प्रदूषणले क्यान्सर रोगमा वृद्धि

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

नेपाललगायत विश्वव्यापी रूपमै फैलँदै गएको प्रमुख चार रोगमा क्यान्सर एउटा हो । बाँकी तीनमा हृदयरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग तथा दमखोकी र मधुमेह छन् । यी रोग यति घातक र कष्टकर हुन्छन् कि जसका कारणले रुग्ण जीवन भोग्ने र मृत्युवरण गर्नेहरूको संख्या बढ्दो छ । विगत दुई वर्षदेखि भने यी रोगका साथसाथै नयाँ वैश्विक महामारी कोभिड–१९ फैलनाले स्वास्थ्य क्षेत्रमा अकल्पनीय प्रभाव पर्न गएको छ ।

विशेषगरी, रोगसँग लड्ने प्रतिरोध क्षमता नराख्ने र क्यान्सररोगीहरूका लागि महामारी भयानक तरिकाले डरलाग्दो भएको छ । यद्यपि, कोभिड–१९ महामारी फैलनुअघि पनि क्यान्सरको प्रकोप डरलाग्दो नै थियो । अध्ययनहरूले सन् १९९० देखि २०१७ सम्ममा क्यान्सरपीडितको संख्या ९२ प्रतिशतले वृद्धि भएको र यसबाट मृत्युवरण गर्नेहरूको संख्यामा पनि ९५ प्रतिशतले वृद्धि भएको देखाएका छन् ।

क्यान्सरपीडितको संख्यामा वृद्धि हुँदै गएको भए पनि यस क्षेत्रमा अनुसन्धान जारी राख्ने, तथ्यांकहरू अभिलिखित गर्ने समुचित व्यवस्थामा भने निकै कमीकमजोरी देखिन्छ । नेपालको राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्रबाट सन् २०१८ देखि क्यान्सरको तथ्यांक राख्न सुरु गरिएको छ, जुन यो क्षेत्रमा कोसेढुंगा साबित भएको छ । भर्खरै मात्र क्यान्सरको तथ्यगत अभिलेख राख्न सुरु गरिएको हुँदा स्वास्थ्य उपचारको ठोस नीति तयार पार्ने काम अघि बढाउन अरू केही समय कुर्नुपर्नेछ । नेपाल सरकारसँग क्यान्सरको तथ्यांक राख्ने वास्तविक नीति र प्रक्रिया नभएको अवस्थामा क्यान्सरबारे यसै हो भन्न जो–कोहीलाई पनि कठिन छ ।

नेपालमा क्यान्सर परीक्षणस्थलहरू प्रतिदिन थपिँदै छन् । तर, क्यान्सरको हकमा तुलनात्मक वर्गीकरण गरी विश्लेषण गर्न चाहिने तथ्यांकको भने अभाव छ । ग्लोबोकनले गरेको अनुसन्धानको तथ्यांकले सन् २०१८ मा क्यान्सरपीडितको नयाँ संख्या २६ हजार एक सय ८४ र मृत्यु हुनेको संख्या १९ हजार एक सय ४३ देखाएको छ । अध्ययनले काठमाडौं उपत्यकामा मात्र सन् २०१८ मा २१ सय ५६ नयाँ क्यान्सररोगी थपिएको र क्यान्सरबाट मृत्युवरण गर्नेहरूको संख्या ६ सय ७० रहेको देखाउँछ ।

अध्ययनहरूले सन् १९९० देखि २०१७ सम्ममा क्यान्सरपीडितको संख्या ९२ प्रतिशतले वृद्धि भएको र यसबाट मृत्युवरण गर्नेहरूको संख्यामा पनि ९५ प्रतिशतले वृद्धि भएको देखाएका छन्

