सोझो बाटोबाट जलवायु परिवर्तन नियन्त्रण हुँदैन

आइतबार, २७ भदौ, २०७८
डिजिटल संस्करण

जलवायु संकटको नियन्त्रण सोझो, सरल र स्वाभाविक ढंगले नहुने प्रस्ट छ । जसरी द्विपीय भूखण्ड (कन्टिनेन्टल प्लेट) एक–अर्कामाथि घर्षण गर्दै वेलाबखतमा भूकम्प एवं सुनामी आउँछ, त्यसैगरी हाम्रो वायुमण्डलीय प्रणालीले केही समय जलवायुसम्बन्धी तनावलाई आफूभित्रै खिचे पनि एक न एकपटक हठात् नतिजा ल्याउने नै छ । जलवायु संकट अपेक्षित भए पनि संकट निवारणका लागि बनाइएका कार्यक्रम मूलतः सोझो, सरल र स्वाभाविक ढंगकै छन् । विनाशकारी प्रकोपबाट जोगिन ल्याइएका अहिलेका योजनालाई बाटामा नपोखिने गरी पानी भर्नुजत्तिकै सहज रूपमा लिइएको छ ।

यति सहज तौरतरिकाले वायु एवं जीवमण्डल, महासागरका जटिल प्रणालीमा काम गर्ने देखिँदैन । जटिल व्यवस्थाले सन्तुलनको माग गर्छ । यदि प्रणालीलाई सन्तुलित अवस्थाबाट धेरै पर धकेल्ने हो भने प्रणालीले तुरुन्तै अर्को सन्तुलन बनाउँछ । जटिल व्यवस्थालाई सजिलै उत्कर्षबाट पर धकेल्न सकिन्छ, तर फिर्ता ल्याउन सकिँदैन । 

पृथ्वीको उत्कर्ष बिन्दुमा पुग्न धेरै समय छ भन्ने पुराना मान्यता अब प्रासंगिक देखिँदैनन् । हालै प्रकाशित एक शोधअनुसार संसारभर तापमानको वितरण एवं गल्फ स्ट्रिमलाई परिचालन गर्ने एट्लान्टिक मेरिडिओनल ओभरटर्निङ वितरणमा गम्भीर परिवर्तन भएको देखिन्छ । प्राक्इतिहासकालमा यो वितरण कहिले ‘बन्द’ वा कहिले ‘खुला’ हुने गरेको थियो, जसले उत्तरी युरोप र उत्तरपूर्वी अमेरिकामा असह्य जाडो, अत्यधिक गर्मी एवं अनियमित मनसुन ल्याउँथ्यो । त्यसैगरी अन्य व्यवस्थाहरू आफ्नो पराकाष्ठामा पुगिरहेका छन्, अर्थात् दक्षिणी ध्रुव (एन्टार्कटिका) का पश्चिमी र पूर्वी हिमखण्ड पग्लिँदै छन्, आर्कटिक, अमेजोनलगायत जंगल नासिँदै गएर कार्बन भण्डारण गुमाउँदै विश्व तापमान वृद्धिमा सहयोगी हुँदै छ ।

पृथ्वीका प्रणालीहरू यथास्थितिमा रहँदैनन् । एक प्रणाली व्यापक परिवर्तन भए त्यसले अर्को प्रणालीलाई असर गर्छ । यस्तो व्यापक परिवर्तन एक दशमलव पाँचदेखि दुई डिग्री सेल्सियस गतिको विश्व तापमान वृद्धिमै पनि देखिन सक्छ । जटिल प्रणालीहरू उत्कर्ष बिन्दुमा पुग्दा बढ्ने अस्थिरता एक सामान्य प्रक्रिया मात्रै बन्न पुग्छ । अत्यधिक गर्मी, खडेरी, डढेलो, बाढी र चक्रवातजस्ता मौसमको साक्षी बसेको २०२१ साँच्चै डरलाग्दो देखिन्छ । यदि पृथ्वीका व्यवस्थाहरू उत्कर्षमै पुग्छन् भने थोरै प्रयास वा प्रयास नगर्नुमा कुनै तात्विक भिन्नता हुनेछैन ।  

जतिसुकै प्रविधिको प्रयोग वा वाचा गरिए पनि २.९ डिग्री सेल्सियस वैश्विक तापमान वृद्धिलाई रोक्न सोझो एवं सरल उपायले सघाउँदैन, ठूलो पहलकदमी अनिवार्य छ 

