वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले दसैँलक्षित अनुगमन टोली परिचालन गरेको छ । विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट काजमा कर्मचारी मगाएर दैनिक ६ टोली बजार अनुगमनमा पठाउन थालेको हो ।
विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वमा उपभोग्य वस्तुको मूल्य नियमन, कृत्रिम अभाव नियन्त्रण, कार्टेलिङ निरुत्साहनलगायतका जिम्मेवारी दिएर निरीक्षण अधिकृतहरूलाई बजार अनुगमनमा खटाएको बताए । ‘विगतमा जस्तै यसपटक पनि दसैँ, तिहारलक्षित अलि ठूलो संख्यामा अुनगमन टोली परिचालन भएको छ,’ उनले भने, ‘यो टोलीले उपभोक्तालाई बजारमा सही मूल्यमा सही सामान पाउँछ भन्ने कुराको प्रत्याभूति दिलाउन हरसम्भव प्रयास गर्नेछ ।’
सामान्य प्रशासन मन्त्रालयबाट करिब १२ जना कर्मचारी थपिएर अनुगमन टोली विस्तार भएको विभागको निर्देशक तथा प्रवक्ता शिवराज सेढाईले जानकारी दिए । ‘हामीले अन्य समयमा दैनिक ३ टोलीसम्म परिचालन गरेर अनुगमन गरिरहेका थियौँ । तर, यो वेला किनमेलको संस्कृति बढ्ने र गैरव्यवसायिक क्रियाकलाप पनि बढ्ने आशंकामा अनुगमन संख्या बढाएका हौँ,’ उनले भने । दसैँमा बढी खरिद बिक्री हुने लत्ताकपडा, माछा–मासु, खाद्यान्न, फलफूल, तरकारीलगायतमा अनुगमनकेन्द्रित भइरहेको उनले बताए ।
‘बुधबार मात्रै दुई अनुगमन टोली कलंकी आसपास खटिएका थिए । उनीहरूले त्यस क्षेत्रको व्यावसायिक क्रियाकलापको निरीक्षण गरेका छन् । अन्य टोलीले लत्ताकपडालगायतमा अनुगमन गरेका छन्,’ सेढाईले भने । विभागका साथै काठमाडौं जिल्ला प्रशासन कार्यालय, पशु सेवा विभाग, काठमाडौं महानगरपालिकालगायतले पनि दसैँका लािग अलग्गै बजार अनुगमन टोली खटाउन विभागसँग निरीक्षण अधिकृत माग गरिरहेका छन् ।
व्यवसायीसँग निरन्तर छलफल
विभागले अनुगमनसँगै विभिन्न क्षेत्रका व्यवसायीलाई मूल्य र गुणस्तर नियन्त्रणका लागि निर्देशनसमेत दिइरहेको महानिर्देशक पौडेलले बताए । ‘हामीले निजी क्षेत्रका तीन ठूला संस्था उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघका पदाधिकारीसँग बैठक बसेर चाडपर्वमा सकेसम्म सहुलियत मूल्यमा वस्तु तथा सेवाको कारोबार गर्न निर्देशन दिएका छौँ । उहाँहरू पनि सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘ठूला डिपार्टमेन्टल स्टोरलाई पनि मूल्यसूची नै प्रकाशित गरी छुट उपलब्ध गराउन भनेकोमा कार्यान्वयन गर्छौँ भनेका छौँ ।’
विभागका अनुसार भाटभटेनी, बिग मार्ट, सेल्सबेरीलगायतले छुट मूल्य प्रकाशित गरी खाद्यवस्तु बिक्री गर्ने जनाएका छन् । विभागले चिनी र खाने तेल व्यवसायीसँग पनि निरन्तर संवाद गरिरहेको छ । ‘खाने तेल व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा एक वर्षको अवधिमा १ सय ४० प्रतिशतसम्म कच्चा पदार्थको मूल्य बढेको तथ्यांक पेस गरेका छन् । उनीहरूको तथ्यांकबारे विश्लेषण गरिरहेका छाँै,’ पौडेलले भने ।
