विश्वव्यापी बन्दै विद्युतीय वाहन क्रान्ति

पेट्रोलियम इन्धन आयात गर्न अर्बौं डलर खर्च गर्ने विकासशील मुलुकले विद्युतीय वाहनलाई शीघ्र अँगालेर मुद्रा बिदेसिनबाट जोगाउन सक्छन्

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

चार वर्षअघि हामीले विद्युतीय वाहनको वृद्धिले खनिज इन्धनले चल्ने मोटर वाहन उद्योग र तेल बजारलाई अन्त्य गरिदिने दाबी गरेका थियौँ । सय वर्षअघि मोटर वाहनले अमेरिकामा प्रमुख वाहनको रूपमा प्रयोग भइरहेको घोडालाई एकदम छिटो विस्थापित गरेको थियो । त्यसैगरी, विद्युतीय वाहनले सन् २०४० को दशकको प्रारम्भसम्म विश्वव्यापी सवारीसाधन बजार नियन्त्रणमा लिने हाम्रो प्रक्षेपण छ । त्यसपछि तेल, कोइलाजस्तै पुरानो इन्धनमा गणना हुनेछ । यसले ठूलोे आर्थिक तथा भूराजनीतिक प्रभाव पार्नेछ । सन् २०२० मा विश्वभर एक करोड विद्युतीय वाहन थिए, जुन अघिल्लो वर्षबाट ४० प्रतिशतले बढेको थियो । २०औँ शताब्दीको सुरुमा मोटर वाहनको संख्यामा पनि यस्तै खालको वृद्धि देखिएको थियो । यो ट्रेन्ड जारी रह्यो भने सन् २०४० सम्म ६० प्रतिशत विश्वव्यापी कार बजार विद्युतीय वाहन हुनेछ । जुन सन् २०५० सम्म ९० प्रतिशत पुग्नेछ । 

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्जी (आइइए)ले भने हामीले भन्दा न्यून दरको विद्युतीय वाहनको प्रक्षेपण गरेको छ । एजेन्सीको प्रक्षेपणले सन् २०४० सम्म विश्वभर ३३ करोड विद्युतीय वाहन हुने बताएको छ । तर, एजेन्सीले विकासोन्मुख अर्थतन्त्रले विद्युतीय वाहन अपनाउन ढिलाइ गर्ने विश्वासमा यस्तो भविष्यवाणी गरेको हो । चीनमा हाल जे देखिएको छ, त्यसले उदाउँदो मुलुकबारे धारणा बदल्नुपर्ने आवश्यकता देखिएको छ । खासमा नयाँ विद्युतीय सवारीसाधनको दर्ता संख्यामा युरोपले सन् २०२० मा आएर मात्र चीनलाई उछिनेको हो । बजारमा सञ्चालन रहेका विद्युतीय वाहन संख्याको हिसाबमा चीन अहिले पनि विश्वको सबैभन्दा अगाडि छ । त्यहाँ झन्डै ४५ लाख विद्युतीय वाहन सञ्चालनमा छन् । उदाउँदो बजारले आफू पनि विद्युतीय वाहन निर्माणमा अग्रणी हुन सक्ने प्रमाणित गरेर देखाएका छन् । चिनियाँ विद्युतीय वाहन उद्योगबीचको प्रतिस्पर्धाका कारण त्यहाँ वाहनको मूल्यमा गिरावट आइरहेको छ । चीनमा ४०० कम्पनी विद्युतीय वाहन व्यवसायमा प्रवेश गरेका छन् । मोटर वाहन उद्योगका सुरुवाती दिनमा अमेरिकामा यस्तै परिदृश्य थियो । त्यहाँ सयौँ उद्योगबीचको प्रतिस्पर्धामाझबाट फोर्ड र क्राइज्लरजस्ता ब्रान्ड माथि उठेका थिए । 

सुरुमा किन्दा महँगोजस्तो देखिए पनि लामो अवधिमा विद्युतीय वाहन र अन्य कारको खर्च बराबर देखिन थालेको छ । यसमा ब्याट्रीको मूल्यमा निरन्तर आइरहेको गिरावटको प्रमुख भूमिका छ । हाल बजारमा पाइने सबैभन्दा सस्तो विद्युतीय वाहन चीनको एसएआइसी मोटरले बनाउँछ, उसको सो मोडेलले विश्वको सबैभन्दा लोकप्रिय विद्युतीय वाहन टेस्लाको मोडेल–३ को बिक्रीलाई उछिनिसक्यो । विगतमा भोल्क्सवागन बिटल र अन्य मोडेलले विकासोन्मुख मुलुकमा कारलाई लोकप्रिय बनाएका थिए । अहिले केही हजार डलर पर्ने एसएआइसीको विद्युतीय कारले विकासोन्मुख मुलुकमा यस्ता कारलाई लोकप्रिय बनाउने सम्भावना देखिएको छ । 

भविष्यमा विद्युतीय वाहन निर्माताबीच बजार प्रभुत्व जमाउन तीव्र प्रतिस्पर्धा हुँदा वाहनको मूल्य थप कटौती हुन्छ भने गुणस्तर बढ्नेछ । यसले एकातर्फ विद्युतीय वाहन प्रयोग गर्ने उपभोक्तालाई फाइदा गर्छ भने अर्कोतर्फ ऊर्जा संक्रमणको दरलाई बढाइदिन्छ ।

