बोल्सोनारोको आह्वानमा भएको शक्ति प्रदर्शनमा न्यून समर्थकको उपस्थिति देखिएकै आधारमा उनको राजनीतिक पतन भयो भन्ने विश्लेषण गर्नु अलिक हतारो हुनेछ
महिनौँदेखि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो लेटिन अमेरिकाको सबैभन्दा ठूलो लोकतन्त्रलाई आफ्नो इच्छाअनुसार बंग्याउन सक्ने दाबी गर्दै आएका छन् । यस वर्षको ७ सेप्टेम्बर अर्थात् ब्राजिलको स्वतन्त्रता दिवस एक महत्वपूर्ण दिनका रूपमा रह्यो । महत्वपूर्ण यसकारण कि राष्ट्रपतिले आफ्ना समर्थकलाई सडकमा शक्ति प्रदर्शन गर्न परिचालन गरेका थिए । शक्ति प्रदर्शनमा न्यून समर्थकको उपस्थितिले उनले फलाक्ने लोकप्रियता र यथार्थबीचको भिन्नतालाई छताछुल्ल पारिदियो । मत सर्वेक्षणमा खस्किँदो प्रदर्शन, राजनीतिक गठबन्धन विस्तारका लागि व्यवधानको पहाडका बाबजुद राष्ट्रपति बोल्सेनारो राजनीतिक संस्थापन विशेषतः सर्वोच्च अदालतलाई पनि घुँडा टेकाउने भुइँ तहका जनताहरू आफ्ना पक्षमा रहेको दाबी गर्छन् । साहित्यकार ग्याब्रियल गार्सिया मार्खेजको उपन्यास ‘द जेनरल इन हिज लिबरिन्थ’मा उल्लेख गरिएझैँ राष्ट्रपति ‘भ्रमको असीमित क्षमतालाई त्यसै बखत त्याग्न सकिरहेका छैनन्, जतिखेर भ्रम त्याग्न सबैभन्दा बढी आवश्यक छ ।’
बोल्सोनारोका समर्थक र निष्पक्ष विश्लेषकसमेतले राष्ट्रपतिको हालको लोकतन्त्र अवमूल्यन प्रक्रियाको समर्थनमा जनसागर उर्लिने बताएका थिए । ७ सेप्टेम्बरमा सर्वोच्च अदालत कब्जा गर्ने प्रयासलाई ६ जनवरीमा अमेरिकी कांग्रेस भवनमा (युएस क्यापिटल) राष्ट्रपति ट्रम्प समर्थकले गरेको कर्कस अतिक्रमणको पुनरावृत्तिको रूपमा अनुमान गरिएको थियो । स्वतन्त्रता दिवसको एक दिनअगाडि बोल्सोनारोले सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध ‘अल्टिमेटम’ जनाउने प्रदर्शनका लागि डाकेका थिए र अनिष्ट जनाउने भाषामा ‘यदि शान्ति चाहन्छौ भने युद्धका लागि तयार भइरहनु’ भनेर घोषणा गरेका थिए । उनले ‘कु’को समेत धम्की दिएका थिए ।
बोल्सोनारो डोनाल्ड ट्रम्पले झैँ संसद्माथि नभई अदालतमाथि किन धाबा बोलिरहेका छन् ? किनभने, सर्वोच्च अदालत मुख्यतः न्यायाधिशहरू अलेक्जेन्ड्रे डी मोरेस र लुई रोबर्टो बारोसोले गैरलोकतान्त्रिक भाषण एवं गतिविधिका लागि राष्ट्रपति र उनका निकटस्थमाथि छानबिन गरिरहेका छन् । सन् २०१८ मा भएको राष्ट्रपतीय चुनावमा फैलाइएको मिथ्या खबरमा संलग्न भएको आरोपमा पनि बोल्सोनारो अदालतको छानबिनको दायरामा परेका छन् । अदालतले राजनीतिमा संलग्न भएका बोल्सोनारोका सबै छोरालाई पनि अनुसन्धानबाट जोगाउन इन्कार गरेको छ । यसर्थ बोल्सोनारोका लागि संसद् त्यति अप्ठ्यारो छैन, जति ट्रम्पका लागि थियो । बोल्सोनारो र समर्थकले ७ सेप्टेम्बरमा ब्रासिलिया, साओ पाउलो, रियो दि जेनेरियोलगायत सहरमा जनसागरको अपेक्षा गरिरहेका थिए, तर त्यहाँ अन्य राजनीतिक शक्तिलाई पनि असर गर्नेजत्तिका मानिस पनि थिएनन् ।

