सर्वोच्च अदालत बार एसोसिएसनले गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेकाे भन्दै ध्यानाकर्षण भएको जनाएको छ। बारले सोमबार विज्ञप्ति जारी गर्दै संविधानको दायराभित्र रहेर गरिने विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोक लगाउन खाेजेको ठहर गरेको छ।
सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रताको प्रत्याभूत गरेकाले कुनै पनि विषयमा गरिने स्वस्थ टीका–टिप्पणीमाथि नागरिक वा सञ्चारमाध्यमलाई कुण्ठित गर्न नपाइने उल्लेख गरिएको छ।
‘संविधानको दायराभित्र रहेर गरिने विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोक लगाउने गरी जारी गरिने कुनै पनि विज्ञप्तिले लोकतान्त्रिक शासन प्रणालीको मूल्य–मान्यतामाथि नकारात्मक असर पुग्ने बारको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै छिमेकी प्रधानमन्त्रीको पुत्ला जलाउने, नाराबाजी गर्ने र प्रदर्शन गर्नेजस्ता कार्य नगर्न भन्दै यस्ता कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको थियो।