कपनको खुला ढलमा परी ज्यान गुमाएका उज्वल विककी हजुरआमा धनमाया भन्छिन्- दोषीमाथि कारबाही नभए मेरोजस्तै धेरै नाति–नातिनाले ज्यान गुमाइरहनेछन्

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण
कपनको खुला ढलमा परी ज्यान गुमाएका उज्वल विककी हजुरआमा धनमाया भन्छिन्- दोषीमाथि कारबाही नभए मेरोजस्तै धेरै नाति–नातिनाले ज्यान गुमाइरहनेछन्

तस्बिर : अमूल थापा/नयाँ पत्रिका

कपन साततलेस्थित सुकुम्बासी बस्तीकी ५७ वर्षीया धनमाया विकको एक्लो सहारा थिए १० वर्षीय उज्वल विक । उनी गत मंगलबार कपनको खहरेखोलास्थित ढलमा डुबेर बेपत्ता भएका थिए । आइतबार बिहान जब धनमायाले उज्वलको शव ललितपुर बागमती गाउँपालिका–१ घुसेल कुटुनेबेँसीस्थित बागमती नदी किनारमा फेला परेको खबर पाइन्, उनले आफू उभिएको जमिन एकाएक घुमेको अनुभव गरिन् । ढलुँलाझैँ भएपछि टहराको भित्तामा टाउको अड्याइन् अनि छाती पिट्दै विलाप गर्न थालिन् ।

कपनको पाथीभरा सुकुम्बासी टोलस्थित जस्ताले छाएको टहरोमा भेटिएकी उनले नयाँ पत्रिकासँग भनिन्, ‘यही उज्वलको मुख हेरेर बाँचेको थिएँ बाबु । आफ्नै दूध चुसाएर हुर्काको । बुढेसकालको एक्लो सहारा थियो त्यो । ढलले बगाएर बेपत्ता बनायो । अहिले बागमतीमा लास भेटियो रे । अब म कसको मुख हेरेर बाँचौँ ?’

धनमायाको छाती पिट्ने र डाँको छाडेर विलाप गर्ने क्रम आइतबार साँझसम्म पनि निरन्तर थियो । उनलाई सम्हाल्न दुवै छोरी टहरामा आएका छन् । धनमाया कहिले जेठी छोरी अनिताको छातीमा घोप्टो पर्छिन् त कहिले कान्छी सुनिताको काखमा लडिबुडी खेल्छिन् । नाति उज्वल बेपत्ता भएदेखि नै उनको मुखमा अन्न परेको छैन । त्यसैले वेलावेला मुर्छा परेझैँ हुन्छिन् । गहिरो निद्राबाट ब्युँझेझैँ गरी दाँत किटेर बेसुरमा चिच्याउँछिन् । कहिले ‘त्यसलाई छाडिन्न’ भन्छिन् । कहिले ‘पाता कसेर त्यसलाई जेल हाल्नुपर्छ’ भन्छिन् । 

आमालाई सम्हाल्न पुगिकी छोरी अनिताले भनिन्, ‘आमाको हालत अहिले निकै नाजुक छ । सम्हाल्नै गाह्रो परेको छ । पिर नमान्नुस्, हामी छाैँ कति भन्नु । खालि भदाको मात्रै कुरा गर्नुहुन्छ । अब म कसको मुख हेरेर बाँच्ने भन्नुहुन्छ । पीडाले हामी पनि गलेका छौँ । बुबाको हालत त्यस्तै छ । के गर्ने, कसो गर्ने, सोच्नै सकिएको छैन ।’

