जर्मनीमा ओलाफ सोल्जले कसरी नसोचेको जित हासिल गरे ?

एसपिडीले अघि सारेको ‘सम्मान’युक्त चुनावी नाराले साम्यवादको पतन र जर्मन एकीकरणदेखि आत्मसम्मानमा चोट महसुस गरेका जर्मनहरूलाई आकर्षित गर्‍यो

बिहिबार, १४ असोज, २०७८
डिजिटल संस्करण

ओलाफ सोल्जको नेतृत्वमा रहेको सोसल डेमोक्रेट्स (एसपिडी)ले जर्मनीमा सम्पन्न संघीय निर्वाचनमा २५.७ प्रतिशत मत ल्याएर अग्रस्थान हासिल गरेको छ । १६ वर्षदेखि निरन्तर जर्मनीमा शासन गर्दै आएकी चान्सलर एन्जेला मर्केलको क्रिस्चियन डेमोक्रेटिक पार्टी (सिडियू) र पार्टीको बाभारियन भगिनी दल क्रिस्चियन सोसल युनियन (सिएसयू) दोस्रो स्थानमा धकेलिएका छन् । तिनले २४.१ प्रतिशत मत हासिल गरे । 

सोल्जले चार महिनाअघि मात्र जर्मनीको भावी चान्सलरमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए । त्यसवेला उनको दलप्रतिको जनसमर्थन जम्मा १४–१५ प्रतिशत थियो, जुन छोटो अवधिमा उल्लेख्य सुधार भएर २५.७ प्रतिशतमा पुग्यो । पार्टीको जनसमर्थनमा उल्लेख्य सुधार भएछ ।

चान्सलर पदमा प्रतिस्पर्धा गर्ने सोल्जको घोषणालाई केहीले प्रश्न उठाएका थिए । कतिले यसलाई दुस्साहसी र कतिले अव्यावहारिक कदम भने । हुन पनि एसपिडीप्रतिको जनसमर्थन खुम्चिएको थियो, जुन प्रक्रिया तत्काल आएको नभई वर्षौंदेखि चलिरहेको थियो । पार्टीले उसको मूल आधार मानिने श्रमिक तथा मध्यमवर्गमाझ समर्थन गुमाइरहेको थियो । पछिल्लो चुनावमा तीमध्ये केहीलाई पार्टीले पुनः हासिल गरेको छ । 

आखिरमा सोल्जले छोटो समयमा धेरैले कल्पना नगरेको चुनावी सफलता कसरी हासिल गरे ? यसका धेरै कारण छन् । मुख्यतः यसको संकेत एसपिडीको स्पष्ट नारामै भेटिन्छ । एसपिडीले यसपटकको चुनावमा स्पष्ट र धेरैलाई छुने चुनावी नारा ल्यायो । उसको चुनावी नारा थियो– ‘समाजिक नीति, तपाईंको लागि’ र ‘तपाईंको भागमा सम्मान’ । चुनावी कार्यक्रमबारे पार्टीको अनलाइन बहसमा, धेरै दोहोरिरहने सन्देशमा भनिन्थ्यो– ‘सोल्जसँग भविष्यमा के गर्नुपर्नेछ भन्ने योजना छ ।’ साथै, उनलाई पपुलिस्ट नेतालाई कसरी जित्ने भन्ने राम्रो जानकारी भएको भनेर प्रचार गरियो । 

पार्टीले आफ्ना प्राथमिकतामा ‘सम्मान’, ‘आत्मसम्मान’, ‘भविष्य’ र ‘सार्वभौम युरोप’लाई राख्यो र तिनलाई सबै मतदातासम्म पु¥यायो । आखिर यो कार्यक्रम कहाँबाट आएको थियो ? यसका विभिन्न प्रेरणा स्रोत रहेका छन्, जसमध्ये एकजना हार्वर्ड विश्वविद्यालयका दार्शनिक माइकल स्यान्डेल पनि हुन् ।

स्यान्डेलको पछिल्लो समय प्रकाशित भएर उल्लेख्य बिक्री भएको पुस्तक ‘द टिरेनी अफ मेरिट’मा उनले शिक्षा समाजमा विभाजनको सबैभन्दा ठूलो कारण हुँदै गएको तर्क गरेका छन् । तर, यो कसरी ? शताब्दिऔँदेखि शिक्षालाई सामाजिक गतिशीलताको प्रमुख कारण मानिदै आएको थियो, त्यस्तो विषय कसरी असमानताको कारण हुन सक्छ ? प्रगतिशील व्यक्ति तथा दलले शिक्षालाई सबैभन्दा उच्च प्राथमिकता दिने गर्छन् । मध्यवामपन्थी विचारधारा बोकेको सोल्जको पार्टी एसपिडीले पनि शिक्षालाई महत्व दिन्छ । कडा मिहिनेत र शिक्षाको योगमा समाजमा उन्नति गर्न सकिन्छ भन्ने विचार सामाजिक लोकतान्त्रिक दलहरू स्विकार्छन् । 

तर, स्यान्डेलको तर्क छ, मेरिटोक्रेसी (प्रतिभाशालीलाई कदर गरिने व्यवस्था)का असल गुण मात्र छैन । यसको अँध्यारो पक्ष पनि छ । किनकि, विजेताहरूले जहिले पनि समाजमा उही स्तरको उचाइ हासिल गर्न नसक्नेप्रति हीन रूपमा हेर्ने गर्छन् । अर्थात्, विजेताहरू आफूमा केही विशेष गुण रहेकाले वा आफूले धेरै मिहिनेत गरेकाले सफल भएको र त्यसको हकदार रहेको निष्कर्षमा पुग्छन् ।

