सात वर्षमा २३५९ विदेशी देश निकाला : सबैभन्दा धेरै चिनियाँ, त्यसपछि अमेरिकी

नेपालमा अपराधमा संलग्न हुनेमा पनि चिनियाँ धेरै

शनिबार, १२ भदौ, २०७८
डिजिटल संस्करण

सरकारले पछिल्ला सात वर्षमा विभिन्न मुलुकका दुई हजार तीन सय ५९ नागरिकलाई देश निकाला गरेको छ । जसमध्ये एक हजार चार सय ९५ चिनियाँ नागरिक छन् । चिनियाँपछि देश निकालामा पर्ने धेरै अमेरिकी नागरिक छन् । यो अवधिमा एक सय ९७ अमेरिकीलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ । 

विदेशमा अपराध गरी नेपालमा लुक्ने र नेपालमै बसेर अपराध गर्ने विदेशी नागरिकलाई पक्राउपछि सम्बन्धित देशलाई बुझाउने सन्धि नेपालले कुनै पनि मुलुकसँग गरेको छैन ।

तर, नेपालले त्यस्ता नागरिकलाई चाहेको खण्डमा देश निकाला भने गर्न सक्छ । यसका लागि विशेषगरी भिसालाई हतियार बनाउने गरिएको छ । अध्यागमन विभागले प्रत्येक वर्ष अपराधमा संलग्न तथा भिसा सकिएर नेपालमा लुकेर बस्ने विदेशी नागरिकलाई देश निकाला गर्ने गर्छ ।

भिसा समस्याका कारण देश निकालामा पर्ने धेरै 
अध्यागमन विभागको तथ्यांकअनुसार चार वर्षयता विभागले विभिन्न अपराधमा संलग्न तथा भिसासम्बन्धी समस्या भएका दुई हजार पाँच सय ८९ विदेशी नागरिकलाई देश निकाला गरेको छ ।

तीमध्ये भिसासँग सम्बन्धित समस्याका कारण देश निकाला पर्नेको संख्या मात्रै एक हजार ६ सय चार छ । ओभर स्टे, जाली भिसा, भिसाविपरीतका कार्य भिसासँग सम्बन्धित समस्या हुन् ।

बाँकीलाई भने लागुऔषध, बैंकिङ कसुर, खोटा चलन, यौन दुराचार, तस्करी, ठगी, अपहरणलगायत अपराधमा संलग्न भएको भन्दै देश निकाला गरिएको छ । 

विभागका प्रवक्ता झंकनाथ ढकालले धेरै चिनियाँ नागरिक देश निकालामा पर्नुमा आवागमन धेरै भएकाले हुन सक्ने बताए । उनले भने, ‘पछिल्ला दिन चिनियाँ नागरिकको आवागमन बढेको छ । एक सय ५० दिन त उनीहरू नेपालमा विनाशुल्क बस्न सक्छन् । जसकारण चिनियाँ नागरिकको आवागमन बढ्यो । उनीहरूको लगानी पनि बढ्यो, त्योसँगै अपराध पनि बढे । भिसाविपरीतका गतिविधि पनि बढे । त्यसो हुँदा धेरैजना देश निकालामा परेका हुन सक्छन् ।’ 

एसएसपी वसन्त कुँवर : प्रवक्ता, नेपाल प्रहरी

चिनियाँ नागरिकबाट हुने अपराधको दर बढेको छ । सामान्यदेखि प्रविधिमा आधारित जघन्य प्रकृतिका अपराधसम्ममा उनीहरूको संलग्नता देखिएको छ । 

नेपालमा अपराधमा संलग्न हुनेमा पनि चिनियाँ धेरै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङमा हङकङ उड्न चाइना साउथको (सिजेड ३०६८) जहाज तयारी अवस्थामा थियो । विमान चढ्न विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित डिपार्चरतर्फको ‘चेकिङ प्वाइन्ट’मा यात्रुको भिड थियो । ‘एक्स–रे मेसिन’ हुँदै आएको लगेज टिपेर यात्रु विमानतर्फ जाँदै थिए । चनाखो सुरक्षाकर्मीको ध्यान प्रत्येक यात्रुको गतिविधिमा केन्द्रित थियो । 

यही क्रममा एक चिनियाँ नागरिक लगेज घिसार्दै ‘एक्स–रे मेसिन’नजिक उभिए । उनको गतिविधि शंकास्पद थियो । विमानस्थलस्थित प्रहरीले उनीमाथि निगरानी अझ बढायो । नभन्दै ‘एक्स–रे मेसिन’ले लगेजभित्र शंकास्पद वस्तु रहेको संकेत दियो । प्रहरीले तत्काल लगेज नियन्त्रणमा लियो । लगेज खोल्दा फल्स बटमभित्र लुकाएको अवस्थामा तीन किलो एक सय ७८ ग्राम कोकिन भेटियो । चिनियाँ पासपोर्टधारी २१ वर्षीय हो चाउमानलाई प्रहरीले तत्काल पक्राउ गर्‍यो । घटना १५ जेठ ०७३ को हो । 

