मन्थलीका मेयर बस्नेतसहित रामेछापका पाँच जनप्रतिनिधि एकीकृत समाजवादीमा

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतसहित पाँचजना जनप्रतिनिधि एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा लागेका छन् । एमाले विभाजित भएसँगै पाँच जनप्रतिनिधिले विधिवत रूपमा एकीकृत समाजवादी रोजेका हुन् । 

एकीकृत समाजवादीमा जानेहरूमा मन्थली नगरपालिका– १२ गेलुका निर्वाचित वडा सदस्यद्वय लीलाबहादुर बुढाथोकी र उमेश कार्की छन् । यस्तै, लिखु तामाकोसी गाउँपालिका– ७ की वडा सदस्य भीमलक्ष्मी सार्कीले पनि एमाले त्यागेर समाजवादी पार्टी रोजेकी छिन् ।

एमाले परित्याग गर्नेमा गोकुलगंगा गाउँपालिका– ५ का वडाध्यक्ष बलराम खड्का पनि छन् । उनीहरूले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरी एमाले छाडेको जनाएका छन् । जिल्ला निर्वाचन कार्यालयमा आएर मंगलबारसम्म पाँचजनाले सनाखत गरी एमाले परित्याग गरेको जिल्ला निर्वाचन अधिकारी शम्भुकुमार कटुवालले बताए ।

मन्थलीका मेयर बस्नेतले एमाले अध्यक्ष केपी ओलीले पार्टी सञ्चालन गर्न नसकेको र दुई–दुईपटक संसद् विघटन गरेको र पार्टीलाई मनलाग्दी ढंगले सञ्चालन गरेका कारण आफूहरूले एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टी रोजेको बताए ।

सुझावित समाचार