नयाँ प्रतिनिधिका रूपमा वडा र नगरस्तरीय अधिवेशनबाट भर्खरका युवापुस्ता नेतृत्व तहमा आउनुले कांग्रेसमा नयाँ ऊर्जा थपेको छ
नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्रको हिमायती र लोकतन्त्रमा विश्वास राख्ने सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेसमा १४औँ महाधिवेशनका चरण प्रारम्भ भएसँगै केही महŒवपूर्ण रूपान्तरणका पूर्वसंकेत देखिएका छन् । कांग्रेस समयानुकूल राजनीतिक पार्टीका रूपमा भन्दा पनि परम्परावादी सोचमा अल्झेको भन्ने आरोपमाझ यस महाधिवेशनको पूर्वसन्ध्यामा संघीय संरचनाअनुरूपको सांगठनिक संरचना, नीतिगत बहस, आर्थिक–सामाजिक, राजनीतिक रूपान्तरणका आधारपत्र र पार्टीका विभिन्न पदमा युवाको उम्मेदवारी घोषणा, युवाको उत्साहजनक प्रतिनिधित्व र भिजनरी युवा नेतृत्वको खोजले कांग्रेसलाई पुनर्ताजगीकरण गर्ने अनुमान गरिँदै छ ।
कांग्रेसमा निकै सकसपूर्ण अवस्थामा रहेको समयानुकूल पुस्तान्तरणको विषयले अहिले व्यापक बहस सिर्जना गरेको छ । यसै सन्दर्भमा पछिल्लो समय युवापुस्ता नै अगाडि सरेर कांग्रेसमा हस्तक्षेपकारी भूमिकामा उभिनुले सकारात्मक तरंग ल्याएको छ । सम्मानजनक रूपमा नेतृत्वको दाबी गरिरहेका क्षमतावान् युवा नेताको पहलले पार्टीमा नयाँ युगको उदय हुन सक्छ । यही सन्दर्भमा नेपालको राजनीतिक सुदृढीकरण र समयानुकूल रूपान्तरणका लागि कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा देखिएका परिवर्तनले अन्य पार्टीलाई पनि समयानुकूल परिवर्तित मार्गमा रूपान्तरित हुन प्रतिस्पर्धात्मक चुनौती प्रस्तुत गर्न सक्छ । त्यसका लागि कांग्रेसमा ठूलै संघर्षपूर्ण चुनौती भने देखिन्छन् ।
कांग्रेसभित्रै रहेका अन्तरविरोध, गुटगत संरचना र गतिविधिले पार्टी कहिल्यै बलियो हुन सक्दैन । स्कुल अफ डेमोक्रेसीका अनुसार ‘संसदीय लोकतान्त्रिक शासन व्यवस्थामा पार्टी बलिया हुन सकेनन् भने सरकार र सदन बलिया हुन सक्दैनन् । सरकार र सदन नै कमजोर भए भने स्वभावतः नागरिकले अपेक्षा गरेअनुरूप शासकीय ‘डेलिभरी’ पनि हुन सक्दैन ।’ यही आधारमा विश्लेषण गर्दा समग्र मुलुकको रूपान्तरणका लागि आगामी दिनमा कांग्रेस व्यापक रूपमा केन्द्र, प्रदेश र स्थानीय तहसम्मै रूपान्तरण हुनु जरुरी देखिन्छ । त्यसैका लागि १४औँ महाधिवेशन रूपान्तरित कांग्रेसको पूर्वसंकेत हो भन्नेहरूको पनि कमी छैन यहाँ ।
ऐतिहासिक रूपान्तरण