इतिहासले भविष्यको मार्गदर्शन नगरे पनि भविष्यका लागि शिक्षा भने अवश्य दिनेछ । आफ्नै शासनमाथि सफलतापूर्वक ‘कु’ गर्ने जेटुलो भागस ब्राजिलको इतिहासका एक मात्र राष्ट्रपति हुन् । सन् १९३० ताका अधिनायकवादी शासन चलाएका भागसलाई आधुनिक ब्राजिलको संस्थागत जग बसालेको श्रेय पनि दिइन्छ । तर, अहिले सन् १९३० होइन र बोल्सोनारो भागस होइनन् । भागसले चतुरतापूर्वक आफूलाई मध्यपन्थी विवेकशील नेताका रूपमा प्रस्तुत गरेका थिए । बोल्सोनारो भने आफूलाई चरम दक्षिणपन्थीका रूपमा प्रस्तुत गर्छन् र राज्यका संस्थाविरुद्ध आफूलाई उभ्याउँछन् । पूर्वराष्ट्रपति लुला डा सिल्भा भने अहिले राजनीतिक वृत्तमा भेटघाट बढाइरहेका छन् र आफूलाई हालका राष्ट्रपतिभन्दा फरक देखाउन प्रयत्नरत छन् । मध्यम ट्रेड युनियन नेता लुलाले आठ वर्ष सरकार चलाएका थिए र अबको राष्ट्रपतिका लागि हुने चुनावको मत सर्वेक्षणमा पनि उनी धेरै अगाडि देखिन्छन् । राष्ट्रपतिका लागि तेस्रोपटक चुनावमा लड्ने तय नगरिसकेका लुला सम्भावित विजेताका रूपमा देखिन्छन् । उनी मेलमिलाप एवं असल शासनको पैरवी गरिरहन्छन् । गैरवामपन्थी भाष्यका कारण उदाएका बोल्सोनारोले लुला फर्किने त्रास देखाएर राजनीतिमा आफ्नो ठाउँ बनाइरहेका छन् ।
अहिले सत्तामा बोल्सोनारो र उनका सन्तानकै रजगज चलिरहेको छ । तर, उनीहरू शासन चलाउन भने पूरै असमर्थ भएका छन्, अर्थात् महामारीदेखि वातावरण, अर्थतन्त्र एवं विदेश नीति कहीँ पनि सफल देखिँदैनन् । यस सन्दर्भमा जनताको गुनासो राजनीतिकभन्दा बढी व्यक्तिगत रहेको छ । ७ सेप्टेम्बरमा न्यून संख्याको जनउपस्थितिले ब्राजिलका जनतामा राष्ट्रपतिले छेड्न खोजेको युद्धमा रुचि छैन भन्ने प्रस्ट पारेको छ । राष्ट्रपतिले राज्यको अर्को अंगका व्यक्तिसँग शत्रुता निर्माण गरेझैँ जनताले भने कुनै शत्रुता निर्माण गरेका छैनन् । यसको अर्थ हो, बोल्सोनारोको राजनीतिक पतन भयो भन्ने विश्लेषण गर्नु अलिक हतारो हुन जान्छ । यस सन्दर्भमा बोल्सोनारोका समर्थक प्रदर्शनलाई अघि बढाएर ट्रम्पले परिचालन गरेको जत्थाजस्तै हिंसामा उत्रिन आतुर छन् । यी समर्थक कहीँ पनि गइरहेका छैनन् र अन्य राष्ट्रपतिका लागि खटिने कार्यकर्ताभन्दा धेरै छन् ।
७ सेप्टेम्बरपछिका दिनमा भएका व्यापक जनप्रदर्शनले बोल्सोनारोलाई पछि हट्न बाध्य बनाइदिएका छन् र ब्राजिलको शक्ति सन्तुलन बिगार्ने आफ्नो कुनै पनि नियत नरहेको बताउन बाध्य पारेका छ । राजनीतिमा फर्किन खोजिरहेका चर्को आलोचना खेपेका पूर्वराष्ट्रपति मिसेल टेमरले राष्ट्रपति र न्यायाधीश डि मोरेसबीचको वार्तालाई मध्यस्थ गरेका थिए । राजनीतिक सरगर्मी अहिले घटेको छ, तर बोल्सोनारो रोकिनेवाला छैनन् । यद्यपि ७ सेप्टेम्बरले बोल्सोनारो आगामी चुनावपछि भन्दा चुनावअघिका दिनमा बढी शक्तिशाली रहने सम्भावना बढी देखाउँछ ।
द गार्जियनबाट
(प्याग्लिरियनी इतिहासका उपप्राध्यापक हुन्)