मोबाइल फोनलाई केले विस्थापित गर्ला ?

शुक्रबार, १ असोज, २०७८
डिजिटल संस्करण

‘फेसियल कम्प्युटिङ’ (अनुहारमा पहिरिन सकिने कम्प्युटरजस्तै उपकरण)का हरेक बहस असहज नसुनियोस् भनेर जति प्रयास गरे पनि त्यसो गर्न कठिन हुने रहेछ । अनुहारमा हरक्षण कम्प्युटर लिएर हिँड्ने कुरा कतै न कतै असहज लाग्न सक्छ । तर पनि मलाई आशंका छ, फेस कम्प्युटरलाई विश्वले अँगाल्नेछ । र, त्यो दिन धेरै टाढा पनि छैन । सायद यही दशकभित्र त्यो सम्भव देखिनेछ । 

प्रविधि क्षेत्रका मानिसले लामो समयदेखि मोबाइल फोनलाई विस्थापित गर्ने अर्को कम्प्युटिङ प्रविधि के होला भनेर सोचविचार गर्दै आएका छन् । केही अघिसम्म मलाई मोबाइल फोनलाई केही कुराले विस्थापित गर्ला भन्ने शंका लाग्थ्यो । अर्थात्, लामो समयसम्म मोबाइल फोन हामीले प्रयोग गर्ने प्रमुख कम्प्युटर होला भन्ने सोच्दै आएको थिएँ । तर, विगत केही महिनामा मेरो सोच बदलिन थालेको छ ।

अनुहार कम्प्युटर आउँदै छ । तपाईं–हामी ‘स्मार्ट’ ग्लास (चस्मा)को प्रधानताका लागि तयार भए हुन्छ । आजभोलि नै ‘भर्चुअल रियालिटी’युक्त चस्माजस्तो हेडसेट लगाएर हामी डिजिटल विश्वमा रमण गर्न सक्ने भइसकेका छौँ । तर, यसलाई प्रयोग गर्ने उपकरणहरू भने भद्दा छन् । गुगलले बनाउन प्रयास गरेको ‘गुगल ग्लास’ असफल भएदेखि अरू कम्पनी अगाडि देखिएका थिएनन् । पछिल्लो समय फेसबुक र रे–बेनले क्यामेराजडित सनग्लास सार्वजनिक गरे । यस्तो उपकरण हरपलको फोटो खिच्न सक्षम हुन्छ । यो चस्मामा फोटो खिच्न उपयुक्त लागेको क्षण चस्मामा छोए पुग्छ । अहिलेजस्तो मोबाइल फोन खोजेर फोटो खिच्ने झन्झट नै हुँदैन । 

फेसबुक र माइक्रोसफ्टले पनि अलग्गै भर्चुअल रियालिटी ह्यान्डसेट बनाउँदै छ । तिनले हाम्रो अनुहारमा पहिरिन सकिने शक्तिशाली कम्प्युटरको काम गर्छ । चाहेको अवस्थामा तिनमा आउने भिडियो गेम वा फिल्मलाई वास्तविक जीवनलाई बिर्सेर हेर्न सक्छौँ । अहिलेसम्म यी उपकरणले उल्लेख्य सफलता हासिल नगरेको भए पनि यस प्रविधिमा तीव्रताका साथ सुधार आइरहेको छ । सम्भवतः केही वर्षमा अनुहारमा लगाइने कम्प्युटर लोकप्रिय हुनेछन् । एप्पल कम्पनीले सार्वजनिक गरेपछिको यो स्थिति आउन सक्छ (कम्पनीले पनि यस्तै उपकरणमा अनुसन्धान गरिरहेका रिपोर्टहरू छन्) ।

अनुहारमा अड्ने कम्प्युटर सर्वत्र प्रयोग हुन थालेपछि चिन्ता लिनुपर्ने सामाजिक, सांस्कृतिक र कानुनी अड्चन आउनेछ । यस्ता उपकरणले हाम्रो आँखालाई हामी बाँचेको समयको हरक्षण रेकर्ड गर्ने अवसर प्रदान गर्छ । साथै, हाम्रो वास्तविक हेराइमा पनि इन्स्टाग्रामको जस्तो फिल्टर हाल्ने क्रम बढ्नेछ । त्यसपछि हामीले हेर्ने हरेक कुरामा अतिरिक्त ग्राफिक्स थपिन थाल्नेछ । अझ चिन्ताजनक कुरा यी उपकरण विश्वको सबैभन्दा धेरै गोपनीय कुरामाथि पहुँच भएका कम्पनीले निर्माण गरिरहेका छन् ।

मोबाइल फोन प्रयोग हुन थालेको सुरुका दिन यसको पहुँच सीमित उपभोक्ताको हातमा थियो, तर तिनको मूल्य तथा आकारमा आएको गिरावटले एक्कासि यसको प्रयोग व्यापक भयो । पछिल्लो समयका अनुहारमा पहिरिन मिल्ने कम्प्युटरका संस्करण पनि निकै भद्दा थिए । अनुहार कम्प्युटरले मोबाइल फोनका दुई कमीलाई समाधान गर्छ । एउटा त मोबाइल फोनमा फोटो खिच्नका लागि हरेकपटक खल्तीबाट निकालेर तयारी गर्नुपर्छ । तर, पहिरिरहेको कम्प्युटरयुक्त चस्मामा त्यो झन्झट आइपर्दैन । त्यस्तै, मोबाइल फोनमा आफूलाई चाहिएको कुरा खोज्नका लागि छोएर चलाउनुपर्छ । तर, पहिरिने कम्प्युटरयुक्त चस्माले प्रयोगकर्ताको आँखाले देखेजति हरेक कुरा देख्ने भएकाले तिनले अत्यधिक सूचना जम्मा गरेर प्रयोगकर्ताको इच्छाहरूको पनि अनुमान लगाउन सक्छ । त्यही आधारमा त्यसले निकै सहजताका साथ प्रयोगकर्ताको इच्छालाई अनुमान गरेर देखाउन सक्छ । 

