लमजुङमा २० वर्ष नपुगी गर्भवती हुने संख्या घटेन

मंगलबार, १५ भदौ, २०७८
डिजिटल संस्करण

कलिलैमा बिहे, बालपनमै आमा

सरकारले ‘बिहाबारी २० वर्षपारि’ भन्ने अभियान नै चलाए पनि लमजुङमा यसले सार्थकता पाउन सकेको छैन । ग्रामीण क्षेत्रमा मात्र नभई सहरी क्षेत्रमै पनि २० वर्ष नपुग्दै बच्चा जन्माउनेको संख्या बढिरहेको छ । 

बालविवाह बढेसँगै बालापनमै आमा हुनेहरूको संख्या पनि बढेको छ । कानुनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १३ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीहरूको विवाह भने १५ देखि १८ वर्षमा भएको पाइएको जिल्ला अस्पताल लमजुङको अनुमान छ ।

जिल्लामा बालविवाह गर्नेहरूको यकिन तथ्यांक भने छैन । अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्यांकमा प्रसूति गराउनेमध्ये केही १३ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ बताउँछन् । सानै उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने श्रेष्ठको भनाइ छ । उनले भने, ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुन्निने, दीर्घकालमा पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुन सक्छ ।’

जिल्ला अस्पताल लमजुङमा ०७७/७८ मा एक हजार एक सय ७१ जना महिला आमा बनेका छन् । जसमध्ये एक सय ५४ जना किशोरी अर्थात् १३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ ।

त्यस्तै आव ०७६/७७ मा एक हजार एक सय २३ जना महिला आमा बनेका छन् । जसमध्ये एक सय ७१ जना महिला २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ । त्यस्तै, आव ०७५/७६ मा एक हजार ११ जना आमा बनेका छन् ।

जसमध्ये २० वर्षमुनिका एक सय ८३ जना आमा बनेका छन् । स्वास्थ्य कार्यालय लमजुङ र जिल्ला अस्पताल लमजुङले मातृ शिशु सुरक्षा कार्यक्रमअन्तर्गत गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गरी कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझै उमेर नपुगी विवाह गर्ने चलन नरोकिनु जनचेतनाको अभाव र आमा सुरक्षा कार्यक्रमका लागि चुनौतीको विषय बनेको छ ।

सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाउँदापाउँदै पनि सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकीलगायतका कारणले बालविवाह कम हुन नसकेको अस्पतालका प्रमुख श्रेष्ठले बताए ।

See More On

सुझावित समाचार