आजको खेल
काठमाडौं किंग्स इलाभेनविरुद्ध ललितपुर प्याट्रियटर्स
समयः १२:१५ दिउँसो, टियु मैदान
घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिताकै सर्वाधिक धनराशि भएको एभेरस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुँदै छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियुमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ ।
अफ्रिदीले पाए १० नम्बरकाे जर्सी
काठमाडौंमा आबद्ध अफ्रिदीले १० नम्बरको जर्सी लगाउने भएका छन् । काठमाडौंले शुक्रबार सबै खेलाडीसहित जर्सी सार्वजनिक गर्दा १० नम्बरको जर्सी पाएका हुन् । २० वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा अफ्रिदीले १० नम्बरकै जर्सी लगाएका थिए । अफ्रिदीले नेपालको छोटो बसाइ हुने भए पनि यहाँको आतिथ्यबाट प्रभावित भएको बताएका छन् । ‘नेपाल आएको दुई दिन मात्र भयो, तर म यहाँको अतिथिलाई गर्ने स्वागतबाट दंग परेको छु,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अफ्रिदीले भने ।
अमेरिकामा जानुपर्ने भएकाले योपटकको इपिएलमा छोटो यात्रा भएको उनको भनाइ छ । ‘अमेरिका जान नपरेको भए म चौथो संस्करणको इपिएल पूरै खेल्ने थिएँ, तर अर्कोपटक म पुरै इपिएल खेल्ने गरी आउनेछु,’ उनले भने । नेपालको क्रिकेट तथा सम्बन्ध विकास गर्नकै लागि आफू इपिएलमा अनुबन्धित भएको अफ्रिदीको भनाइ छ । ‘नेपालको क्रिकेट विकास र दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन नै आएको हुँ,’ नेपाल आउनुको कारण बताउँदै उनले भने, ‘तपाईंहरू नेपाली क्रिकेटको विकासबारे जहिले सहयोग माग्नु हुन्छ म तयार छु ।’
यसैगरी काठमाडौंका कप्तान सन्दीप लामिछानेले अफ्रिदीजस्तो विश्व चर्चित खेलाडीको उपस्थितिले टोलीमा थप ऊर्जा मिलेको जनाए । ‘विश्व क्रिकेटमै नाम कमाएका अफ्रिदी हाम्रो टोलीमा छन्, अहिले अन्य युवा खेलाडीको मनोबल नै उच्च भएको छ,’ सन्दीप भन्छन्, ‘योपटक हामीले राम्रो तयारी गरेका छौँ ।’