विराटनगर वारियर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटको आफ्नो अन्तिम खेलमा पहिलो जित दर्ता गराएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगरले काठमाडौं किङ्स–११ लाई सात रनले पराजित गर्दै इपिएलमा सान्त्वना जित दर्ता गराएको हो।
विराटनगरले दिएको एक सय पाँच रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ८ ओभरमा तीन विकेट गुमाएर ९७ रनको योगफल बनायो। काठमाडौंका रहमानुल्हा गुर्बाजले सर्वाधिक २८ रन बनाए भने सुवास खकुरेलले २६, राजु रिजालले २४ र रायन बुर्लले १५ रन बनाए । बलिङतर्फ विराटनगरका रायन पठानले दुई र प्रतिश जिसीले एक विकेट लिए।
वर्षाका कारण आठ ओभरमा छोट्याइएको खेलमा काठमाडौंविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले पाँच विकेट गुमाएर एक सय पाँच रनको लक्ष्य दिएको थियो। विराटनगरको जितमा अनिल साहले १६ बलमा अविजित रहँदै सर्वाधिक ४५ रनको योगदान गरे। त्यस्तै, रायन पठानले ३० रन जोडे भने कप्तान करण केसीले १५ रनको योगदान गरे। सौरभ खनाल पाँच रनमा अविजित रहँदा, सिकन्दर राजा ४, आशिफ शेख २ र दिलशान मुनाविरा एक रनमा आउट भए।
बलिङतर्फ काठमाडौंका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले एक–एक विकेट लिए। विराटनगरले पाँच खेलबाट २ अंक जोडेको छ। अघिल्लो चार खेल गुमाएको विराटनगर अंकतालिकाको पुछारमा रह्यो। काठमाडौं तीन खेलबाट २ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ। रासस