शिक्षामा नयाँ चिन्तन खोइ?

अग्रलेख

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

प्रविधिको अति प्रयोग र मानवीय संवेदना सञ्चारित नहुने आजको शिक्षाले हाम्रा विद्यार्थी कस्ता बन्लान् ?

कोभिड–१९ ले शिक्षा क्षेत्रमा ठूलो चुनौती खडा गरिदियो । भौतिक उपस्थितिमा शिक्षक–विद्यार्थी र विद्यार्थी–विद्यार्थीबीच अन्तरक्रियाबाट संवेगाात्मक ज्ञान हस्तान्तरण हुन पाएन । विद्यार्थीले मानवीय संवेदना अध्ययन गर्ने अवसर पाएनन् । ब्राजिलियन शिक्षाविद् पाउलो फ्रेइरेको शब्दमा भन्दा प्रविधिको पर्दामा सीमित शिक्षाले बृहत्तर संवाद र अन्तस्करणको चेत जगाउने सम्भावनालाई साँघुरो पारिदियो । प्रविधिको उच्च निरर्भरताले व्यक्तिको मौलिक भाषिक पहिचानलाई ओझेलमा पारिदियो । आधारभूत शिक्षाका हकमा फलदायी नहुँदानहुँदै पनि हाल स्थापित शिक्षाको नयाँ मानकले कोभिड–१९ को समाप्तिपछि पनि निरन्तरता पाइरहने सम्भावना छ । यसकारण पनि समाज पढ्न, बुझ्न र यहाँका असमानतालाई साँघुरो पार्न आगामी दिनको शिक्षामा नयाँ चिन्तनको आवश्यकता छ । 

कोभिड–१९ पश्चात् विश्वजगत्लाई आफ्ना मौलिक पहिचानसहितको विकासको ढाँचा तय गर्नुपर्ने चुनौती थपिएको छ । यसका लागि मानवीय संवेदनासहित चिन्तन गर्न सक्ने नागरिक उत्पादन गर्नुपर्नेछ । फ्रेइरेले जोड दिएझैँ रैथाने मूल्य–मान्यतासहितको, आफ्नै भाषामा विभेदरहित समाजमा रही प्रत्यक्ष संवादका माध्यमबाट सिक्ने सिकाउने विधिलाई नयाँ परिप्रेक्ष्यमा पुनः परिभाषित गर्नुपर्ने भएको छ । जनतालाई सशक्त बनाउन आशाको सञ्चार गराउनुपर्ने भएको छ । 

फ्रेइरेले ‘एजुकेसन एज अ प्राक्टिस अफ फ्रिडम’, ‘पेडागोजी अफ अप्रेस्ड’, ‘पेडागोजी अफ होप’, ‘पेडागोजी अफ अटोनोमी’’जस्ता पुस्तकमार्फत शिक्षाका नयाँ आयामको चर्चासँगै समग्र समाजको रूपान्तरणमा शिक्षा नै सर्वोत्तम माध्यम भएको तर्क अघि सारेका छन् । उनले शिक्षालाई व्यक्ति–व्यक्ति, व्यक्ति–संस्था अनि संस्था–संस्थाबीचको विभेद अन्त्य गर्ने र स्वतन्त्रताको नैसर्गिक अधिकार अभ्यास गर्ने माध्यमका रूपमा जोड दिएका छन् । हरेक व्यक्ति, संस्थाको जीवनमा दुई विकल्प हुन्छ, यथास्थितिलाई स्वीकार गर्ने वा समाजमा व्याप्त अव्यवस्था परिवर्तनका लागि नेतृत्व लिन तयार हुने । उनको शिक्षाको दृष्टिकोणले दोस्रो विकल्प छनोट गर्न सक्ने नागरिक तयार गर्न प्रेरित गर्छ । फ्रेइरे राजनीतिको स्रोत शिक्षा हुनुपर्नेमा जोड दिन्छन् । उनको सिद्धान्तलाई अंगिकार गरी थुप्रै सामाजिक राजनीतिक आन्दोलन पनि भएका छन् । कतिपय त्यस्ता आन्दोलनले समाज र राज्यका नीति–नियममा परिवर्तन पनि ल्याएका छन् । 

