भसिन र नेपाली अधिकारवादी आन्दोलन

भसिन पितृसत्तात्मकताविरुद्धको संघर्षलाई पुरुषविरुद्धको आन्दोलनको संकीर्ण अर्थभन्दा पनि बृहत् अर्थमा हेर्ने गर्थिन्

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण

स्यानिटरी प्याडमाथि सरकारले लगाएको करको  विरोधमा दुई दिनपहिले राजधानीको सडकमा महिला अधिकारकर्मी नारा लगाउँदै थिए : ‘रातो कर मुर्दावाद ! रातो कर फिर्ता गर् !’ केही अधिकारकर्मी युवा–युवती प्रजनन अंग भएको क्षेत्रमा रातो रंगमा लतपतिएर सडकमा उत्तानो सुतेका थिए । रातो रंगलाई महिलाको महिनावारीमा बग्ने रगतका रूपमा देखाउन खोजिएको यस प्रतीकात्मक संघर्षले सरकारलाई नारी अधिकारप्रति सचेत गराउन खोज्दै थियो ।

जुन देशमा अधिकांश जनतालाई हातमुख जोड्नै धौधौ छ, र जहाँ अहिले पनि अधिकांश गरिब महिला स्वास्थ्य सचेतनाबाट टाढा गाउँमा बस्छन्, किनेर स्यानिटरी प्याड लाउन न त पैसा छ, न त चेतना नै । जसले महिनावारीको समस्या सफा वा मैलो नै भए पनि टालोले समाधान गर्छन्, उनीहरूका निम्ति पक्कै पनि ‘स्यानिटरी प्याड’को आन्दोलन अचम्म लाग्दो हुँदो हो । यस दृष्टिले राजधानीको यो स्यानिटरी प्याड आन्दोलनको अधिकतम विस्तार निम्न–मध्यमवर्गीय सहरिया महिलासम्म मात्र हुने देखिन्छ । 

हुन त गाउँहरूमा पनि विद्यालय खुलेका छन्, त्यहाँ पनि स्यानिटरी प्याडबारे चर्चा हुने गर्छ । तर, अधिकांश विद्यालयमा महिला प्रजनन र स्वास्थ्य संवेदनशीलता तथा नारी अधिकारका विषयमा खुलेर चर्चा हुने गर्दैन । कैयौँ विद्यालयमा त पुरुष शिक्षक र परम्परागत पुरुष मानसिकताकी शिक्षिकासमेतले यस्ता पाठ पढाउन पनि लाज मान्छन् र छात्र–छात्रालाई आफैँ घरबाटै पढेर आउन भन्ने गरेको दिक्कलाग्दो अनुभव मैले गरेको छु । यसको कारण पितृसत्तात्मक समाज हो, जसले नारीलाई कि त देवी, कि त पापकी खानी भन्छ । इस्लाम धर्मावलम्बीले पनि महिलालाई नरकको बाटो (दोजखका रास्ता) भन्ने गर्छन् ।

महिलालाई मानिसका रूपमा कुनै पनि धर्मले व्याख्या गर्दैन । यस्तो आरोपबाट बच्न पण्डितहरूले मनुस्मृतिको एउटा प्रसिद्ध श्लोक सुनाउने गर्छन्– ‘यत्र नार्यस्तु पूज्यन्ते, तत्र रमन्ते देवता ।’ तर, नारी जतिसुकै पुजिए पनि उनी पुरुष सत्तासामु नत अवस्थामै रहन्छिन्, विष्णुका गोडा थिचिरहेकी लक्ष्मी, अर्धनग्न शिवसँग रमाइरहेकी पार्वती आदि यस्तै बिम्ब हुन् । यस्तोमा देवता रमाउनु स्वाभाविकै हो । यस्ता पारम्परिक मिथमा रचिएको ग्रामीण मनोविज्ञानको वर्चस्व रहेका विद्यालयमा नारी अधिकारका आधुनिक चेतना उल्टो घैँटोमाथि पानी खन्याए जस्तो हो ।

तुलनात्मक रूपमा केही वर्षदेखि सानै अंशमा भए पनि ग्रामीण क्षेत्रमा महिला शिक्षाको स्तरमा वृद्धि भएको देखिन्छ । व्यवसाय, राजनीति, जनप्रतिनिधि, कर्मचारीतन्त्र, शिक्षा, प्रहरी र सेनामा समेत महिला देखिन थालेका छन् । तर, समुदायका सामाजिक तथा राजनीतिकलगायत सबै निर्णायक तहमा महिलाको प्रभाव न्यून नै छ । चेतनाको स्तरमा त झन् पितृसत्तात्मकताको जरो गहिरो गरी बसेको छ । यद्यपि सहरको तुलनामा ग्रामीण तथा वर्गीय रूपमा गरिब समुदायमा आधुनिक चेतनाको पहुँच कम देखिन्छ ।  

