हराएको ५२ वर्षपछि पारिवारिक पुनर्मिलन

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

५२ वर्षअघि युवा अवस्थामा घरबाट निस्किएका बेनी नगरपालिका–४ थामडाँडाका गंगाबहादुर गुरुङलाई आफन्तले जीवितै भेटिने आस राखेका थिएनन् । घरबाट हराएपछि तत्कालीन समयमा थाहा पाएसम्मको ठाउँमा खोजी गरेर थाकेपछि परिवारले उनको आस नै मारेको थियो । तर, घर छाडेर हराएको ५२ वर्षपछि गुरुङ भेटिएका छन् । ७५ वर्षको उमेर पार गर्दै गर्दा उनको पारिवारिक पुनर्मिलनसमेत भएको छ । 

००३ मा जन्मिएका उनी ०२३ मा घरपरिवारको सम्पर्कबाट हराएका थिए । सडक खन्ने काम गर्दागर्दै हराएको करिब चार वर्षपछि उनी कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेका थिए । स्थानीय युवा पूर्णनन्द पाण्डेले सामाजिक सञ्जालमा गुरुङको तस्बिरसहित बागलुङ, बेनी, तातोपानीको नाम लिने उनी आफ्नो पुख्र्यौली थलो फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो । 

रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । सो क्रममा थामडाँडाबाट वर्षौंदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबीच टेलिफोनमा संवाद गराएर यकिन गरिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति लेखबहादुर हमालले बताए । आफन्तले झन्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उनले जवाफ फर्काए यकिन भएको हमालले बताए ।

माइलो बुबालाई घर ल्याउन पाउँदा शेरबहादुर दंग

कैलालीमा स्थानीय एक व्यक्तिको सहारामा एक्लै बसोबास गर्दै आएका गुरुङ थामडाँडाका बलवीर गुरुङका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उनका भाइका परिवारसँग मंगलबार पुनर्मिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विष्णु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलालीमै पुगेर आफ्ना माइलो बुबालाई आफ्नो घरमा ल्याएका छन् ।

रेडक्रस म्याग्दीको कार्यालयमा औपचारिक रूपमा गुरुङको पारिवारिक पुनर्मिलन गराइएको थियो । ‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ, घरबाट हराएर दूरदराजमा पुगे पनि बुढेसकालमा गुरुङले आफ्नो जन्मघर र आफन्तलाई पाउनु उपलब्धिमूलक हो,’ हमालले भने । उनका अनुसार बेनीदेखि कैलालीसम्म पुगेर गुरुङको उद्धारका लागि आवश्यक यातायातको सबै खर्च रेडक्रसले व्यहोरेको छ । 

सुझावित समाचार