नाति वियोगबाट विक्षिप्त धनमायाको मुहारमा केही बदलाव आयो । पीडा थोरै हल्का भएको संकेत उनको अनुहारले दियो । घाँटी हल्का गरिन् । हात एक–आपसमा रगेटिन् । शरीर तनक्क पारिन् । दह्रो गरी मुट्ठी कसिन् । सिमेन्टले ढलान गरेको भुइँमा मुड्की बजारिन् अनि भनिन्, ‘यो हत्या हो बाबु हत्या । ठेकेदार र नगरपालिका यसमा दोषी छन् । उनीहरूले खुला छाडेको ढलमा मेरो नाति पर्यो । ठेकेदारले समयमै काम सकेको भए यस्तो हुने थिएन । उनीहरूले यसमा जवाफ दिनुपर्छ । नत्र मेरोजस्तै धेरै नाति–नातिनाले यसैगरी ज्यान गुमाइरहने छन् । दोषीलाई कारबाही हुनुपर्छ । यसका लागि म जहाँ जान पनि तयार छु ।’

 ११ महिनामै आमाले छाडिन्, बाबु पहिल्यै बेपत्ता
उज्वल ११ महिनाको मात्रै थिए उनलाई आमाले छाड्दा । बुबा त्यसअघि नै बेपत्ता थिए । त्यसैले उनलाई हजुरआमा धनमायाले नै हुर्काइन् । दुईमध्ये जेठी फुपू अनिताको निकै प्रिय भदा थिए उनी । त्यसैले फुपू अनिताकहाँ उनको जाने–बस्ने बाक्लै हुन्थ्यो । मंगलबार पनि उनी फुपूकहाँ जाने भन्दै हजुरआमा धनमायासँग बिदा भए । हजुरबा मंगलेसँगै कपनको खरीबोटस्थित अनिताको होटेल पुगे । खाजा खाए । केहीबेर रमाइलो गरे । अनि हजुरबासँगै घर फर्किएका उनी ढलमा परे । अन्ततः खुला सोही ढल उनको मत्युको कारण बन्यो । 

‘११ महिना छँदै नातिलाई आमाले छाडिन् । छोरा पनि बेपत्ता छ । यसलाई मेरै दूध खुवाएर हुर्काएँ । दुइटी छोरी छन् । दुवै फुपूकहाँ आउने–जाने गथ्र्यो । मंगलबार पनि फुपूकहाँ गएको थियो । घर फर्कन साँझ बिदा भएको रे । तर, घर फर्किएन । दैव लाग्यो हजुर दैव,’ धनमायाले भनिन् ।

 बुढेसकालको मेरो एक्लो सहाराको मृत्यु हुनुमा ठेकेदार र नगरपालिका पनि दोषी छ
यो हत्या हो । बुढेसकालको मेरो एक्लो सहाराको मृत्यु हुनुमा ठेकेदार र नगरपालिका दोषी छन् । उनीहरूले खुला छाडेको ढलमा मेरो नाति पर्यो । ठेकेदारले समयमै काम सकेको भए यस्तो हुने थिएन । उनीहरूले यसमा जवाफ दिनुपर्छ । नत्र मेरोजस्तै धेरै नाति–नातिनाले यसैगरी ज्यान गुमाइरहनेछन् । दोषीलाई कारबाही हुनुपर्छ । यसका लागि म जहाँ जान पनि तयार छु ।
 धनमाया विक,बालककी हजुरआमा

भोजपुर चार नम्बर हो, धनमायाको पहाड घर । ०५१ सालमै सबै छाडेर सपरिवार सुनसरीको धरान झरे । धरानमा पनि केही हुन सकेन । उनीहरू काठमाडौं आए । कपनस्थित धोबीखोला किनारको करिब दुई आना जग्गामा टहरा हाले । सम्पत्तिको नाममा धनमायाको अहिले पनि सुकुम्वासी टोलस्थित त्यही दुई आना जग्गा र त्यसमा बनेको जस्ताको टहरो मात्रै हो । बेपत्ता छोराको अत्तोपत्तो छैन । कमाइ गर्ने कोही छैन । बिहान–बेलुकाको छाक टार्न मुस्किल छ । विवाहित दुई छोरी छन् । उनीहरूको पनि कमाइ राम्रो छैन । नाति ठूलो होला र पाल्ला भन्ने उनको ठूलो आशा थियो । उनलाई पनि गुमाएपछि उनी अहिले बिलकुल सहाराविहीन बनेकी छिन् । 

