कोभ– २ र हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ सुरु हुँदै

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्स कोभ– २ र हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गर्ने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले  ती रोगका क्रमशः ‘एमआरएनए’ र ‘कोलेरा’ खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गर्न लागेको  हो।

यही भदौ १० गते मन्त्रिपरिषद्को बैठकले ती  रोगविरुद्धको खोपका लागि ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय गरेको थियो। परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले दुवै खोपको परीक्षण दुई हप्ताभित्र सुरु गरिने जानकारी दिए। उनले कोभ– २ विरुद्धको ‘एमआरएनए’ परिषद्ले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देउराली जनता फर्मास्युटिकल्ससँगको सहकार्यमा र  हैजाको ‘कोलेरा’को परीक्षण बिपीसहित,  धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा गरिने बताए।

खोप उत्पादक कम्पनीले खोप ‘एमआरएनए’ पहिलो र दोस्रो चरणको सफल परीक्षणपछि नेपालमा तेस्रो चरणको परीक्षण गर्न थालिएको हो। चीनको वालभ्याक्स कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ‘एमआरएन’ खोप नेपालमा परीक्षण गर्न लागिएको हो। नेपालका तीन हजार व्यक्तिमा खोप परीक्षण गरिने उनले जानकारी दिए।

खोपको परीक्षण गर्नुअघि पहिले प्रयोगशाला र जनावरमा परीक्षण गरिन्छ। मानिसमा पहिलो र दोस्रो चरणको परीक्षण गर्दा थोरै जनसंख्यामा गरिन्छ। परीक्षणका क्रममा खोपको सुरक्षा, प्रभावकारिता र कुन उमेर समूहका व्यक्तिलाई बढी प्रभावकारी हुन्छ भनेर पनि अध्ययन गरिन्छ। परीक्षण गर्दा कुनै व्यक्तिमा कुनै समस्या परे त्यसको सम्पूर्ण जिम्मा खोप उत्पादक कम्पनीले लिने उनले बताए।

परीक्षणका लागि चीनबाट खोप अझै आइसकेको छैन। परिषद्ले सुनसरी जिल्लाका स्थानीयवासीमा परीक्षण गर्ने जनाएको छ। अहिले नेपालमा प्रयोग गरिएका खोप कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनिका खोप बाहिरी मुलुकमा नै परीक्षण गरिएका हुन्। नेपालमा परीक्षण गर्दा नेपालीको वंशाणुगत गुणअनुसार कति प्रभावकारी हुन्छ भन्ने थाहा हुने परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले जानकारी दिए।

उनका अनुसार नेपालमा परीक्षण हुँदा कम्पनीले नेपाललाई सहुलियतमा प्राथमिकताका साथ खोप उपलब्ध गराउने सहमति भएको छ। ‘परीक्षण भएपछि त्यो खोप सबभन्दा पहिले हामीले पाउँछौँ,’ उनले भने, ‘हामीले खोप नदिईकन कम्पनीले अन्य देशलाई बेच्न पाउँदैन । हामीले समयमा र उत्पादनमा लागेको खर्च मात्र दिएर खोप पाउन सक्छौँ ।’ रासस

सुझावित समाचार