अन्ततः अमेरिकी प्रभुत्व ओरालो लाग्दै छ र यस अवसरमा अमेरिकी साम्राज्यवादका साङ्लो तोड्न ल्याटिन अमेरिकासँग क्षेत्रीय सहकार्य गर्ने उत्तम मौका छ । संयुक्त राष्ट्र महासभामा गत बुधबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो मुलुकविरुद्ध लगाइएको ‘आपराधिक’ प्रतिबन्ध र क्युबामाथि जारी नाकाबन्दीको निन्दा गरे । महासभामा उनले अमेरिकी प्रभुत्वलाई अस्वीकार गरेर बहुध्रुवीय विश्व निर्माणको आग्रह पनि गरे । विद्रोही लबजमा मदुरोले भेनेजुएला यस वर्ष ‘संघर्ष’बाट ‘पुनर्बहाली’तर्फ जाने पनि बताए । उनले नर्वेली मध्यस्थतामा विपक्षीसँग भइरहेको वार्ताको प्रशंसा पनि गरे । समग्रमा उनले ‘साम्राज्यवादी आक्रामकता सामना गर्न सम्भव रहेको’ निष्कर्ष निकालेका थिए । ल्याटिन अमेरिकामा वासिंटनको शताब्दीदेखिको हस्तक्षेपको सन्दर्भमा अमेरिकी साम्राज्यवादको विरोध गर्ने मदुरो एक मात्र वामपन्थी नेता होइनन् ।
यस महिनाको सुरुवातमा मेक्सिकोमा भएको कम्युनिटी अफ ल्याटिन अमेरिकन एन्ड क्यारेबियन स्टेट्स (सेलाक) को सम्मेलनमा सहभागीले अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएस) को भविष्यबारे छलफल गरेका थिए । शीतयुद्धको अवशेषका रूपमा रहेको ओएस अमेरिकाले ल्याटिन अमेरिकामा साम्यवादको फैलावट रोक्न बनाएको संगठन थियो । त्यस समययता संगठनले ‘चुनाव पर्यवेक्षण’का नाममा आफूलाई अमेरिकी साम्राज्यवादको अस्त्रका रूपमा प्रस्तुत गर्ने गरेको छ । यो चुनावी पर्यवेक्षण नांगो हस्तक्षेपको चरम रूप हो ।
माथिको निष्कर्षका पछाडि स्पेनको सालामांका विश्वविद्यालयको एक अध्ययन रहेको छ, जसलाई बोलिभियाका महान्याधिवक्ता जेनरल जुआन लन्चिपाको कार्यालयले यही जुलाईमा प्रकाशित गरेको छ । यस अध्ययनअनुसार सन् २०१९ को चुनावमा कुनै गम्भीर अनियमितता भएको छैन । यद्यपि, ओएसको प्रतिवेदनले मतदानको वैधानिकतामाथि प्रश्न गरेको थियो जुन पछि इभो मोरालेसविरुद्ध भएको दक्षिणपन्थी ‘कु’को एक मुख्य कारक बनेको थियो । यसले करिब एक वर्ष लामो भयावह आतंकको सिर्जना गरेको थियो । हाल सो ‘कु’का मुख्य अपराधी कठघरामा उभ्याइएका छन् । अमेरिका क्षेत्रमा क्षेत्रीय एकताका लागि अग्रणी भनिएको ओएस संस्था कोभिड–१९ महामारीको यो क्षेत्र सबैभन्दा बढी चपेटामा पर्दा पूर्ण रूपमा निकम्मा रह्यो ।
ल्याटिन अमेरिकी क्षेत्रका जनतामा राष्ट्रिय सचेतनाको उभार र अमेरिकी प्रभुत्वको अधोगति भइरहेको सन्दर्भमा यस क्षेत्रलाई अमेरिकी दबदबाबाट मुक्ति र आफ्नो भाग्य आफैँ कोर्ने मौका मिलेको छ
