तनहुँ जलविद्युत् आयोजनामा विपत् पूर्वतयारीका लागि नमुना अभ्यास

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपतकाे जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपतकालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपत् नमुना अभ्यास सम्पन्न गरेको छ।

आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपतकालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज– १ (हेडवर्क्स) र प्याकेज– २ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरण) मा कार्यरत जनशक्तिलाई लक्षित गरिएको थियो।

अभ्यासका क्रममा सम्भावित विपतका वेला अपनाउनुपर्ने सुरक्षा सावधानी, तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आपतकालीन अवस्थामा प्रभावकारी समन्वय गर्ने प्रक्रियाबारे व्यावहारिक अभ्यास गरिएको थियो।

नमुना अभ्यासमा तनहुँ हाइड्रोपावर लिमिटेड (टिएचएल)का प्रबन्ध–सञ्चालक, आयोजना प्रबन्धक तथा अन्य पदाधिकारी, नेपाली सेनाको दमौलीस्थित कालीभञ्जन गणका अधिकारी, आयोजना सुपरिवेक्षण परामर्शदाता (पिएससी), वातावरण तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक र निर्माण व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा टिएचएलका प्रबन्ध–सञ्चालक छविलाल गैरेले विपत् व्यवस्थापनमा पूर्वतयारी, समयमै सूचना प्रवाह र प्रभावकारी उद्धार प्रणालीको महत्त्वमा जोड दिए। उनले निर्माणस्थलमा कार्यरत जनशक्तिको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणलाई आयोजनाले उच्च प्राथमिकतामा राखेको बताए। यस्ता अभ्यासले विपतका वेला तत्काल निर्णय लिन, सम्बन्धित निकायबिच समन्वय कायम गर्न तथा मानवीय क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।

गैरेले आयोजनाको प्रतिबद्धता निर्माणस्थलमा कार्यरत जनशक्तिको सुरक्षामा मात्र सीमित नरहेको उल्लेख गर्दै बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सम्भावित बाढी तथा अन्य जोखिमबारे सचेत गराउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

आयोजनाले बाँधस्थलदेखि तल्लो तटीय क्षेत्र हुँदै सेती र त्रिशूली नदीको दोभानसम्म सम्भावित जोखिमबारे समयमै सूचना प्रवाह गर्न १७ वटा साइरन जडान गरेको छ। त्यसैगरी, नदीमा बाढी आएमा सुरक्षित स्थानमा जान तथा आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन १० स्थानमा सूचनामूलक होर्डिङ बोर्ड राखिएको छ।

आयोजनाले विपत् जोखिम न्यूनीकरणलाई निर्माण व्यवस्थापनको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको जनाएको छ। नियमित नमुना अभ्यास, आपतकालीन प्रतिकार्यको तयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा तल्लो तटीय क्षेत्रका समुदायमा जनचेतना अभिवृद्धिमार्फत निर्माणस्थलमा कार्यरत जनशक्ति र स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न आयोजना प्रतिबद्ध रहेको छ।

सुझावित समाचार