चिनीको भने मौज्दात सकिन लागेकाले मूल्य अकासिएको उनले बताए । हाल भारतमै प्रतिकिलो ३७ रुपैयाँ भारु आसपास मूल्य रहेको र त्यसमा ४० प्रतिशत भन्सार तिर्दा लागत नै प्रतिकिलो ८० रुपैयाँसम्म पुग्ने गरेको व्यवसायीको तर्क छ । त्यसमा ढुवानी, ज्याला, लोड–अनलोडलगायतका खर्च जोड्दा प्रतिकिलो ९८ रुपैयाँ उपभोक्ता मूल्य पुग्ने व्यवसायीको तर्क रहेको महानिर्देशक पौडेलले बताए ।
एकातिर मूल्य बढ्ने र अर्कातिर सरकारले साल्ट टे«डिङलाई भन्सार सहुलियत (प्रचलित भन्सार दरमा ५० प्रतिशत छुट) मा चिनी ल्याउन दिने तयारी गरिरहेकाले आयातकर्ता व्यवसायी अत्तालिएको उनको भनाइ छ । ‘साल्ट टे«डिङलाई भन्सार सहुलियतमा सरकारले चिनी ल्याउन अनुमति दियो भने आयातकर्तालाई आफ्नो चिनी बिक्री हुन सक्दैन कि भन्ने डर देखियो । अर्कातिर मंसिरपछि नयाँ नेपाली चिनी बजारमा आइहाल्छ, त्यसैले दुई महिनाको माग धान्ने परिमाण मात्रै ल्याउन पनि कठिनाइ भएको देखिन्छ,’ पौडेलले भने, ‘यी समस्या हल गरी हामी चिनीको बजार र मूल्यमा हस्तक्षेप गर्न खोजिरहेका छौँ । चिनीको अधिकतम खुद्रा मूल्य तोकेर मूल्य नियन्त्रण गर्न सकिन्छ कि भनेर गृहकार्य पनि गरिरहेका छौँ ।’
सिन्धुलीमा उपभोग्य मिति सकिएको २२ हजार मूल्यको खाद्यवस्तु नष्ट
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमातहतको सिन्धुलीस्थित डिभिजन कार्यालयले सिन्धुली सदरमुकामस्थित माझिटार बजारमा बुधबार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु कार्यालयलगायतका कर्मचारीसहित संयुक्त अनुगमन गरेको टोलीले तीन पसलबाट २२ हजार रुपैयाँको मिति सकिएको खाद्यवस्तु बरामत गरी नष्ट गरेको छ ।
डिभिजन कार्यालयप्रमुख प्रमोद पौडेलले सदुरमुकाम क्षेत्रमा मिति सकिएका खाद्यवस्तु बिक्री हुने गरेको गुनासो र आशंकाका आधारमा खुद्रा तथा होलसेल किराना पसलमा अनुगमन गर्दा प्याकेटमा उपलब्ध हुने जिरा, विभिन्न थरीका चकलेट, चिप्सलगायतको उपभोग्य मिति सकिएको पाएपछि नष्ट गरेको जानकारी दिए ।
‘तीनवटा पसलमा अनुगमन गर्दा प्रत्येकमा क्रमशः १७ हजार ५ सय, तीन हजार सात सय र सात सय ५० रुपैयाँ मूल्यको खाद्यवस्तुको उपभोग्य मिति सकिएको पाइयो । त्यसपछि तुरुन्तै जफत गरी नष्ट गरेका हौँ,’ उनले भने । त्यसमध्ये सबैभन्दा ठूलो परिमाणमा चकलेट बरामत भएको थियो । विभिन्न ब्रान्डमा रहेका बट्टाभरीको चकलेट नष्ट गरेको उनले बताए । पौडेलले आसन्न दसैैँमा पेय पदार्थ, प्याकेटका खाद्यवस्तुलगायतमा अनुगमन तीव्र बनाई स्वच्छ र प्रतिस्पर्धी बजार निर्माणका लागि प्रयास गर्ने बताए ।
पछिल्लो समय उपभोग्य मिति सकिएका खाद्यवस्तुहरू जिल्ला र ग्रामीण क्षेत्रका बजारमा पठाउने प्रवृत्ति बढेको छ । यस्ता वस्तुको उपभोगले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले आफूले किन्ने वस्तुको उपभोग्य मिति हेर्नुपर्ने पौडेल बताउँछन् । ‘हामीले प्याकेटको कुनै वस्तु किन्छौँ भने अनिवार्य रूपमा उपभोग्य मिति हेर्ने गरौँ । यस्तो बानी बसाल्यौँ भने मिति सकिएका खाद्यवस्तु उपभोग गर्नबाट बच्छौँ,’ पौडेलले भने ।