यिनै कारणले गर्दा जुलाईमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेज ओब्राडोरले ल्याटिन अमेरिका र क्यारेबियन मुलुकलाई ओएसलाई विस्थापित गर्ने गरी युरोपियन युनियनजस्तै स्वायत्त क्षेत्रीय संगठन निर्माणका लागि आग्रह गरेका छन् । यो आग्रहले प्रस्ट रूपमा सेलाकलाई स्वायत्त क्षेत्रीय संगठनका रूपमा इंगित गरेको देखिन्छ । आग्रहले आशाजनक संकेत देखाए पनि सेलाकलाई क्षेत्रीय सहकार्य संगठन बनाउने काम चुनौतीमुक्त भने छैन । पहिलो, आर्थिक विकासका लागि ल्याटिन अमेरिका अझै पनि अमेरिका र क्यानडामै निर्भर छ । तसर्थ, केही नेता माथिको प्रस्ताव मान्ने–नमान्ने दोधारमा छन् र केही ओएसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुको साटो सुधार गर्नुपर्छ भन्ने मत पनि राख्छन् । मेक्सिकोलाई हेर्ने हो भने अमेरिका मेक्सिकोको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र कोभिड–१९ खोपको सबैभन्दा ठूलो स्रोत पनि हो । त्यही भएर राष्ट्रपति ओब्राडोरले ओएसको विकल्प हुने भनिएको संगठनमा अमेरिका र क्यानडालाई समावेश गराउने–नगराउने सन्दर्भमा स्पष्ट धारणा बनाउन सकेका छैनन् । अरू मुलुक पनि मेक्सिकोको जस्तै अवस्थामा छन् अर्थात् उनीहरू वासिंटनबाट टाढिएर क्युबा, भेनेजुएला वा निकारागुवाको जस्तो हविगत निम्त्याउन चाहन्नन् ।
यही कारणले वैकल्पिक आर्थिक सम्बन्धबारे सोच्न आवश्यक छ र ती सम्भावाना पहिल्यैदेखि अस्तित्वमा छन् । उदाहरण, चीनले बिस्तारै यस क्षेत्रमा आर्थिक सम्बन्ध बढाउँदै गएको छ र अहिले यो क्षेत्र चीनको दोस्रो ठूलो बजार बन्न पुगेको छ । चीन पनि स्वभावतः यो सम्बन्धलाई अगाडि बढाउन चाहन्छ । सेलाकको सम्मेलनमा राष्ट्रपति सी जिनपिङले आर्थिक सम्बन्ध बढाउने स्पष्ट सन्देश प्रवाह गरेका छन् । यदि यसो हुने हो भने ल्याटिन अमेरिका वासिंटनसँगको निर्भरताबाट मुक्त हुन सक्नेछ र दक्षिणी विश्वबीच हुने सहकार्यलाई प्रोत्साहन मिल्नेछ । यसबाहेक चीनसँगको निकट सम्बन्धले क्षेत्रीय संगठन चलाउन चाहिने विज्ञता र अनुभवको लाभ पनि देखिन्छ किनभने चीनले संसारकै सबैभन्दा ठूलो क्षेत्रीय संगठन सांघाई कोअपरेसन (स्को) को नेतृत्व गरिरहेको छ ।
दोस्रो, सेलाक विशुद्ध वैचारिक संगठन मात्र नभई ठोस मुद्धामा केन्द्रित हुनुपर्छ । यसलाई बोलिभियाका विदेशमन्त्री रोगेलियो मायटाले हालैको एक अन्तर्वार्तामा व्यक्त गरेका छन्– युरोपियन युनियन सुरुमा कोइला र स्टिलका आधारमा बनेको हो अर्थात् दुई ठोस मुद्दाले युरोपका साझा लक्ष्य बिस्तारै निर्माण गरेका थिए । वामपन्थी पार्टीहरूको जित एवं जनआन्दोलनका कारण ल्याटिन अमेरिका वामपन्थी रुझानतर्फ गइरहेको छ । यद्यपि यो परिस्थिति सधैँ नरहन सक्छ । त्यस अर्थमा सेलाक परस्पर लाभ हुने आधारमा अघि बढ्नुपर्छ । आशाको ठाउँ निश्चय नै छ । हालैको सेलाक सम्मेलनले ल्याटिन अमेरिकी अन्तरिक्ष संस्था, प्राकृतिक प्रकोप कोष, खोप उत्पादनका सम्झौता एवं स्वास्थ्यसम्बन्धी मुद्दामा सहकार्यको बाटो खोलेको छ । ल्याटिन अमेरिकी क्षेत्रका जनतामा राष्ट्रियता सचेतनाको उभार र अमेरिकी प्रभुत्वको अधोगति भइरहेको सन्दर्भमा ल्याटिन अमेरिकालाई अमेरिकी दबदबाबाट मुक्ति र आफ्नो भाग्य आफैँ कोर्ने मौका मिलेको छ । हामी अबको नयाँ कदमका लागि प्रतीक्षारत छौँ ।
आरटी डटकमबाट