काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, सामग्री, पहुँच सडक तथा पुलमा क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट ३४.४ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना, २८.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजना, ३०.५९ मेगावाटको यारू खोला जलविद्युत् आयोजना र १६ मेगावाटको माछाखोला जलविद्युत् आयोजना प्रभावित भएका छन्।
बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बगायो
टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको ३४.४ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। साथै, आयोजनाका केही निर्माण उपकरणसमेत बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।
दोभान खोला आयोजनाका क्याम्पमा क्षति
२८.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ। दोभान खोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने बाँध क्षेत्रसमेत बाढीको प्रभावमा परेको विवरणमा उल्लेख छ।
यारू खोलाको बेलिब्रिज र निर्माण सामग्री बगायो
यारू हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरिरहेको ३०.५९ मेगावाट क्षमताको यारू खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ। बाढीले आयोजनामा प्रयोग हुने निर्माण सामग्री तथा उपकरणसमेत बगाएको प्रारम्भिक विवरणमा जनाइएको छ।
माछाखोला आयोजनाको पहुँच सडक र पुलमा क्षति
१६ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ। वाटर इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाको पहुँच सडक तथा आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको विवरणमा उल्लेख छ।
बाढीबाट प्रभावित चारवटै आयोजनामा पुगेको क्षतिको विस्तृत विवरण तथा आर्थिक नोक्सानीको यकिन आकलन भने प्रारम्भिक विवरणमा खुलाइएको छैन। क्षतिग्रस्त संरचना तथा उपकरणको अवस्था र पुनर्निर्माणमा लाग्ने समयले आयोजनाको निर्माण कार्यमा थप प्रभाव पार्न सक्ने देखिन्छ।