त्यस अर्थमा विश्वले जलवायु परिवर्तनका लागि सन् २०५० भित्रमा नेट जिरो अर्थात् कार्बन उत्सर्जन शून्यबराबर पु¥याउने लक्ष्य पनि तर्कसंगत एवं सुरक्षित देखिन्न । कुनै न कुनै किसिमको शून्य कार्बन उत्सर्जन नै हामीले विनाशकारी जलवायु परिवर्तनलाई रोक्ने उपाय हो । यसको अर्थ हो हरित गृह ग्यासलाई कार्बनरहित अर्थतन्त्रबाट मुक्त गरी वायुमण्डलमा रहेको कार्बनलाई पनि न्यून गर्नु । यदि यी दुई उपाय अवलम्बन नगर्ने हो भने पेरिस सम्झौतामुताबिक तापमान वृद्धिलाई एक दशमलव पाँच प्रतिशतमै सीमित राख्ने लक्ष्य पूरा हुने देखिँदैन । यस अर्थमा थुप्रै वाचा पूरा नहुने ठहरिन्छन् । 

सन् २०५० भित्र शून्य उत्सर्जनको लक्ष्यका लागि एकले अर्कोलाई जिम्मेवार देखाउने प्रवृत्ति झन् घातक छ । अहिले सत्तामा रहेकाहरू शून्य उत्सर्जनको भार भोलि आउने शक्तिमा सार्न उद्यत् छन् । हरेक उद्योग जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन् । प्रश्न उठ्छ, त्यसो भए कुन तिलस्मी व्यक्तिले जादुमयी तरिकाले हरित गृह ग्यासलाई सोस्ने काम गर्नेछ । सत्ता एवं शक्तिमा रहेकाहरूमा प्रविधि वा प्रकृतिले सबै हरितगृह ग्यास सोसिहाल्छ, हामी कार्बनडाइअक्साइड उत्पादन गरिरहन्छौँ भन्ने मान्यता गढेको देखिन्छ ।

वायुमण्डलबाट कार्बन सोस्न प्रयोग हुने प्रविधि नभएका होइनन्, यद्यपि जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी) ले ठूलो मापनमा प्रविधि व्यावहारिक नहुने देखाइसकेको छ । प्रविधि भए पनि अहिलेझैँ व्यावहारिक कारणले गर्दा भविष्यमा यी प्रविधि लागू हुने छाँटकाँट देखिँदैन अर्थात् तपाईं निर्धक्क चुरोट पिउन सक्नुहुन्छ किनभने कुनै न कुनै दिन क्यान्सर निको बनाउने औषधी बन्नेछ भनेको जस्तै परिदृश्य देखिन्छ ।

त्यसो भए के प्रकृति नै विश्वमा उत्सर्जित हरितगृह ग्यासलाई सोस्न सामथ्र्य राख्छ त ? एक्सन एडको एक रिपोर्टले विश्वका ठूला कम्पनी एवं सरकारले प्रतिबद्धता गरेको सीमित ग्यास उत्सर्जन पनि सोस्ने अवस्था जमिनमा नरहेको देखिन्छ । जमिनको स्वामित्व भएकाहरू पनि आफ्नो भागको ग्यास उत्सर्जन अरूले नै सम्हालोस् भन्ने चाहन्छन् ।

बेलायतमा राष्ट्रिय किसान संगठन (नेसनल फार्मर्स युनियन) ले शून्य उत्सर्जनको लक्ष्य लिएको थियो, तर अन्य क्षेत्रको शून्य उत्सर्जनको वाचा यदि कृषि भूमिबाट नकारात्मक उत्सर्जन भए मात्रै सम्भव हुन्छ । त्यसको सोझो अर्थ हो, पशुपालन उद्योगको अन्त्य गरेर कार्बन सोस्ने जंगल एवं सिमसार क्षेत्रलाई पुनःस्थापित गर्नु । नभए मंगल वा शुक्र ग्रहका मिथकीय खेती प्रयोजनका जमिनले हरितगृह ग्यास सोस्नुपर्ने हुन्छ । जतिसुकै प्रविधिको प्रयोग वा वाचा गरिए पनि २.९ डिग्री सेल्सियस वैश्विक तापमान वृद्धिलाई रोक्न सोझो एवं सरल उपायले सघाउने देखिँदैन तुरुन्तै ठूलो पहलकदमी अनिवार्य छ । 
द गार्जियनबाट  (मोन्बायोट बेलायती वातावरण र राजनीतिक अभियन्ता हुन्)                       

सुझावित समाचार