राजनीतिमा लामो समय सत्ताको नेतृत्व गरेको कांग्रेसको पोल्टामा जस र अपजसका भारी उस्तै–उस्तै छन् । कांग्रेसको नेतृत्वमा समयानुकूल रूपान्तरणसँगै समग्र मुलुकको व्यवस्था परिवर्तन भएका उदाहरण प्रशस्तै छन् । प्रजातन्त्रका प्रणेता बिपी कोइरालाले ००७ सालमा प्रजातन्त्र स्थापनाका निम्ति खेलेको भूमिकाले शक्तिशाली एकात्मक राणा शासनलाई परास्त गरी प्रजातान्त्रिक शासन व्यवस्थाको मार्गनिर्देश गर्न समग्र रूपमा कांग्रेस नेतृत्व नै सफल भयो । बिपीकै प्रभावशाली भूमिकाले नागरिकको राजनीतिक अधिकार उनीहरूमै फिर्ता गर्नुका साथै राजनीतिलाई लयबद्ध गर्न सफलता प्राप्त भयो । निर्वाचनमार्फत जनताको नेतृत्वदायी सरकार गठन गरिनु, राणाका पारिवारिक विरासतबाट शासन व्यवस्था नागरिकको हातमा पुग्नु ऐतिहासिक परिवर्तन हुन् ।
समयक्रमअनुसार असंगठित र कमजोर राजनीतिक पार्टीहरूबीच शक्तिशाली राजसंस्थाको टकरावले मुलुकलाई फेरि ३० वर्षसम्म राजनीतिक अधिकार खोसिएको अँध्यारो पञ्चायती व्यवस्थातिर धकेलिदियो । शक्तिशाली राजा महेन्द्रले राजनीतिक अधिकार कुण्ठित गर्दै लागू गरेको पञ्चायती व्यवस्था हटाउनुमा पनि कांग्रेस नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतको भूमिका स्तुत्य छ । उनीहरूकै अगुवाइमा भएको पहिलो जनआन्दोलनले पञ्चायती व्यवस्थालाई रूपान्तरण गरी बहुदलीय राजनीतिक व्यवस्थालाई अगाडि बढाएको थियो । सोही राजनीतिक रूपान्तरणले सामाजिक र आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका पनि खेलेको थियो ।
बहुदलीय व्यवस्थाको उदयसँगै ०५२ सालपछिको संक्रमणकालीन राजनीति, अशान्तिपूर्ण वातावरण, जनयुद्ध र असुरक्षाको अवस्थामा पनि शान्ति प्रक्रियालाई अगाडि बढाउँदै बलियो राजसंस्थालाई विस्थापित गरी जनअधिकारसहितको लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्नु पनि आमनागरिकको भावनाअनुसार नै कांग्रेसको युगान्तकारी रूपान्तरणका रूपमा लिन सकिन्छ । ०६२/६३ को जनआन्दोलनमा कांग्रेसको नेतृत्वदायी भूमिकामा गिरिजाप्रसाद कोइरालाको निडर नेतृत्वले मुलुकलाई हतियार र युद्धको आततायी अवस्थाबाट सुरक्षित रूपमा रूपान्तरण गर्दै शान्ति प्रक्रियादेखि नागरिकका जनप्रतिनिधिमार्फत संविधानसभाबाट संविधान निर्माण गर्ने अवसरसम्म पुर्यायो ।
संविधान निर्माणमा सुशील कोइरालाको नेतृत्वदायी भूमिका, त्यसपश्चात् संविधान कार्यान्वयनका लागि संघीय संरचनासहितको पहिलो निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न हुनुलाई पनि गौरवपूर्ण राजनीतिक जिम्मेवारीका रूपमा लिन्छन्, कांग्रेसजन । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशीकरणजस्ता नागरिकका अपेक्षालाई समयानुकूल आत्मसात् गर्दै कांग्रेसले आफ्नो रूपान्तरित चरित्र वेला–वेला प्रस्तुत गरिरहेको छ ।
समयानुकूल कांगे्रसको सफल नेतृत्वदायी भूमिका र अर्कातर्फ कम्युनिस्ट पार्टीहरूमा देखिएको राजनीतिक विचलन र विग्रहले अब फेरि संविधान कार्यान्वयन, नागरिकका मागअनुरूपका विकास, नीति निर्माण र सुशासनको जिम्मेवारी कांग्रेसकै काँधमा आइपर्ने संकेत देखिन्छन् । तर, यो महŒवपूर्ण जिम्मेवारी लिन कांग्रेस आफूचाहिँ कति तयार छ ?
