कांग्रेस महाधिवेशन रोक्न माग गरिएको मुद्दाको सुनुवाइ सर्‍यो, सोमबारलाई दोस्रो पेसी

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन कोरोना नियन्त्रणपछि मात्र गराउन माग गरिएको रिटको सुनुवाइ सरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेञ्चमा सुनुवाइ तोकिएको मुद्दालाई सर्वोच्च अदालतले आइतबारका लागि हेर्न नभ्याइनेमा राखेको हो।

मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको एकल इजलास तोकिएको थियो। बागमती प्रदेशको प्रदेश सभा सदस्य नेपाली कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना फैलने भएकाले कोरोना नियन्त्रणपछि मात्र महाधिवेशन गर्न सकिने गरी आदेश माग गरिएको छ। कांग्रेस महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ बाट वडा तहको अधिवेशन सुरु भइसकेको छ।

आइतबार सुनुवाइ रोकिएपछि सोमबारलाई दोस्रो पेसी तोकिएको वैद्यले नयाँ पत्रिकालाई जानकारी दिए।

सुझावित समाचार