दशबुँदे सहमति कार्यान्वयनमा एमाले अध्यक्ष केपी ओलीले मध्यमार्गी विकल्प अघि सारेका छन् । सहमतिका पक्षधर नेताहरूले यसलाई अक्षरशः लागू गर्न माग गरिरहेका वेला अध्यक्ष ओलीले त्यो सम्भव नभएको स्पष्ट पारेका छन् । ओलीले पूर्वमाओवादीसहितको एकताका सन्देश दिने गरी दशबुँदे सहमति कार्यान्वयनको विकल्प खोजिने बताएका छन् ।
आफ्नो प्रतिवेदनमाथि केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको आइतबार जवाफ दिँदै अध्यक्ष ओलीले पूर्वमाओवादी समूहका र सहमतिका पक्षघर दुवैतर्फका नेताहरूको सम्मान हुने गरी अगाडि बढ्ने बताए । बैठकमा उपाध्यक्ष भीम रावलसहितका केन्द्रीय सदस्यले दशबुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन हुनुपर्ने माग राखेकै वेला ओलीले मध्यमार्गी विकल्पमार्फत कार्यान्वयन गरिने स्पष्ट गरेका हुन् ।
बैठकमा अध्यक्ष ओलीले माओवादीबाट आएका र दशबुँदेबाट जोडिएकाहरूलाई मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । ‘स्थायी कमिटीबाट दशबुँदेको कुरा टुंग्याइन्छ । माओवादीबाट जोडिएर आएका साथीहरूको पनि हामीले सम्मान गर्नुपर्छ । दशबुँदेबाट जोडिएर आएका साथीहरूको पनि सम्मान गर्नुपर्छ । दुवैतिरका साथीहरूको उचित व्यवस्था गर्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एमालेका एक केन्द्रीय सदस्यले भने ।
उनका अनुसार ओलीले दशबुँदे सहमति कार्यान्वयनबारे सोमबारको स्थायी कमिटी बैठकमा छलफल गर्ने सुनाएका थिए । ओलीले दशबुँदे सहमति दबाबमा नभई पार्टी हितमा लागू गर्ने रणनीति बनाएको उनीनिकट एक नेताले बताए । ‘अहिलेको लक्ष्य बलियो पार्टी हो, दशबुँदे सहमति कार्यान्वयनका नाममा पूर्वमाओवादीका नेताहरूलाई जिम्मेवारीविहीन बनाउन सकिन्न,’ ओलीनिकट एक नेताले भने ।
माओवादीले बहुमत लिएर गए पनि एउटा समूह एमालेमै रहेकाले उनीहरूको मत पनि सुन्नुपर्ने ओलीले भनाइ थियो । ‘अध्यक्षले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ । हिजो जे–जस्तो भए पनि यो एकता प्रक्रियाबाट जोडिएर आएको पार्टी हो, प्रचण्डले बहुमत उता लिएर गए पनि माओवादीको एउटा समूह यतै छ, सबैको सम्मान गर्नुपर्छ, सबैको प्रतिनिधित्व हुने गरी महाधिवेशनलाई एकता महाधिवेशनको रूपमा टुंग्याइनेछ भन्नुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
घनश्यामले राखे तीनबुँदे फरक मत
केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि घनश्याम भुसालले तीनबुँदे मौखिक फरक मत राखेका हुन् ।
उनले कम्युनिस्ट आन्दोलनको समीक्षा हुनुपर्ने, समाजवादको निम्ति ठोस प्रस्ताव आउनुपर्ने र जबजको सैद्धान्तिक व्याख्या गरिनुपर्ने प्रस्ताव गरेका हुन् ।
१. अहिले कम्युनिस्ट आन्दोलनले खाएको धक्का सानोतिनो छैन । वस्तुगत रूपले यसको मूल्यांकन गर्नुपर्छ । हाम्रा पनि के–के कमी भए, त्यसबारे नलुकाई भन्नुपर्छ ।
२. ०६४ देखि समाज परिवर्तन भइसक्यो । हामी जाने समाजवादतिर हो । समाजवादमा जान एउटा ठोस कार्यक्रम हुनुपर्छ । त्यसको अभाव छ ।
३. जनताको बहुदलीय जनवाद आँखा नदेख्नेले हात्ती छामेजस्तो भयो । हामीले ठोस परिभाषित गरेका छैनौँ । त्यसलाई सिद्धान्तका रूपमा परिभाषित गरी पूर्णता दिनुपर्छ भन्ने हो ।
प्रतिनिधिसभा विघटन गर्ने निर्णय सही रहेको ओलीको दाबी