युवापुस्तामा आकर्षण
कांग्रेसको १४औँ महाधिवेशनमा वडास्तरीय अधिवेशनले युवापुस्तामा पार्टीप्रतिको आकर्षण ह्वात्तै बढेको देखिन्छ । पछिल्लो समय क्रियाशील सदस्यतामा युवाको उत्साहजनक सहभागिताले कांग्रेसलाई युवामय बनाएको छ । कांग्रेसको १३औँ महाधिवेशनमा क्रियाशील सदस्य चार लाख ७० हजार थिए भने अहिले यो संख्या नौ लाखभन्दा बढी पुगिसकेको छ । जसमा १६ देखि ४० वर्ष उमेरसमूहका ४० प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधि र वडाहरूमा नेतृत्व चयन भएका छन् । त्यसमा पनि अधिकांश युवा १८ देखि २५ वर्ष उमेरसमूहअन्तर्गतका छन् । कांग्रेसका नौ लाख कार्यकर्ताको भावनाअनुसार चल्ने र आमनागरिकलाई परिवर्तनको अनुभूति गराउन सक्ने भिजनरी नेतृत्व आउनुपर्ने अहिलेका युवाको माग छ ।
नयाँ प्रतिनिधिका रूपमा वडा र नगरस्तरीय अधिवेशनबाट भर्खरका युवापुस्ता नेतृत्व तहमा आउनुले कांग्रेसमा नयाँ ऊर्जा थपेको छ । तर, यो पनि पर्याप्त र समयानुकूल भने होइन । पत्रकार जगत नेपालका अनुसार ‘युवाको सहभागिता र आकर्षणभन्दा पनि पार्टीका लागि ती युवालाई स्वतन्त्र रूपमा प्रशिक्षित गरी सक्षम र सबल नेतृत्व निर्माण गर्ने सन्दर्भमा पार्टीले ध्यान दिनु आवश्यक छ ।’ विद्यार्थी राजनीतिबाट उठेका युवा नेताहरू धमाधम वडादेखि क्षेत्रीय प्रतिनिधिसम्मको चयनले माथिल्ला पदमा पनि उनीहरूको दाबी र समर्थन युवामैत्री हुने प्रशस्त आधार देखिन्छन् । तर, परम्परागत पार्टीको गुट र सिन्डिकेट छिचोलेर बाहिरबाट नेतृत्वमा उदाउन कांग्रेसमा ठूलो संघर्ष गर्नुपर्ने अवस्था रहेको कांग्रेस युवा नेता प्रदीप पौडेल स्वीकार गर्छन् ।
कांग्रेसको शीर्ष नेतृत्वमा युवा हस्तक्षेप सफल हुन नसके पनि कार्यकारिणी पदमा निकै आशा गरिएका तेस्रो पुस्ताका युवा नेताहरूको उम्मेदवारी घोषणाले पनि कांग्रेसमा छुट्टै तरंग ल्याएको छ
००७ सालको क्रान्ति सम्पन्न गर्दा बिपी कोइराला ३६ वर्षका मात्रै थिए, उनी ३७ वर्षमा मुलुकको गृहमन्त्री भए । ००९ सालमा भएको पाँचौँ महाधिवेशनमा बिपी कोइराला सभापतिमा निर्वाचित हुँदा ३८ वर्ष पुगेका थिए । तिनै बिपी ४५ वर्षको उमेरमा ०१६ जेठ १३ मा दुईतिहाइ जनमतसाथ पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । बिपीजस्ता युवा नेताले जन्माएको कांग्रेसलाई दुईतिहाइ जनमतमा पु¥याउन उनका समवयी नेता नै सक्रिय थिए । सन्त नेता कृष्णप्रसाद भट्टराई ३५ वर्षको उमेरमै पहिलो सभामुख भएको इतिहास छ ।
वर्तमान पार्टी सभापति शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा ४८ वर्षका थिए । हाल कांग्रेसमा ७५ वर्ष नाघेका शेरबहादुर देउवा र रामचन्द्र पौडेल सभापतिको नेतृत्व दाबी गरिरहेका छन् । यीबाहेक गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइरालालगायत सभापतिमा दाबी गर्नेहरू पनि ७० वर्षमाथि या आसपासकै छन् । सभापति नै दाबी गरिरहेका नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहले पनि ६५ वर्ष पार गरिसकेका छन् । यसले भने तलका तहमा युवाको आकर्षण देखिए पनि पाका पुस्ताका नेताहरूलाई हटाएर पार्टी नेतृत्वमा आउन अहिले नै युवाका लागि चुनौतीका चाङ प्रशस्त देखिन्छन् ।
कांग्रेसको शीर्ष नेतृत्वमा युवा हस्तक्षेप सफल हुन नसके पनि कार्यकारिणी पदमा निकै आशा गरिएका तेस्रो पुस्ताका नेताहरूको उम्मेदवारी घोषणाले पनि कांग्रेसमा छुट्टै तरंग ल्याएको छ । कांग्रेसको महामन्त्रीमा क्षमतावान् र लोकप्रिय नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङलगायतको उम्मेदवारी घोषणाले आगामी समयमा अवश्य पनि कांग्रेसमा पुस्तान्तरण हुने पूर्वसंकेत देखिन्छ । स्थानीय तहमा युवापुस्ताको बढ्दो आकर्षण र पार्टीका शीर्ष पदमा क्षमतावान् र भिजनरी पुस्ता पुग्दा कांग्रेसमा पुनर्ताजगीकरण हुने अनुमान राजनीतिक विश्लेषक पुरञ्जन शर्माले गरेका छन् ।