भविष्यमा विद्युतीय वाहन निर्माताबीच बजार प्रभुत्व जमाउन तीव्र प्रतिस्पर्धा हुँदा वाहनको मूल्य थप कटौती हुन्छ भने कारको गुणस्तर बढ्नेछ । यसले एकातर्फ विद्युतीय वाहन प्रयोग गर्ने उपभोक्तालाई फाइदा गर्छ भने अर्कोतर्फ ऊर्जा संक्रमणको दरलाई बढाइदिन्छ । विद्युतीय वाहन अंगीकार गर्न सबैभन्दा ठूलो अवरोध चार्जिङ स्टेसनका पूर्वाधारको कमी, न्यून विद्युत् उत्पादन तथा छोटो दूरी मात्र चल्ने वाहनको क्षमता मानिन्थ्यो । तर, अहिले चार्जिङ स्टेसनको संख्या बढिरहेको छ, नवीकरणीय ऊर्जामा वृद्धि देखिन थालेको छ भने ब्याट्रीको शक्तिमा सुधार भइरहेको छ । साथमा अन्य नयाँ–नयाँ नवप्रर्तनले पनि यस्ता कारलाई सहयोग गरिरहेको छ ।

हामीले विद्युतीय वाहनको वृद्धिका लागि बजारको शक्तिमाथि मात्र निर्भर रहनु हुँदैन । नयाँ कानुन ल्याएर यस संक्रमण दरलाई वृद्धि गराउनुपर्छ । युरोपेली संघले सन् २०२५ मा नयाँ उत्सर्जन कानुन लागू गर्दै छ । त्यो कानुन आएपछि खनिज इन्धनबाट चल्ने गाडी चालकले तिनको गाडीको उत्सर्जन कम गर्न महँगो प्रविधि लगाउनु पर्नेछ । जसले गर्दा त्यस्ता गाडीको प्रयोग महँगो हुनेछ । अमेरिकाको सबैभन्दा धेरै जनसंख्या भएको राज्य क्यालिफोर्नियाले पनि उत्सर्जन मापदण्डलाई थप कडाइ गर्दै छ । क्यालिफोर्नियालाई त्यहाँका बाँकी राज्यले पनि गर्ने सम्भावना रहन्छ । यस्ता बाध्यकारी नियमले विद्युतीय वाहनको प्रयोग वृद्धि गर्नेछ ।

विद्युतीय वाहनको क्रान्तिमा सहभागी हुने विकासोन्मुख मुलुकले ठूलो बृहत्–अर्थशास्त्रीय लाभ हासिल गर्नेछन् । अधिकांश विकासशील मुलुकजस्तै अफ्रिकी मुलुकको आयातको ठूलो हिस्सा पेट्रोलियम इन्धनले ओगट्छ । विद्युतीय वाहनलाई शीघ्र अँगालियो भने धेरै मुद्रा बिदेसिनबाट जोगिनेछ । विशेषतः बढ्दो बाह्य ऋणको समयमा मर्मत तथा स्पेयर पार्टमा पनि कम खर्च हुने विद्युतीय वाहनको प्रयोगले अफ्रिकालाई उल्लेख्य फाइदा पु¥याउनेछ । पर्याप्त योजना बनाउन असफल हुने मुलुकहरूले ठूलो जोखिम सामना गर्नुपर्ने हुन सक्छ । उनीहरूले समय गुज्रिएका वाहनबाट काम चलाउनुपर्नेछ । पछि मोटर वाहन निर्माताले तिनका पार्टपुर्जा निर्माण बन्द गर्ने भएकाले ती वाहन बिग्रिएमा थप समस्या उत्पन्न हुनेछ । 

अहिले नै विश्वव्यापी उष्णताको प्रभाव देखिन थालिसकेको छ । डढेलो, बाढी, आँधी, चक्रवातको तीव्रता वृद्धिले विश्वभर नै उल्लेख्य धनजनको क्षति पुगेको देखिन्छ । यस्तोमा विकासोन्मुख मुलुकलाई विद्युतीय वाहनको क्रान्तिमा सहभागी हुन प्रोत्साहित गरे विश्वकै हित हुनेछ । विकासोन्मुख मुलुकले बदलिँदो ऊर्जा संक्रमण र यातायात क्रान्तिलाई बेवास्ता गर्न सक्दैनन् । उनीहरूले पछिल्लो परिस्थितिलाई नयाँ क्षमता निर्माण गर्ने र नयाँ क्षेत्रलाई विविधीकरण गर्ने अवसरका रूपमा लिनुपर्छ । विद्युतीय वाहनलाई मूलधारीकरण गर्न लाग्ने अतिरिक्त खर्च विश्वव्यापी उष्णताका कारण हुने क्षतिको तुलनामा निकै कम देखिन्छ । साथै, विद्युतीय सवारीसाधनले हाम्रो सडकलाई स्वच्छ, शान्त र कम भीडभाडयुक्त बनाउन सघाउनेछ ।

सुझावित समाचार