एमसिसीको कम्प्याक्ट अपरेसन हेर्ने उपाध्यक्ष फतेमा जेड सुमार र युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिका हेर्ने डेपुटी उपाध्यक्ष जोनाथन बु्रक्स चारदिने भ्रमणमा बिहीबार काठमाडौं आउँदैछन् ।
अर्थ मन्त्रालयले पठाएका प्रश्नहरूको जवाफ सुमारले नै हस्ताक्षर गरेर अर्थमन्त्री जनार्दन शर्मालाई पठाएकी हुन् । सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । एमसिसिए नेपालका बोर्ड सदस्यहरूसँग भने उनले शनिबार भर्चुअल बैठक गर्ने भएकी छिन् ।
उपाध्यक्ष सुमारले अर्थमन्त्री शर्मालाई सम्बोधन गरी बुधबार पठाएको पत्रमा नेपालले पठाएका प्रश्नहरूले नेपाली जनता, राजनीतिज्ञ र सांसदहरूलाई एमसिसीको तर्फबाट स्पष्ट पार्ने मौका मिलेको र त्यो संसदीय अनुमोदनतर्फको सकारात्मक कदम हुनसक्ने बताएकी छन् ।