एजेन्डामुखी बहस
अबको कांग्रेस कस्तो हुनुपर्छ भन्ने विषयमा कांग्रेसमा पछिल्लो समय समयानुकूल एजेन्डा, विचार, नीति र नेतृत्वका क्षमताबारे पनि व्यापक बहस हुन थालेको देखिन्छ । कांग्रेसको नीति अध्ययन अनुसन्धान विभागमार्फत जनकेन्द्रित नीतिमाथिको बहस र कार्यकर्ताको प्रशिक्षणले क्षमता र पर्फमेन्सलाई जोड दिएको छ । युवा र महिला सशक्तीकरणमा जोड दिनु, दलित, महिला, जनजाति, मधेसीसमेतको सीमान्तकृत समुदायको सम्मानजनक सहभागिताले भने उनीहरू राजनीतिमा प्रोत्साहित हुने संकेत देखिन्छ । राजनीतिक परिवर्तनका लागि वेला–वेलामा नेतृत्वदायी संघर्ष गरेको कांग्रेसले नागरिकका समयानुकूल मौलिक हक र मानवअधिकार प्रत्याभूतिका लागि जरादेखि नै रूपान्तरणको खाका तयार पार्नु अत्यावश्यक छ ।
संविधानका प्रावधान र मर्मअनुरूप पार्टीलाई समयानुकूल गर्नु पनि कांग्रेसको महत्वपूर्ण रूपान्तरणको भूमिका मान्न सकिन्छ । संघीयताअनुसार स्थानीय, प्रदेश र केन्द्रीय सांगठनिक पुनर्संरचनामा पार्टीलाई लैजानु र सोहीअनुरूप अभ्यासमा जानुले पार्टीमा नयाँ ऊर्जा थप्न सक्छ । त्यस्तै, कांग्रेसले अहिलेसम्म अंगीकार नगरेको समावेशिता र समानताका आधारमा पार्टी प्रतिनिधित्वमा जोड दिनु पनि राजनीतिको मूल प्रवाहीकरणबाट वञ्चित कार्यकर्तालाई फेरि जोडेर अगाडि बढाउन सक्ने संकेत देखिन्छ । पार्टी विधानमै समावेशिताको संख्या किटानी गरिएकाले अब त्यसको सकारात्मक प्रभाव आगामी दिनमा देखिन सक्छ ।
राजनीतिशास्त्रका प्रोफेसर कृष्ण खनालका विचारमा ‘सामाजिक आर्थिक रूपान्तरणका लागि राजनीतिक रूपान्तरण अत्यावश्यक छ । जसका लागि कांग्रेसको नीतिगत विचार, विमर्श र भावी कार्ययोजनामा देखिएका केही पूर्वसंकेत आशालाग्दा छन् । कांग्रेसजनमा रोकिएको विचार मन्थन, संगठन विस्तार र कार्यकर्ता प्रशिक्षणले पुराना मान्छेको बहिर्गमन र नयाँ कार्यकर्ताको आगमनले एजेन्डा, विचार र क्षमताका दृष्टिले पार्टी यथास्थितिवादबाट गतिशीलतातिर जान सक्ने सैद्धान्तिक र व्यावहारिक आधार देखिन्छन् । तर, यथास्थितिवादी सोचमा सुधार गरी विधान कार्यान्वयन र संगठनको गतिशीलता कसरी अघि बढ्न सक्छ भन्ने प्रश्न भने यथावत् कायमै छ ।
यसर्थ, कांग्रेस समयानुकूल रूपान्तरण भएकै हो त भन्ने प्रश्नहरूको सामना गर्दै तदनुकूल सकारात्मक जवाफ दिनु आमकांग्रेसजनको साझा दायित्व हो । जसले तलका तहदेखि शीर्ष तहसम्म निर्वाह गर्ने भूमिका र देखाउने व्यवहारका साथै पार्टीको मूल नीति र अनुशासन अंगीकार गर्नु रूपान्तरित कांग्रेसका चुनौती हुन् । १४औँ महाधिवेशनबाट कांग्रेसले यस्ता चुनौती पार लगाउन सक्नुपर्छ । यथास्थितिवादबाट रूपान्तरणतिरको मार्गमा हिँड्न कदम–कदममा निर्वाचित पदाधिारीको भूमिका महŒवपूर्ण हुन सक्छ । अबको बदलिँदो कांग्रेस निर्माणका लागि युवाको आकर्षण, नीतिगत बहस र सक्षम नेतृत्वको चयनले सबैतिर उमंग र उत्सुकतालाई सार्थक परिणामतर्फ लैजान सक्नुपर्छ । यही सन्दर्भमा युवा नेताले आफ्नो उद्देश्य र कार्यक्रम स्पष्ट गर्दै लैजानुका साथै नेतृत्वदायी हस्तक्षेप गर्नु आजको आवश्यकता हो । लोकतान्त्रिक पार्टीलाई गतिशील बनाउँदै यथास्थितिबाट रूपान्तरण गर्ने अभिभारा समकालीन युवापुस्ताका नेताको काँधमा छ । त्यसका लागि ठोस योजना, दृष्टिकोण र कार्यक्रमको स्पष्टता यही महाधिवेशनबाटै तय हुनु अनिवार्य छ ।