धेरै मानिसले मास्क लगाउने नियमको सुरुमा बेवास्ता गरे, तर अहिले यसको बानी पर्न थालेको छ । पहिरिने कम्प्युटिङ उपकरणको सन्दर्भमा अहिलेको समय सन् २००७ मा आइफोन सार्वजनिक हुनुभन्दा अघिको समयजस्तो देखिन्छ ।

पछिल्लो समय बजारमा उपलब्ध भर्चुअल रियालिटी (भिआर) उपकरण भिडियो गेम खेल्नेहरूमाझ निकै लोकप्रिय बनिसकेको छ । यसले भिडियो गेम खेल्नेहरूलाई यथार्थ नै बिर्साएर भिडियो गेमभित्रै आफैँ रहेको जस्तो अनुभव गराउन सक्छ । भिडियो गेममा जस्तै सुरुमा यसको प्रयोग मनोरञ्जनका लागि हुने सम्भावना छ । तर, पछि यसको प्रयोग क्षेत्र विस्तार हुन सक्छ । महामारीको समयमा हामी धेरैले जुमको प्रयोग बढायौँ । तर, जुमका कैयौँ मिटिङमा मानिसहरू असहज हुने गरेको पाइएको छ । तर, भिआरमार्फत कुरा गर्दा त्यो स्वाभाविक हुने गर्छ । 

तर, भिआर सबैका लागि नहुन सक्छ । यो आँखामा लगाइसकेपछि हाम्रो होस त्यसभित्र देखाइने संसारभित्र हुनेछ । यो अनुभव यति साँचो लाग्छ कि अफलाइन संसार नै बिर्सिइन्छ । कैयौँलाई यो अव्यावहारिक लाग्न सक्छ, आखिर कति धेरैले आफ्नो काम नै छाडेर भर्चुअल पहाड चढेर बस्लान् ? यसैले गर्दा प्रविधि उद्योगले हाम्रो सम्पूर्ण ध्यान नतान्ने खालको प्रविधिमा प्रयोग गरिरहेका छन् । गुगलले खासमा यस्तै खालको उपकरणमा काम गरिरहेको थियो, तर यसले निर्माण गरेको चस्माले जे काम गर्न सक्थ्यो, त्यसको तुलनामा मूल्य निकै चर्को भयो । १५ सय डलर पर्ने चस्माले साना–साना भिडियो खिच्ने र मौसमको अपडेट गर्ने सानातिना काम मात्र गथ्र्यो । 

तर, विज्ञहरूले प्रक्षेपण गरेअनुसार पछि यस्ता चस्माले अहिले हाम्रो फोनकै जस्तो कामलाई झन् सहज गर्ने अपेक्षा छ । हाल यस क्षेत्रमा काम गरिरहेका विज्ञले एक दिन यस्ता चस्मा लगाउनेले पछिल्लो समाचारदेखि मोबाइल सन्देश हिँड्दाहिँड्दै पढ्न सक्ने बताइरहेका छन् । तर, गुगल ग्लासले भने धेरै सुविधा राख्न नसकेका कारण त्यो असफल हुन पुग्यो । तर, गुगल ग्लास बजार आएदेखि सूक्ष्म प्रविधिमा उल्लेख्य विकास भइसकेको छ । आज इअरबड र स्मार्टवाच सीमित व्यक्तिले मात्र प्रयोग गर्दैनन् । यसले पनि अब बन्ने प्रविधिमा धेरै सुविधा हुन सक्ने आकलन छ ।

मेरो विचारमा महामारीको अनुभवका कारण मानिसहरूमा आफ्नो अनुहारमा यस्तो विशिष्ट प्रविधि प्रयोग गर्ने अहसजतामा कमी आएको छ । निश्चय नै धेरै मानिसले मास्क लगाउने नियमको सुरुमा बेवास्ता गरे, तर अहिले यसको बानी पर्न थालेको छ । पहिरिने कम्प्युटिङ उपकरणको सन्दर्भमा अहिलेको समय सन् २००७ मा आइफोन सार्वजनिक हुनुभन्दा अघिको समयजस्तो देखिन्छ । तर, मोबाइल फोनमा भन्दा यसपटक हामीले केही होसियारी र सुस्तता अपनाउनुपर्छ । मोबाइल फोनले समाजलाई पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभावबारे पूर्ण जानकार नै नभई यो हाम्रो जीवनको अभिन्न अंग बनेको थियो । तर, अनुहारमै पहिरिने प्रविधि अपनाउनुअघि हामीले राम्ररी सोचविचार राख्नुपर्छ । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
फरहाद मन्जु न्युयोर्क टाइम्सका स्तम्भकार हुन् । 

 

सुझावित समाचार