 हालको अध्ययनले पुरुषमा फोक्सो र पेटको क्यान्सर र महिलामा फोक्सो र स्तन क्यान्सर प्रमुख समस्या रहेको देखाउँछ । पित्तथैलीको क्यान्सर भने महिला र पुरुष दुवैमा उत्तिकै भेटिएको छ । संसारका अन्य देशको तुलनामा पित्तथैलीको क्यान्सरको संख्या नेपालमा बढी पाइएको छ । महिलामा हुने पाठेघरको क्यान्सर पनि प्रमुख समस्याका रूपमा रहेको छ । क्यान्सरको प्रसंगमा नेपालमा मुख्य गरी पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी भाइरसको अध्ययन भने निकै भएको छ । क्यान्सररोग विज्ञहरूको धारणा के छ भने क्यान्सररोग वृद्धि हुनु र यसबाट मृत्यु हुनेको संख्या बढ्नुमा जनमानसमा चेतनाको कमीले समयमा रोग निदान नगराउनु प्रमुख कारण हो । समयमै रोग निदान गरेर उपचारमा जाने हो भने ८० प्रतिशत क्यान्सर निको हुन्छ । अन्य देशमा एचपिभी क्यान्सर गराउने एचपिभी टाइप १६ र १८ विरुद्ध नियमित खोप कार्यक्रमहरू सञ्चालन हुने गर्छन् । नेपालमा पनि त्यस्तो खोप कार्यक्रम जरुरी छ । 

क्यान्सर रोग लाग्न सक्ने विविध कारणहरूमध्ये सुर्तीजन्य पदार्थ जस्तै– चुरोट, तमाखु, बिडी, खैनी आदिको सेवन, धुवाँधुलो फोहोरको प्रदूषण, खानपिनमा उचित ध्यान नदिनु, वंशानुगत क्यान्सर रोग र महिलाको महिनावारीमा गडबडी प्रमुख रूपमा रहेका छन् । जातीय, संस्कृतिक र नश्लले पनि प्रभाव पारेको हुन्छ । तसर्थ, हाम्रो संस्कृति र यी कारकहरूलाई मध्यनजर गरेर अध्ययन बढाउनु जरुरी छ । नेपालले क्यान्सर बिरामीहरूको उपचारार्थ आवश्यक औषधि बंगलादेश र भारतबाट आयात गरी इस्मो, एस्को जस्ता अन्तर्राष्ट्रिय मापदण्डअनुसार उपचार सेवा प्रदान गर्दै आएको छ । हाम्रो उपचार प्रक्रिया राम्रो पनि छ, तर समय छँदै रोगको निदान नगराउँदा क्यान्सरको उपचारको समय सकिसकेको हुन्छ । 

आफू पनि स्वास्थ्य क्षेत्रको विद्यार्थी भएको र विगत चार वर्षदेखि रोग विज्ञान अध्ययन गर्दै आएको नाताले क्यान्सर रोगबारे मेरो गम्भीर रुचि छ । मलाई एकजना २६ वर्षे मुखको क्यान्सर रोगी र अर्की एक ३२ वर्षीया पेटको क्यान्सर रोगी सम्झँदा पनि मुटु कामेर आउँछ, उनीहरू निकै जटिल अवस्था लिएर अस्पताल आइपुगेका थिए । काठमाडौंको धुवाँधुलो र फोहोरको प्रदूषणको असरबाट भएका फोक्सोको क्यान्सर सम्बन्धमा अध्ययन अनुसन्धान जारी राख्ने र क्यान्सरको प्रभावकारी उपचारका लागि चाहिने प्रयोगशाला, सक्षम प्राविधिक, चिकित्सक, औजार उपकरण र औषधिहरूको समुचित व्यवस्था र विकासका लागि नेपाल सरकारले आवश्यक उपचार कोष वृद्धि गर्दै जानु पनि अतिआवश्यक छ ।
(सुवेदी भक्तपुर क्यान्सर अस्पतालकी प्याथोलोजी  कन्सल्ट्यान्ट हुन्)
 

सुझावित समाचार