पीडित परिवारलाई  केही न केही सहयोग गर्छौँ
 शम्भु भट्टराई, वडाध्यक्ष बूढानीलकण्ठ नगरपालिका–१२ 

मंगलबार नहुनुपर्ने घटना भयो । बालकको शव फेला परेको छ । हामीले पाटन अस्पतालमा ल्याएर राखेका छौँ । पीडित परिवारसँग हामी सम्पर्कमा छौँ । केही न केही सहयोग पीडितलाई गर्नैपर्छ । हामी प्रयत्नरत छौँ । किनकि मृतक उज्वल पनि हाम्रै छोरा हो । उनको परिवारलाई सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो । यसमा हामी गम्भीर छौँ । छलफल चल्दै छ । मेयरसा’बसँग कुरा भएको छ । नियम–कानुनले दिने र भ्याएसम्मको सहयोग हामी गर्छौँ । 

 ६ दिनपछि उज्वलको  शव बागमती किनारमा फेला 
गत मंगलबार साँझ ८ बजे कपनस्थित खहरे खोलास्थित खुला ढलमा डुबेर बेपत्ता भएका १० वर्षीय उज्वल विकको शव शनिबार साँझ ललितपुर बाग्मती–१ घुसेल कुटुनेबेँसीस्थित बागमती नदी–किनारमा भेटिएको छ । प्रहरीका अनुसार नदीको ढुंगामा अड्किएर बसेको अवस्थामा उनको शव फेला परेको हो ।

शनिबार साँझ नै भेटिए पनि शव कपनका १० वर्षीय उज्वलकै भएको प्रमाणित भने आइतबार बिहान मात्रै भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्ज्वल महर्जनले कुटुनेबेँसीमा भेटिएको शव उज्वलकै रहेको बताए । ‘शनिबार साँझ ढुंगामा अड्किएको अवस्थामा एउटा बालकको शव फेला परेको खबर आयो । प्रहरी टोली तत्काल घटनास्थल पुग्यो । साँझ परेकाले शनिबार केही गर्न सकिएन । भोलिपल्ट फोटो खिचेर पठाए । कपनमा सम्पर्क गर्यौँ । भेरिफाई गर्दा भेटिएको शव उज्वलकै भएको पुष्टि भएको छ,’ उनले भने ।

 जहाँबाट उज्वल बगे 
कपनस्थित खहरेखोलाले काठमाडौं महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१२ को सीमा छुट्याउँछ । विगतमा ठूलै खोला बग्थ्यो त्यस ठाउँमा । स्थानीयले सो खोलालाई स्यालमती भन्थे । पछि चुखुँचा खोला भन्न थालियो । ०५६ मा खोलाको प्राकृतिकस्वरूप मासेर ४८ इन्चको ह्युमपाइप बिछ्याइयो । त्यसमाथि कालोपत्रे सडक बनाइयो ।

खोला–किनारका जग्गा सुनको भाउमा बिक्री भए । रातारात सडकका दुवै किनार गगनचुम्बी भवनले भरिए । घरबाट निस्किएको ढल पुरिएको सोही चुखुँचा खोला मासेर गाडिएको ह्युमपाइपमा मिसाइयो । घरको संख्यासँगै बढेको ढल ह्युमपाइपले धान्न सकेन । प्रत्येक बर्खाका पानीसँगै ढल फुट्न थाल्यो । दुई वर्षदेखि चुखुँचामा बागमती प्रदेशअन्तर्गतको सिँचाइ आयोजनाले ढलान कार्य गर्दै आएको छ । यसका निम्ति आयोजनाले झन्डै एक करोड रुपैयाँ खर्च गरिसकेको छ । तर, ढलको सुधार गर्ने काम अझै सकेको छैन । गत मंगलबार साँझ उज्वल डुबेर बेपत्ता भएको सोही ढलबाट हो ।

सुझावित समाचार