शिक्षण सिकाइमा पछिल्लो समय विद्यार्थी लक्षित शिक्षाले महत्व पाएको छ । यो पद्धति ‘एजुकेसन एज अ प्राक्टिस अफ फ्रिडम’को अभ्यास हो भन्न सकिन्छ । शिक्षक जतिसुकै जान्ने किन नहोस्, उसले आफ्नो ज्ञानलाई व्यावहारिक रूपमा व्याख्या गर्न, आफ्ना शिष्यको ज्ञानको तहलाई यकिन गरी आवश्यक पर्ने कुरा सिकाउन सक्दैन भने त्यसको सान्दर्भिकता रहँदैन । जीवन र जगत् सापेक्ष समसामयिक विषयवस्तुको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी त्यस सम्बन्धमा आफ्नो धारणा बनाउन सक्ने विद्यार्थी तयार पार्ने शिक्षा अबको आवश्यकता हो । यसका लागि शिक्षक र विद्यार्थीबीच संवादको ठूलो महत्व हुन्छ । फ्रेइरे शिक्षकको काम विद्यार्थीलाई सही प्रश्नको उठान गर्न सघाउने हुनुपर्ने बताउँछन् । राम्रो प्रश्नले विद्यार्थीलाई गम्भीर भएर सोच्न बाध्य बनाउँछ । गम्भीर सोचले सिर्जनशीलता बढाउँछ । यसरी सिकेको ज्ञानलाई विद्यार्थीले आवश्यकता र औचित्यका आधारमा व्यवहारमा उतार्न सक्छ । यस विधिबाट शिक्षित विद्यार्थीले समसामयिक विषयवस्तुको सही मूल्यांकन गरी त्यसको दिगो समाधानमा योगदान दिन सक्ने उनको सुझाब छ । साँच्चैको संकटसँग जुझ्न मानवीय संवेदनासहितको जीवन र जगत्का बहुआयाम बुझेका मानिसको खाँचो हुन्छ । प्रविधिको अति प्रयोग र मानवीय संवेदना सञ्चरित नहुने आजको शिक्षाले हाम्रा विद्यार्थी कस्ता बन्लान् ? 

परम्परागत शिक्षालाई अधिकांशले रोजगारीसँग जोडेर हेर्ने गरेको परिप्रेक्ष्यमा पाउलोले त्यसलाई स्वतन्त्रताको साधनका रूपमा व्याख्या गरेका छन् । तत्कालीन राजनीतिक परिस्थितिमा शिक्षाबारे उनको भाष्य स्वीकार्य भएन किनकि राज्य नामको कारखानाले कम बोल्ने, कम सुन्ने, कम देख्ने, कम सोच्ने (तर मालिकको आदेशलाई चुपचाप पालना गर्ने) मजदुर उत्पादन होस् भन्ने चाहना राख्थ्यो । विद्यार्थी अवस्थादेखि नै कुनै विषयवस्तुका विविध पाटाको विश्लेषण गरी त्यसले जीवन र जगत्मा पारेका असरबारे सोच्न र प्रश्न गर्न उत्प्रेरित गरियो भने त्यस्तो सोच र प्रश्नको उत्तर व्यक्तिले आफ्ना भोगाइमा खोज्न थाल्छ । यस अवस्थामा व्यक्तिले परम्पराको निरन्तरतालाई चुनौती दिन थाल्छ । समस्याको न्यायोचित समाधान खोजी गर्न थाल्छ र त्यसअनुरूप व्यवहारमा परिवर्तन गर्न थाल्छ । जुन अन्ततः समान अधिकार प्राप्तिको जातीय, वर्गीय, क्षेत्रीय अन्तरसंघर्षको समाधानको कारक बन्न सक्छ । 

कोभिडको समाप्तिपछि मौलिक ज्ञान, सीप र सम्भावनाको अन्वेषण गरी त्यसको उचित परिचालन गर्ने दिशातर्फ लक्षित आत्मनिर्भर, स्वाभिमानी नागरिक उत्पादन गर्न सक्ने शिक्षाको खाँचो पर्नेछ
 

फ्रेइरेको शैक्षिक दर्शनलाई सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक विभेदमा परेका मानिसको उत्थानका रूपमा स्वीकार्यता बढेर गयो । फलस्वरूप कतिपय राज्यले यसै मान्यताका आधारमा सामाजिक विकास लक्षित नीति तथा कार्यक्रम बनाए । पछिल्लो तीन दशकमा यो मान्यताले थप सामाजिक र राजनीतिक स्वीकार्यता पाएको छ । फलस्वरूप (औपचारिक तथा अनौपचारिक) शिक्षाको माध्यमबाट विभेदमा परेका मानिसको जीवनस्तरमा उल्लेख्य परिवर्तन पनि आएको छ । फ्रेइरे राज्यशक्तिको एकाधिकारवादी र नियन्त्रणको खुलेर विरोध गर्थे । प्रगतिशील शासन व्यवस्थाले मात्र सामाजिक असमानता हटाउन सक्छ भन्ने मान्यता राख्थे । यद्यपि प्रगतिशील शासन व्यवस्था भएका स्थानमा पनि आफू आममानिसभन्दा निकै उच्च भएको भनी शासकले पाल्ने भ्रमको उनी उछितो काढ्थे । 

