विभाजनको असर : सुदूरपश्चिममा पहिलोबाट चौथो दल बन्यो एमाले

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभामा एमालेका थप तीनजना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र पूर्वमन्त्री प्रकाश रावलले आइतबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर समाजवादीको पक्षमा सनाखत गरेका छन् । 

सोडारी एमाले कैलाली र तामाङ एमाले कञ्चनपुरका अध्यक्ष हुन् । दुवैजना पार्टी विभाजनपछि समाजवादीमा लागेका थिए । यसअघि आफू एमालेमै रहने बताएका पूर्वमन्त्री रावल पनि समाजवादीमा लागेका छन् । योसँगै प्रदेशमा समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ । १० जना सांसदले गत बुधबार नै समाजवादीको पक्षमा सनाखत गरिसकेका थिए । 

प्रदेश सभामा एमालेभन्दा समाजवादी ठूलो दल बनेको छ । एमालेका सभामुखबाहेक २४ मध्ये १३ जनाले समाजवादी रोजेपछि एमाले ११ जनामा खुम्चिएको छ । एमाले विभाजनअघि माधव नेपाल समूहमा १७ जना थिए । नेपालनिकट आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाह, राज्यमन्त्री अर्चना गहतराज, सांसद हर्कबहादुर कुँवर र कृष्णराज सुवेदीले आफू एमालेमै रहने बताउँदै आएका छन् ।

प्रदेश सभामा नेपाल समूहमा पनि भीम रावलको बलियो पकड थियो । तर, रावलले नेपालको साथ छाडेपछि प्रदेश सभामा उनको पकड कमजोर भएको छ । १७ मध्ये चारजनाले मात्र रावललाई साथ दिएका छन् । एमाले रोजेका कुँवर रावलका भिनाजु नाता पर्छन् । एमालेमा ओलीनिकट सातजना मात्र थिए ।हाल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादीका दुई सांसद छन् । एकजना थपिए समाजवादी ठूलो दल बन्नेछ । मन्त्री सोडारीले समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो दल बन्ने दाबी गरे । ‘दल रोज्ने समय अझै दुई दिन बाँकी छ । एक–दुईजना साथीहरूसँग छलफल भइरहेको छ । हामी कम्तीमा १४ जना पुर्याउँछौँ,’ उनले भने, ‘एकीकृत समाजवादी प्रदेशमा सबैभन्दा ठूलो दल बन्छ ।’

सरकारको बहुमत गुम्न नदिने उनले दाबी गरे । प्रदेश सरकारको बहुमत कायम राख्ने गरी कम्तीमा थप एकजना सांसद समाजवादीमा खुल्ने सोडारीको दाबी छ । ५२ सदस्यीय प्रदेश सभामा प्रदेश सरकार बहुमतमा रहिरहन २७ सांसद आवश्यक पर्छ । सरकारमा माओवादी केन्द्र र समाजवादीको गठबन्धन कायम राख्ने गरी संख्या पुग्ने एमाले संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत रहेका तामाङले दाबी गरे । प्रदेश सरकारमा एमालेबाट चार मन्त्री र तीन राज्यमन्त्री थिए । एमाले रोजेका मन्त्रीलाई दल रोज्ने समयसीमा २२ भदौपछि हटाइने बताइएको छ ।  

प्रदेश २ का थप दुई एमाले सांसदले एकीकृत समाजवादीमा गरे सनाखत

प्रदेश २ मा एमालेका थप दुई सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् । आइतबार जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालय पुगेर एमाले सांसद तथा प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । सुरुदेखि माधव नेपाल समूहमा रहे पनि बिहीबार एमालेको वीरगन्जमा आयोजित पार्टीको विस्तारित बैठकमा देखिएपछि उनीहरू एमालेमै रहने चर्चा थियो । 

दुई सांसदले सनाखत गरेसँगै प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ । यसअघि प्रदेश सभामा एमालेका २१ सांसद थिए । एमाले सांसदहरू शत्रुघ्न महतो, मञ्जु यादव, मदनसेनप्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव, प्रमोद यादव र डिल्ली उप्रेती गरी ११ सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका थिए । आइतबार थप दुई सांसद खुलेसँगै अब एकीकृत समाजवादीमा १३ सांसद पुगेका छन् । प्रदेश सभामा अब एमालेका किशोरी साह, कमल साह, अनिता यादव, जगतारणदेवी सुडी, मनोजकुमार सिंह, ललनलाल चौधरी, शारदादेवी थापा, सत्यनारायण मण्डल र त्रिलोकी यादव गरी आठजना मात्रै छन् । 

जसपाका थप तीन सांसदले रोजे लोेसपा 
जनता समाजवादी पार्टीकी प्रदेश सांसद रानी शर्मा तिवारीसहित थप तीनजनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् । आइतबार दिउँसो जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालय पुगेर प्रदेश सांसद अभिराम शर्मा, तिवारी र उपेन्द्र महतोले लोसपामा सनाखत गरेका हुन् । योसँगै जसपाका ५५ साँसदमध्ये १५ जना लोसपातर्फ खुलेका छन् । लोसपातर्फ खुलेका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले अझै सनाखत गरेका छैनन् । 
 

See More On

सुझावित समाचार