पशुपतिनाथ मन्दिरमा पूजा खुला गर्ने तयारी

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

कोरोना महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा नियमित दर्शन एवं पूजा खुला गर्ने तयारी गरिएको छ। पशुपति क्षेत्र विकास कोषले आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा खुला गर्ने तयारी गरेको हो।  

काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपति क्षेत्र विकास कोषलाई पत्र पठाउँदै त्यहाँको व्यवस्थापन समितिको नियमअनुसार आवश्यक सहजीकरण गर्न भनेको छ। 

पशुपतिमा नियमित पूजा सुचारु गर्नेबारे तयारी थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। 

भदौ १६ गते उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले विद्यालयबाहेक सबै क्षेत्र खुला गरिसकेपछि पनि पशुपतिनाथ मन्दिर खुला भएको थिएन । विश्व हिन्दू परिषद्को आह्वानमा शुक्रबार विश्व हिन्दू युवा संघलगायत आधा दर्जन संघसंस्थाका प्रतिनिधिले पशुपति क्षेत्र विकास कोषलाई मन्दिर खुला गर्न आग्रह गरेका थिए । तर, कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जिल्ला प्रशासन कार्यालयको पत्र नभई पशुपतिनाथ मन्दिर खोल्न नसकिने बताएका थिए।

सुझावित समाचार