फ्रेइरेले जोड दिएको अर्को पक्ष हो भाषा । बोल्ने र सिकाइने भाषाबीचको तालमेलले सिक्ने सिकाउने गति निर्धारण गर्छ । हरेक व्यक्तिको आफ्नो पहिलो भाषामा कुराकानी सहज, स्वस्फूर्त र त्यस्तो सिकाइ चिरस्थायी हुन्छ । प्रारम्भिक चरणमा विकास भएको सिकाइ पद्धतिले जीवनको सोच दिशानिर्देश गर्छ । पाउलोले भूगोल, पहिचान र सामथ्र्यका आधारमा बाँडिएका व्यक्तिको पहिचानलाई साँचो अर्थमा अगाडि बढाउने एक मात्र आधार भनेको त्यहाँका आञ्चलिकतासहितको भाषा, रहन–सहन र भोगाइका कारणलाई मिहिन ढंगले विश्लेषण गर्न सिकाउनु हो भनेका छन् । शिक्षण सिकाइमा यसैलाई अंगिकार गर्न सकेमा व्यक्तिले एउटै सामाजिक सांस्कृतिक परिवेशमा पनि विभिन्न अवस्था र भोगाइमा नयाँ विशिष्टीकृत ज्ञान पाउँछ । उसले परिवर्तित समयको मागसँगै आफूलाई निखार्न सक्छ । सामाजिक सांस्कृतिक परिवेशलाई जीवन्त राख्न पनि त्यसमा गतिशीलता आवश्यक हुन्छ । उनले उजागर गरेको अर्को महत्वपूर्ण पाठ ‘पेडागोजी अफ होप’ अर्थात् आशाको सिद्धान्त हो । भोलिप्रति आशावादी हुन सक्दा मात्र मानव सभ्यताले आदिमकालदेखि यहाँसम्मको यात्रा तय गर्न सकेको हो । यस दौरान कैयौँ आरोह–अवरोह नआएका होइनन्, तैपनि मानिसले आशा मारेन । त्यही आशाले नयाँ सम्भावना खोल्दै गए । आशाविहीन वा कम आशावादी हुँदा जीवनलाई निराशाले घेर्दै जान्छ, भाग्यवाद हाबी हुन्छ । 

कोभिडको सन्दर्भलाई पनि यस मान्यताको कसीबाट हेर्न सकिन्छ । हालको महामारीको अवस्थामा मानिसमा आशा जगाउन शिक्षाको ठूलो योगदान रहन्छ । स्वास्थ्यकर्मी, शिक्षक वा सामाजिक कार्यकर्ताले कोभिड व्यवस्थापनमा अन्य कुराको अलावा आशा जगाउने उपचारलाई उच्च महत्व दिनुपर्छ । शिक्षा क्षेत्रले विद्यार्थीको रुचि, क्षमता र औचित्यका आधारमा शिक्षण सिकाइका विषयवस्तु चयन र त्यसको कार्यान्वयन गरिनुपर्छ । कोभिडको अन्योलबीच शिक्षा क्षेत्रमा यो मान्यतामाथि खुबै खेलबाड भएको छ । कतै आफ्नो भाषा, संस्कृति र रुचिबेगरका विषयवस्तुलाई शिक्षाका नाममा अगम्य पाठ लाद्ने प्रयास भएका छन् त कतै कुनै पनि प्रयास भएको पाइँदैन । यी दुवै अवस्था निराशाजनक हुन् । 

मानिसका दुःख, चोट लागेका घाउलाई कोभिडले गिजोलिदिएको छ । यसले देशको सामाजिक आर्थिक अव्यवस्थाको पर्दा उतारिदिएको छ । शिक्षा भनौँ वा उपचार, सधैँ सीमित व्यक्तिको पहँुचको विषय बन्दै आएको थियो । कोभिडले त्यो लुकेको परिदृश्यलाई छर्लंग पारिदियो । कमजोर सामाजिक आर्थिक अवस्थाका मानिसका लागि वर्तमान मात्र कष्ठपूर्ण भएन, भविष्य पनि आशालाग्दो हुन सकेन । हालको शिक्षाले साक्षरहरूको जमात थुपारेको छ । यसले विभेद सिर्जना गरेको छ । कुण्ठायुक्त र परनिर्भर नागरिक जन्माएको छ । अतः कोभिडपश्चात्को अवस्थामा मौलिक ज्ञान सीप, सम्भावनाको अन्वेषण गर्ने र त्यसको उचित परिचालन गर्ने दिशातर्फ लक्षित आत्मनिर्भर, स्वाभिमानी नागरिक उत्पादन गर्न सक्ने शिक्षामा जोड दिइनु आवश्यक छ । 

 (पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापनरत छन्)

सुझावित समाचार