अर्कोतर्फ, सफलता हासिल गर्न नसक्नेहरू तिनकै अल्छीपनका कारण असफल भएको विश्वास बलियो हुन थाल्छ । उनीहरूले सफल हुनलाई पर्याप्त मिहिनेत गरेनन् । त्यसैले आजको दयनीय अवस्थामा आउनु स्वाभाविक हो भन्ने निष्कर्ष निकाल्न थालिएको छ । स्यान्डेनका अनुसार मेरिटोक्रेसी र यसले विकास गर्ने माथि उल्लेखित मानसिकताका कारण एलिट वर्ग अहंकारीहरूको झुन्डमा रूपान्तरित भएको छ । जसले बाँकी ठूलो समूहको आत्मसम्मानमा चोट पु¥याएको छ । 

स्यान्डेल मेरिटोक्रेसीको यो पक्षको आलोचक हुन् । हुन पनि मेरिटोक्रेसीको यो व्याख्याले सबैसामु ‘जित्ने’ समान अवसर हुँदैन भन्ने कुरालाई बेवास्ता गर्छ । जबकि, जर्मनीभित्र नै यस्ता धेरै उदाहरण देख्न सकिन्छ । पहिले त शिक्षामाथिको पहुँच नै सबैका लागि समान छैन । जर्मनीमा विश्वविद्यालय शिक्षा हासिल नगरेका आमाबुबाहरूका १५ प्रतिशत सन्तानले मात्र स्नातक तह पार गर्छन् । जबकि, विश्वविद्यालयबाट शिक्षित आमाबुबाका ६३ प्रतिशत सन्तानले सो तह पास गर्छन् । जर्मनी सामाजिक गतिशीलतामा सम्पन्न मुलुकहरूको समूह (ओइसिडी मुलुक)मध्ये पछाडि पर्नुको महत्वपूर्ण कारण हो, यो । 

ओलाफ सोल्जले चुनावअघि स्यान्डेलको विचार जर्मनीको सन्दर्भमा पूर्ण रूपमा लागू हुने पहिचान गरे । जर्मनीमा शिक्षाका कारण सानो समूह एकदम सफल हुँदै जाने र बाँकी समूह भने शिक्षामाथिको पहुँचबाटै वञ्चित भइरहेको कुरालाई ओलाफले ठीक गर्ने संकेत गरेका छन् ।

उनको चुनावी अभियान सफल हुनुमा यो एउटा महत्वपूर्ण कारण भयो । किनकि, स्यान्डेलको विचारलाई प्रयोग गरेर एसपिडीले ऊबाट टाढिँदै गएको परम्परागत मतादाताको मन जित्न सफल भयो । पहिले यो वर्गले पार्टीबाट धोका पाएको महसुस गर्दै वामपन्थी दल ‘डी लिन्का’तर्फ ढल्किएका थिए । सोल्जको सफल चुनावी अभियानका कारण डी लिन्काको मत सन् २०१७ को भन्दा आधा कम भएको छ । अझ रोचक पक्ष के छ भने यसपटक एसपिडीले उग्र–दक्षिणपन्थी ‘अल्टरनेटिभ फर ड्युचल्यान्ड (एएफडी)’का मतसमेत तानेको देखिन्छ । एसपिडी पूर्वी जर्मनीका दुई राज्य स्याक्सोनी र थुरिन्गियाबाहेक सबैमा सबैभन्दा बलियो दल बनेको छ । दुई राज्यमा एएफडी बलियो बनेको छ । 

एसपिडीले अघि सारेको ‘सम्मान’युक्त चुनावी नाराले साम्यवादको पतन र जर्मन एकीकरणदेखि आत्मसम्मानमा चोट महसुस गरेका जर्मनलाई आकर्षित गर्यो । एसपिडीले मध्य–दक्षिणपन्थी दल सिडियू/सिएसयूको मत पनि खोसेको छ । विगतका चुनावमा केही एसपिडी मतदाताहरू मर्केललाई हेरेर सिडियूलाई मत दिन्थे । मर्केलले जर्मन राजनीतिमा सुरक्षित तथा स्थायी केन्द्रको प्रतिनिधित्व गर्ने भएकीले धेरैले राजनीतिक विचारलाई बेवास्ता गर्दै उनलाई मत दिएको देखिन्थ्यो । मर्केलले चुनावी राजनीतिबाट सन्न्यास लिएसँगै एसपिडीका पुराना मतदाताहरू आफ्नै दलमा फर्किए ।

 एसपिडीले ग्रिन पार्टीका मतदातालाई पनि आकर्षित गर्यो । पछिल्ला निर्वाचनमा ग्रिन पार्टीका धेरै अडान सामाजिक प्रजातान्त्रिक देखिएकाले पनि मानिसहरू मूल सामाजिक प्रजातान्त्रिक विचारधारा बोकेको पार्टीमै गएका हुन सक्छन् । सोल्जले सञ्चालन गरेको आत्मसम्मानको अभियानले आकर्षक परिणाम दिएको छ । अब परिवर्तित एसपिडीको एजेन्डा कसरी नयाँ सरकार र सार्वजनिक नीतिमा रूपान्तरण हुन्छ, हेर्न बाँकी छ । 

सुझावित समाचार