अवैध मदिरा उत्पादन गरिएको सूचनापछि महानगरीय अपराध महाशाखाको प्रहरी टोली गत १५ साउनको अपराह्न्न ठमेलस्थित मल होटेल एन्ड रेस्टुरेन्टभित्र छिर्‍यो । प्रहरीले होटेलको चोटाकोठा चहा¥यो । नभन्दै होटेलको सबैभन्दा माथिल्लो तलमा अवैध मदिरा उत्पादन हुने कारखाना नै भेट्टायो । अनुसन्धानपछि खुल्यो, चिनियाँ नागरिक जियनासुले होटेल सञ्चालनसँगै अवैध मदिरा उत्पादन गरेर नेपाली बजारमा बिक्री गर्दै आएका थिए ।

१४ भदौ ०७७ को अपराह्न दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट नाटकीय ढंगले रकम झिकियो । घटनाको सूचना तत्काल महानगरीय प्रहरी परिसर काठमाडौं पुग्यो । परिसरबाट प्रहरी घटनास्थल पुग्यो । नभन्दै रकम झिकेर बुथबाट बाहिरिँदै गरेका चिनियाँ नागरिक झु लियाङ आङलाई प्रहरीले घटनास्थलमै पक्राउ गर्‍यो । उनकै सूचनाका आधारमा प्रहरीले हात्तीसारस्थित माया मनोहर बुटिकको कोठा नं. २०१, ६०४ र ६०२ मा बसेका लिन जिनमिङ, लु जियालिङ, क्वु याङयिङ र चेन विनविनलाई पनि पक्राउ गर्‍यो । अनुसन्धानपछि खुल्यो, उनीहरूले त विभिन्न बैंकको एटिएम ह्याक गरेर एक करोड २६ लाख २९ हजार ४५ रुपैयाँ झिकेका रहेछन् । 

ठमेलकै जियाङ्जु खजन होटेलबाट प्रहरीले गत २० असारमा सट्टेबाजमा संलग्न चार चिनियाँ नागरिक पक्राउ गर्‍यो । होटेलको भव्य हलमा सट्टेबाज चलाइरहेका उनीहरूबाट प्रहरीले तासका बन्डल, जुवा खेल्न प्रयोग हुने विद्युतीय बोर्ड र माजुङ मात्रै बरामद गरेन, बाघ र गाईको छाला, कस्तुरीको बिना, बुद्धचित्त र रुद्राक्षका माला, विभिन्न चाइनिज एटिएम कार्डसमेत बरामद गर्‍यो । चिनियाँ नागरिक वेलुङ सीले सञ्चालन गरेको उक्त होटेलमा जुवा खेल्ने सबै वर्किङ भिसामा नेपाल बस्दै अएका थिए । 

काठमाडौंकै बुढानीलकण्ठ, महाराजगन्ज र बलाजुबाट पक्राउ परेका एक सय २२ चिनियाँ नागरिकलाई त नेपाल सरकारले सामूहिक रूपमै देश निकाला गर्नुपर्‍यो । वर्किङ र भिजिट भिसामा नेपाल बसेर उनीहरू अनलाइन गेम्बलिङ, हुन्डी र साइबर अपराधमा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको थियो ।

चिनियाँ नागरिकले नेपालमा गरेका अपराधसँग सम्बन्धित केही प्रतिनिधि घटना हुन्, यी । घटना हेर्दा कुनै सामान्य त कुनै प्रविधिमा आधारित जघन्य प्रकृतिका देखिन्छन् । प्रहरीको तथ्यांकले पनि पछिल्ला केही वर्षयता अपराधमा संलग्न चिनियाँ नागरिकको दर बढ्दै गएको देखाउँछ । जुन सामान्यदेखि जघन्य प्रकृतिको अपराधसँग सम्बन्धित छन् ।

तथ्यांकअनुसार प्रहरीले चार वर्षयता विविध अपराधमा संलग्न ६० चिनियाँ नागरिक पक्राउ गरेको छ । जसमध्ये ४५ प्रतिशत अपराध जघन्य प्रकृतिका र ५५ प्रतिशत सामान्य किसिमका छन् । नेपालको कानुनअनुसार चोरी, ठगी, जुवातास, दुर्व्यवहारलगायत अपराध सामान्य प्रकृतिका हुन् । मानव बेचबिखन, हत्या, अपहरण, तस्करी, बैंकिङ कसुरलगायत जघन्य अपराध हुन् । 

सुझावित समाचार