एक वर्षजति भयो होला, राजधानी काठमाडौंमा एउटा नारीवादी आन्दोलनमा एकजना युवा महिला अधिकारकर्मी सपना कर्णले एउटा कविता पढिन्– ‘हम सीता होब नइँ चाहै छी ।’ सीताले जीवनभरि अन्याय सहिन्, अति भएपछि बरु धर्तीमा समाइन्, प्रतिरोध कहिल्यै गरिनन् । सपनाले कवितामा सीताको यसै प्रवृत्तिविरुद्ध आफूलाई उभ्याउन खोजेकी थिइन् । केही परम्परावादी र संकीर्ण धर्मान्धहरूले यसको विरोध गर्नु स्वाभाविकै थियो, जनकपुरमा एकजना स्थापित महिला पत्रकारले समेत सपनाको यस कविताको विरोध गरिन् । उनी पढेलेखेकी महिला हुन् । अन्य विषयमा उनी पनि नारी स्वतन्त्रता र अधिकारको वकालत गर्छिन्, तर प्रश्न सीतामाथि उठेपछि उनीभित्रको धार्मिक जडभावले उनको सम्पूर्ण आधुनिक चेतनालाई किनारा लगाइदियो । उनले कविता सुनाइन्– ‘हम सीता होब चाहै छी ।’ यसले चिन्तनको जडता ग्रामीण मात्र होइन, सहरिया जमातभित्र पनि छ भन्ने बुझिन्छ ।

सपनालाई धम्क्याएर भयाक्रान्त बनाउने धर्मान्धहरूको भिडमा पुरुष मात्रै थिएनन्, महिला पनि थिए । रामायणमा वर्णित मिथिलाकी छोरी सीताको दुःख र पीडासँग सहानुभूति त राख्न सकिन्छ, तर उनको मौनता आधुनिक नारी स्वातन्œयको चेतनासँग मेल खाँदैन । यस मौनतालाई समर्थन गर्नु पितृसत्तात्मक दमनलाई स्विकार्नु नै हुन्छ । समाजको ठूलो हिस्साले यस्ता अनेक जड परम्परालाई संस्कृतिका रूपमा कायम राख्न चाहन्छ, जसमा पुरुष, पति र पिताका रूपमा निर्णायक छ र महिलालाई छोरी, आमा र पत्नीको घेरामा राखेर रक्षक र दमनकारी दुवै छ । हाम्रा धर्मग्रन्थ र परम्पराले स्वतन्त्र नारीको कल्पना गरेको छैन । 

यस्ता शोषणविरुद्ध प्रतिरोधका स्वर नउठेको पनि होइन । तर, यी प्रतिरोधी स्वर पर्याप्त भएनन् । यसको कारण भनेको नारीवादी आन्दोलन जनताको आधारभूत आन्दोलनको ‘न्यारेटिभ’भन्दा भिन्न अभिजात्य वर्गीय आन्दोलनमा सीमित हुन पुग्नु पनि हो । नारी अधिकारको आन्दोलनको मूलाधार महिलाको आधारभूत आवश्यकता अर्थात् गाँस, बास, शिक्षा र स्वास्थ्यसँग जोडिएको हुन्छ । बजेटका नकारात्मक प्रभाव बुझ्न नसक्ने र आफ्नै दुःखजिलोमा व्यस्त साधारण ग्रामीण महिला प्रतीकात्मक प्रतिरोधका निम्ति सक्षम हुन्छन् भन्ने अपेक्षा राख्नु व्यावहारिक हुँदैन । यस्तोमा अधिकारवादी संघर्षहरू जनताका आधारभूत समस्या र संघर्षसँग एकता कायम गर्दै नारी अधिकारका चेतना गाउँसम्म पु¥याउन सके मात्र फलदायी हुन सक्छ ।

आन्दोलनहरूले वर्गीय रूपमा अधिकतम निम्नवर्ग र भौगोलिक रूपमा सीमित सहरको घेरा तोडेर निर्धन र गाउँसम्म पुग्नुपर्छ भन्ने कमला भसिनको जनवादी चेतनालाई नेपाली अधिकारवादी आन्दोलनले पक्रन सक्नुपर्छ

