छ । ‘मन्डेला रोडर्स स्कलरसिप’ले अफ्रिकी युवायुवतीलाई थप कल्पनाशील नेतृत्व बन्न सघाउँछ । भविष्यमा तिनले अफ्रिका महादेशलाई परिवर्तन गरून् र समानता, स्वतन्त्रता र मानवअधिकारलाई प्रवद्र्धन गरून् भन्ने यसको उद्देश्य छ । पछाडि परेका युवा तथा बालबालिकालाई आशा तथा अवसर दिनु ती मूल्यलाई प्रवद्र्धन गर्ने शक्तिशाली माध्यम हो । आशा तथा अवसर शान्ति, स्थायित्व तथा शरणार्थी संकटलाई स्थायी रूपमा परिवर्तन वा समाधान गर्ने क्षमता हुन्छ । 

उन्नत शिक्षाको पहुँच दिएमा सबैभन्दा अभावग्रस्त समुदायमाझमा पनि क्षमतायुक्त युवा नेतृत्व निर्माण गर्न सकिन्छ भन्ने हामीलाई थाहा छ । नयाँ प्रतिस्पर्धात्मक कार्यक्रमले शरणार्थी तथा विस्थापित विद्यार्थीलाई तिनले शरण लिएको देश अथवा संसारको जुनसुकै भागमा दुईवर्षे स्नातकोत्तर तहमा छात्रवृत्ति दिलाउनुपर्छ । यदि यो अग्रसरताले पर्याप्त अनुदान पायो भने यसले अन्य सम्मानित तथा उच्च प्रभावकारी छात्रवृत्ति कार्यक्रमझैँ चर्चा पाउनेछ । समयक्रममा यसले हजारौँ युवालाई तिनको सपना साकार बनाउन सघाउनेछ । 

सुझावित समाचार