अहिले नवउदारवादी अर्थराजनीतिक संरचनामा विकसित नगर र महानगरहरूमा महिला अधिकारकर्मीको एउटा यस्तो जत्था देखिएको छ, जसले तथ्यभन्दा पनि तथ्यांकमा खेल्छ र नारी अधिकारका आन्दोलनलाई राजधानीमा ‘प्रदर्शित’ गर्छ । प्रायः वैदेशिक र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट प्रेरित र सञ्चालित राजधानी र सदरमुकामकेन्द्रित यस्ता अधिकारवादी आन्दोलन अधिकतम प्रतीकात्मक र बौद्धिक आन्दोलनको फेसनका रूपमा सीमित हुने गर्छ । गैरसरकारी आन्दोलनमा सामेल सहरिया शिक्षित अधिकारकर्मीहरू, कुनै शोधका निम्ति तथ्यांक संकलन गर्न सीमित नै भए पनि गाउँ जान सक्छन् । तर, आन्दोलनलाई बौद्धिक, सहरकेन्द्रित र नागरिक समाजको घेराभित्रै राख्न चाहन्छन् । यो अधिकारवादी आन्दोलनभित्रको अभिजात्यीय समस्या हो ।

सहरकेन्द्रित र नागरिक समाजको आन्दोलनको संकीर्णता के हो भने यो धरातलमा रहेको आमूल परिवर्तनका संघर्षबाट बच्न चाहन्छ । यस्ता आन्दोलनको सीमा अधिकतम गाडी पुग्ने सहरसम्म मात्र हुने गर्छ । जब कि महिला मात्र होइन, जुनसुकै आन्दोलन, सडक पुग्न नसक्ने दुर्गम बस्तीसम्म नपुगेसम्म परिणाममुखी हुन सक्दैन । यसको सार के हो भने प्रत्येक अधिकारवादी आन्दोलन आमूल परिवर्तनकारी अर्थ राजनीतिक जनसंघर्षको हिस्सा हो । त्यसरी नै बृहत्तर परिप्रेक्ष्यमा नारी स्वतन्त्रताको अर्थ सम्पूर्ण स्वतन्त्रता हो । 

काठमाडौंमा महिला अधिकारकर्मीले स्यानिटरी प्याडमा सरकारले कर लगाएको विरोधमा आन्दोलन गरिरहँदा ९ असोजमा भारतकी विश्वप्रसिद्ध महिला अधिकारकर्मी ७५ वर्षीया कमला भसिनको निधन भयो । प्रख्यात मानवतावादी र नारीवादी लेखिका तथा मानवअधिकारकर्मी भसिन पितृसत्तात्मकताविरुद्धको संघर्षलाई पुरुषविरुद्धको आन्दोलनको संकीर्ण अर्थभन्दा पनि बृहत् अर्थमा हेर्थिन् ।

उनी अधिकारवादी आन्दोलनको क्षेत्रमा एसियास्तरमै सक्रिय थिइन् । उनको विचारमा पितृसत्ताले नारीलाई मात्रै पिरोलेको छैन, यसले पुरुषलाई पनि विमानवीकृत गर्दै लगेको छ । त्यस्तै पितृसत्तात्मक चरित्र पुरुषमा मात्रै होइन, महिलामा पनि हुने गर्छ । त्यसैले पितृसत्ताविरुद्धको संघर्ष पुरुष वर्चस्वविरुद्ध मात्र होइन, ती महिलाको सोचविरुद्ध पनि हो, जसले पितृसत्तात्मक परम्परा र चिन्तनलाई समर्थन गर्छन् ।

हुन त आयोजनको स्तरमा उनका आन्दोलन पनि प्रायः सहर र बौद्धिक क्षेत्रमै बढी केन्द्रित देखिन्थे, तैपनि पितृसत्तात्मकताविरुद्धको उनको बृहत्तर सोचले उनलाई महत्वपूर्ण बनायो । भारतीय वाम आन्दोलन र अधिकारवादी आन्दोलनमा समेत सर्वाधिक लोकप्रिय कवितात्मक नारा ‘हम छिन के लेंगे आजादी’ सबैभन्दा पहिले कमला भसिनले नै लगाएकी थिइन् ः ‘आजादी, आजादी आजादी, हम छिन के लेंगे आजादी, है हक हमारा आजादी, जान से प्यारा आजादी, फासीवाद से आजादी, पुँजीवाद से आजादी, सामन्तवाद से आजादी, प्यारी प्यारी आजादी !’

कमला भसिनका आफ्ना वैचारिक सीमा थिए, तर अधिकार र स्वतन्त्रताबारे बृहत्तर परिप्रेक्ष्यमा हेर्ने उनको दृष्टिकोणले उनलाई महत्वपूर्ण बनाउँछ । यसको तात्पर्य आन्दोलनहरूले वर्गीय रूपमा अधिकतम निम्नवर्ग र भौगोलिक रूपमा सीमित सहरको घेरा तोडेर बृहत्तर अर्थमा निर्धन र गाउँसम्म पुग्नुपर्छ भन्ने हो । नेपाली अधिकारवादी आन्दोलनले न्यूनतम कमला भसिनको यस जनवादी चेतनालाई पक्रन सक्नुपर्छ । 

सुझावित समाचार